नेभिगेशन
राजनीति

शशांकको संयोजकत्वमा राष्ट्रिय भेला

पार्टीले सबैलाई समेट्न वास्ता नगरेको भन्दै जुटे खड्का–कोइराला पक्षधर

काठमाडौं । कांग्रेसको संस्थापनइतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई राष्ट्रिय भेलाको संयोजक तोकेको छ । राष्ट्रिय भेलाका लागि उनको संयोजकत्वमा ५ सय ५१ सदस्यीय आयोजक समिति गठन गरेको छ । इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो । उनीहरूले पार्टीभित्रको पछिल्लो विवादका कारण नेता–कार्यकर्तामा उत्पन्न निराशा चिर्न राष्ट्रिय भेला आयोजना गरेको बताएका छन् । 
पत्रकार सम्मेलनमा भेलाका संयोजक कोइरालाले मात्रै बोलेका थिए । उनले भने, ‘पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा ५ सय ५१ सदस्यीय आयोजक समिति गठन गरी यही साउन २९ देखि ३१ गते सम्म काठमाडांैमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ ।’ 
पार्टी संस्थापनले एकताका लागि अग्रसरता नदेखाउँदा राष्ट्रिय भेला बोलाउनैपर्ने खाँचो आएको भन्दै उनले भेलाको औचित्य पुष्टि गर्ने प्रयास गरे । पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्य र पहल गर्दा गर्दै पनि पदीय जिम्मवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको आरोप उनको थियो । ‘पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि, समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौं,’ उनले भने । 
भेलामा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ । १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए । जसमध्ये आधाभन्दा बढी विशेष महाधिवेशनमा सहभागी भएका थिए ।
गत भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकामा त्यसो हुन नसकेको उनले बताए । ‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसंग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,’ उनले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’
त्यस्तै पूर्वकेन्द्रीय सदस्यहरू, पूर्वसांसदहरू, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारीहरू, महानगर कार्यसमितिका सभापतिहरू, संसदीय निर्वाचन क्षेत्रीय सभापतिहरू, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूलगायत सम्पूर्णलाई सहभागी हुन आह्वान गरिएको छ ।  
पत्रकार सम्मेलनमा डा. शशांक, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्व सहमहामन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, पूर्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, कुन्दनराज काफ्ले, गुरु बराललगायतका नेताहरू उपस्थित थिए । इतरपक्षको बीपी स्मृति दिवसको अवसरमा सहभागी डा.शेखर कोइराला र पूर्णबहादुर खड्का भने पत्रकार सम्मेलनमा देखिएनन् । 
डा. शशांकले भेलामा शेखरको समर्थन रहेको बताए । कोइराला हाल विराटनगरमा छन् भने खड्का स्वास्थ्यमा समस्या भएकाले नआएको इतरपक्षले जानकारी दिएको छ । 
त्यस्तै, मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । इतर पक्षले काठमाडौंमा साउन २९–३१ राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो ।
तस्विरः जगन्नाथ दुलाल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्