नेभिगेशन
राजनीति
कांग्रेसमा एकताको दबाब

पार्टीले बोलायो केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले राष्ट्रिय भेला आह्वान गरेर तयारी भइरहँदा संस्थापन पक्षले त्यसअघि नै केन्द्रीय समिति बैठक बोलाएको छ । साउन २४ गते आइतबार दिनको १ बजे बस्ने गरी पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको हो । संस्थापनइतर पक्षले शनिबार डा. शशांक कोइरालालाई संयोजक तोक्दै साउन २९ गते राष्ट्रिय भेला बोलाएको छ । 
उक्त भेला भएमा सोही भेलाबाटै पार्टी विभाजन हुने चर्चाका बीच संस्थापन पक्षले केन्द्रीय समिति बैठक तोकेको हो । सोमबार कांग्रेसले आफ्ना सांसदहरुसँग पनि अलग बैठक बोलाएको छ । ‘एजेण्डा त भनिएको छैन । तर सोमबारका लागि पार्टीले बोलाएको छ,’ कांग्रेसका एक सांसदले भने,‘इतरपक्षले राष्ट्रिय भेला आयोजना गरेकाले कोही सांसद त्यता नजाउन् भन्नाका लागि हुन सक्छ ।’ उसो त यसअघि नै कांग्रेस संस्थापनले विगतमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला निकट रहेका सांसदहरुलाई दायाँबायाँ गरे पार्टीले कारवाही गर्न सक्ने चेतावनी दिएको थियो ।
हाल प्रतिनिधिसभामा रहेका इतरपक्ष निकट सांसदहरु पद जाने डरले इतरपक्षमा खुलेका छैनन् । केही भने संस्थापान पक्षमै लागिसकेका छन् । तर, राष्ट्रियसभामा रहेका कृष्णप्रसाद सिटौला, खम्बबहादुर खाती लगायतका सांसदहरु भने इतरपक्षका गतिविधिमा सक्रिय रहँदै आएका छन् । 
कांग्रेसमा गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कार्यसमिति आएको थियो । उक्त महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सहभागी थिएन । हाल विशेष महाधिवेशनमा सहभागि नभएको पक्षले नयाँ पार्टी बनाउने गरी तयारी गरिररहेको छ ।  
एकताका लागि दबाब 
पार्टीको हालको कार्यसमितिसँग असन्तुष्ट पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा १४ औं महाधिवेशनका १११ जना केन्द्रीय सदस्य समाहित गराउन माग गरिरहेको छ । उनीहरुले १५औं महाधिवेशनका लागि बन्ने समितिमा आफ्नो प्रतिनिधित्व खोजिरहेका छन् । निर्वाचन समिति र अनुशासन समितिमा पनि उपस्थिति चाहेका छन् । तर, सभापति थापा अरु मागमा सकारात्मक भए पनि देउवापक्षले राखेको अघिल्लो कार्यसमिति मर्ज गर्ने मागमा तयार देखिएका छैनन् । 
यही बुँदामा दुई पक्षले अडान नछाड्दा पार्टी फुटको दिशामा अघि बढेपछि कांग्रेसभित्र पार्टीक एकताका लागि दबाब अभियान पनि शुरु भएको छ । आइतबार पूर्व केन्द्रीय सदस्य नैनसिंह महर र राष्ट्रिय सभा सदस्य समेत रहेका रञ्जित कर्णसहितका नेताहरुले संस्थापन र इतरपक्षलाई मिल्न दबाब दिनेगरी अभियान थालेका छन् । ‘हामी ३५ जना केन्द्रीय सदस्य नबसेर बरू पार्टी एकताका पक्षमा उभिन्छौं, बाँकीलाई सभापतिजीले मिलाउनुस् । कसैको स्वार्थका कारण कांग्रेस पार्टी फुट्न हुँदैन,’ दबाब अभियान शुरु गर्दै महरले भने, ‘त्यसैले हामीले देश र कांग्रेस जोड्ने नयाँ अभियान सुरूवात गरेका छौं, देशभरका प्रतिनिधिहरूसहित साउन २० मा काठमाडौंको सुकेधारामा एकता भेला गर्छौं, संस्थापन र इतर पक्षका नेताहरूलाई एकै मञ्चमा ल्याउने हाम्रो प्रयास हो ।’ उनले पार्टी एकतामा दबाब दिन अनसनदेखि वडा र टोलसम्म हस्ताक्षरलगायत दबाब अभियान सञ्चालन गरिने पनि बताए । 
त्यस्तै, कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले पनि अलग्गै दबाब अभियान चलाइरहेका छन् । उनीहरुले संस्थापन र इतरपक्षलाई भेटेरै अहिलेको विषय अवस्थामा पार्टी फुट रोक्न दबाब दिएका छन् । नगरपालिकाका संघका अध्यक्षसमेत रहेका धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले यो समूहको नेतृत्व गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्