नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

साम्प्रदायिक सद्भाव र एकतामा नागरिकको दायित्व

नेपाली समाजको सुन्दर पक्ष भनेकै बहुभाषिक, बहुजातीय बहुसांस्कृतिक र बहुधार्मिक बनोट हो । त्यसैले सदियौँँदेखि यहाँ फरक आस्था, परम्परा, रीतिरिवाज र भूगोलका मानिसहरू एकताबद्ध भएर बस्दै आएका छन् । अनेकताभित्रको आन्तरिक एकता नै नेपाली राष्ट्रियताको मेरुदण्ड हो । तर, पछिल्ला केही घटनाक्रमले बलियो सामाजिक एकतालाई नै खलबल्याउने दुष्प्रयास भएका छन् । प्रविधिको दुरुपयोग गरी केही उच्छृंखल तत्वले वर्षौँदेखिको भाइचारामा खलल पैदा गरेको छ । त्यसको प्रत्यक्ष उदाहरण हालै सुनसरीको कप्तानगञ्ज, सिरहालगायत तराई–मधेसका जिल्लामा देखिएका तनावपूर्ण र हिंसात्मक झडपहरू हुन् । यो प्रवृत्ति समग्र मुलुकको हित र सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ । 
आजको युगमा सञ्चार प्रविधि नागरिकका अभिव्यक्ति स्वतन्त्रताको मुख्य माध्यम हुन् । तर यही प्रविधिको सहारा लिएर समाजमा भ्रम र घृणा फैलाउने समूह पनि उत्तिकै सक्रिय छन् । सुनसरीमा साउनको धार्मिक यात्रा (बोलबम) का क्रममा डिजे बाजा बजाउने जस्तो सामान्य विषयबाट सुरु भएको विवाद अन्ततः हिंसात्मक झडप, तोडफोड र कफ्र्यु लगाउनेसम्मको स्थितिमा परिणत हुनु दुःखद खबर हो । स्थानीयस्तरको सानो विवादलाई सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएर समाजलाई ध्रुवीकृत गर्ने प्रयासहरू उचित होइनन् । डिजिटल संसारमा व्यक्त गरिने अमर्यादित, उत्तेजक र घृणास्पद टिप्पणीहरूले साम्प्रदायिक एकतामा गम्भीर असर पुग्छ । त्यसप्रति नागरिक सचेत र सजग बन्नैपर्दछ । 
सामाजिक सञ्जालको विवेकहीन प्रयोगले मानवीय संवेदना र भाइचारालाई छिन्नभिन्न बनाउँछ । सामाजिक सद्भाव केवल नारा वा भाषणमा समेटिने विषय होइन । यो त नागरिकको दैनिक व्यवहार र राज्यको नीतिमा देखिनुपर्दछ । समाजमा असमझदारी बढ्दै जाँदा यसको सोझो असर देशको शान्ति, स्थिरता र अर्थतन्त्रमा पर्छ । तराईका केही क्षेत्रमा उत्पन्न तनावका क्रममा अमूल्य मानवीय क्षति हुनु, निषेधाज्ञा जारी गरिनु र तोडफोडले कानुनी शासन स्थापित हुन सक्दैन । जुनसुकै मुलुकमा सामाजिक वा साम्प्रदायिक द्वन्द्वले अन्ततः विनाश मात्र निम्त्याएको इतिहास छ । अतः समाजका हरेक तह तप्काले संयम अपनाउनु र सहिष्णुताको भावनालाई प्रोत्साहित गर्नुपर्दछ । कसैले पनि अर्काको आस्था, संस्कृति र परम्परामाथि आँच आउने कार्य गर्नुहुँदैन । 
कप्तानगञ्जको घटनापछि प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन विशेष अपिल गरेका छन् । गृह मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिवको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखहरूलाई तत्काल फिर्ता बोलाई नयाँ नेतृत्व पठाएको छ । साइबर ब्युरोमार्फत् सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूमाथि निगरानी राख्नु र स्थानीय जनप्रतिनिधिसँग मिलेर सर्वपक्षीय संवाद गर्नु सरकारका सकारात्मक कदम हुन् । तर, राज्यले बल प्रयोग वा निषेधाज्ञालाई मात्र विकल्प नबनाई दीर्घकालीन सामाजिक संवाद र चेतना अभिवृद्धिको अभियान चलाउनैपर्छ ।
सामाजिक विविधतामा एकता नै हाम्रो पहिचान र सौन्दर्य हो । फरक विचार र जीवनशैलीको सम्मान गर्नु परिपक्व लोकतान्त्रिक संस्कार हो । हामीले आज फैलाउने सामाजिक विद्वेषले भोलिको पुस्तालाई केवल अशान्ति र अन्धकार मात्र दिनेछ । त्यसैगरी निजी क्षेत्र, नागरिक समाज र विभिन्न राजनीतिक दलहरूले समेत संयुक्त अपिल गर्दै तराई क्षेत्रको अशान्तिले दैनिक जनजीवन र अर्थतन्त्रमा पारेको गम्भीर असरप्रति सचेत गराएका छन् । समाजमा देखिएका सानातिना मतभेद र असमझदारीहरूलाई सडक प्रदर्शन वा हिंसाबाट होइन, टेबलमा बसेर संवादकै माध्यमबाट हल गर्नुपर्छ । एकअर्काको अस्तित्वलाई स्विकार्दै सम्मानजनक सहअस्तित्वको भावना विकास गर्नु नै आजको मुख्य जिम्मेवारी हो ।
साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकताको जग बलियो नभई मुलुक समृद्धिको मार्गमा अघि बढ्न सक्दैन । आपसी रिस, राग र पूर्वाग्रहलाई त्यागेर शान्त र सभ्य समाज निर्माणमा जुट्नुपर्दछ । सामाजिक सञ्जालमा देखिने उत्तेजना र अफवाहबाट टाढा रहँदै, वास्तविक जीवनमा आपसी मेलमिलापको वातावरणलाई अझ मजबुत बनाउनुपर्छ । भौगोलिक रूपमा मात्र होइन, नागरिकहरु बीचको एकता नै साँचो राष्ट्रियता हो । अतः आ–आफ्नो क्षेत्रबाट सामाजिक सद्भाव कायम राख्दै नेपाल र नेपालीको भविष्य सुनौलो बनाउन लाग्नु नै अहिलेको मुख्य जिम्मेवारी हो । यति बेला सरकार, प्रतिपक्षी राजनीतिक दलहरु, नागरिक समाज, प्रेस जगत, मानव अधिकारकर्मी, निजी क्षेत्र लगायतका सबै पक्ष जिम्मेवार र गम्भीर हुनु पर्ने समय रहेको छ । सबै पक्ष वीचको सहकार्य र सद्भाव आवश्यक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्