देश अहिले विषम मोडमा छ । समाजमा अहिले असुरक्षाको बादल मडारिएको । त्यसैले अहिले समाजिक सुरक्षाको अवस्था सुदृढ गर्न सुरक्षाकर्मीहरूको मनोबल उकास्नुपर्ने अवस्था छ ।
अवस्था कतिसम्म टिठलाग्दो छ भने सडक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीको बर्दीसमेत लुटिएको र जलाइएको हुँदा उनीहरू बिनाबर्दी ट्राफिक व्यवस्थापन खटिइरहेका छन् । उता नेपाल प्रहरीका हतियार पनि लुटिएका छन् । तीनको मनोबल पनि बढाउनुपर्ने देखिन्छ । किनभने सामाजिक अमनचयन कायम राख्न र सामाजिक चहलपहल उकास्न पनि त्यसो गर्नुपर्ने देखिन्छ ।
साथै, देशको शान्ति, सुरक्षा र कानूनी शासनका मुख्य आधार नै सुरक्षा निकाय भएको हुँदा पनि त्यसो गर्नुपर्ने देखिन्छ । माओवादी सशस्त्र विद्रोहका क्रममा अस्तव्यस्त भएको सुरक्षा व्यवस्था र संयन्त्र कमजोरीबाट सरकारले पाठ लिएको रहेनछ भन्ने यसबाट छर्लंग भएको छ ।
जेनजी आन्दोलनका क्रममा काठमाडौं लगायत देशभरका प्रहरी चौकीमा आगजनी, भत्काउने, प्रहरी बर्दी जलाउने, प्रहरीहरूलाई कुटपिट गर्ने घटना भए । आन्दोलनले सुरक्षा निकायलाई तारो बनाउँदा प्रहरीहरूको मनोबल र आत्मसम्मानमा गम्भीर धक्का पुग्नु स्वभाविक हो । प्रहरी निकायले करिब १८ सय घाइते प्रहरी उपचारपछि काममा फर्किसकेको जनाए पनि तिनको मनोवलको अवस्था के छ भन्ने प्रश्न पनि अहम् छ ।
प्रहरीका बर्दी, हतियार, सवारी साधन जलेर क्षति भएको छ । प्रहरीलाई नागरिकहरूले किन शत्रुतापूर्ण व्यवहार गरे भन्ने प्रश्नमा पनि प्रहरी निकायले सोच्नुपर्नेछ र भालिका दिनमा त्यस्तो हुन नदिन के गर्न सकिन्छ भन्ने कार्यनीति अख्तियार गर्नुपर्ने देखिन्छ ।
अब प्रहरीको मनोबल बढाउन सामाजिक एकता, नागरिक सहयोग र पुनर्निर्माण आवश्यक छ भन्नेमा दुईमत छैन, यसको लागि पनि प्रहरीका उपल्लो निकाय नै जागरुक भएर लाग्नुपर्नेछ । किनभने प्रहरीले पाएको चोट, असुरक्षा र क्षतिको गम्भीरता बुझेर प्रहरीलाई पुनर्स्थापित गर्न र कसरी राष्ट्र सुरक्षा कायम गर्न सकिन्छ भन्नेमा सरकार र समुदाय सचेत हुनुपर्छ ।
प्रहरी शारीरिक, मानसिक र व्यवस्थापकीय रूपमा चुनौतीपूर्ण अवस्थामा छ, जसको समाधानमा सबैको सहभागिता अपरिहार्य छ । प्रहरीको मात्र होइन आन्दोलनले देशका प्रशासनिक संरचना र जनजीवनमा ठूलो असर पुर्याएको छ । सुरक्षा निकायको भत्किएको, बिग्रिएको अवस्थालाई माथि उकास्न फेरि हातेमालो गर्नुपरेको छ ।
समयमै सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व राष्ट्रको काँधमा आएको छ । सामान्य अवस्थाझैं सबल हुनुपर्ने प्रहरी अहिले निर्वाचनका कारण दह्रो स्तम्भ सुरक्षा निकाय भएकाले पनि त्यसो गरिहाल्नुपर्ने अवस्था छ ।
२०५८ को दरबार हत्याकाण्डपछिको संक्रमणकाललाई समाजले धैर्यता र संयमतापूर्वक पार लगायो । दश वर्ष लम्बिएका सशस्त्र द्वन्द्वलाई सुरक्षित अवतरण गरायो । संविधान–सभामार्फत अपेक्षाकृत ढिलै भए पनि विदेशी दबाबका बाबजुद पनि संविधान जारी भयो ।
मधेश आन्दोलनको जटिल मोडले पनि निकास पायो । जेनजी विद्रोहपछिको अवस्थालाई पनि सामान्यीकरण गरेर अघि बढ्न सुरक्षा निकायलाई मुकाम मुकाममा सबल मनस्थिति र सम्पन्न भौतिक पूर्वाधार दिएर तैनाथ गरिहाल्नुपर्ने देखिन्छ ।