नेभिगेशन
प्रदेश

ध्वस्त संरचनाको खरानी उठाउँदै पर्यटन व्यवसायी

पोखरा, ३० भदौ - अवस्था सामान्य हुने थियो भने देशको पर्यटकीय राजधानी पोखराका व्यवसायीहरूलाई पर्यटकको स्वागतमा भ्याइ नभ्याइ हुन्थ्यो । तर अहिले उनीहरू जेनजी आन्दोलनका कारण ध्वस्त बनेका होटलको खरानी उठाउँदैछन् ।

नाकाबन्दी, भूकम्प, कोरोना कालमा व्यवसायमा मन्दी थियो तर संरचनामा क्षति भएको थिएन । यसपटक पोखराका होटलहरू छानीछानी तोडफोड र आगजनी गरिए । पर्यटकको बुकिङ राम्रो थियो, सिजन सुरु हुँदै थियो, तर अहिलेको विध्वंसले व्यापार मात्रै बिगारेको छैन भौतिक संरचना नै ध्वस्त बनाएको छ । 

९६ कोठाको होटल सरोवर ध्वस्त भएको छ । सञ्चालक भरत पहारीका अनुसार करिब एक अर्बको क्षति भएको छ । ‘हामी विस्तारै उठ्तै थियौं तर यो आन्दोलनले थला पारेको छ,’ उनले भने । त्यसैगरी ध्वस्त बनाइएको अर्को होटल हो, एडम । त्यसका सञ्चालक बासु त्रिपाठी भन्छन्, ‘जसोतसो हामी त उठाउँला, तर लगानी थप गर्ने र नयाँ लगानी भित्र्याउने बाटो बन्द भएको छ ।’

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको होटल बगैँचा, मन्त्र थकाली रहेको संरचना र लेकसाइडमै रहेको अर्को महल ध्वस्त पारिएको छ । बरपिपल रिसोर्ट आंशिक रूपमा ध्वस्त छ, र अन्य विभिन्न पर्यटन व्यवसायहरूमा छिटपुट आक्रमण गरिएको छ ।

व्यवसायीहरू अहिले त्रासमा छन् । पोखरामा मात्रै ३ अर्बभन्दा बढीको क्षति भएको छ । बीमा दाबी, ब्याजदरमा छुट र सहुलियतका योजना दिनुपर्ने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

पर्यटन व्यवसायमाथि उठ्नेगरी सरकारले काम कारबाही नगरे सम्पूर्ण व्यवसायीले आफ्नो व्यवसायको तालाचाबी सरकारलाई बुझाएर विदेश पलायन हुनुपर्ने अवस्था आउने पर्यटन व्यवसायीहरूको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्