काठमाडौं, ३० भदौ - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री बनेका छन् । घिसिङले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिई तीनवटै मन्त्रालयको कार्यभार सम्हालेका छन् । एकैपटक तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका घिसिङ तिनै व्यक्ति हुन्, जसले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रही करिब आठ वर्ष काम गरेका छन् । विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरकोरूपमा सेवा सुरु गरेका घिसिङले त्यहाँ ३० वर्ष काम गरे ।
उनी २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएर नेतृत्वमा आएका थिए । तत्कालीन पुष्पकमल दाहाल नेतृत्व (काँग्रेस र माओवादीको गठबन्धन) को सरकारमा ऊर्जा मन्त्री बनेका जनार्दन शर्माले घिसिङलाई निर्देशक (११ तह) बाट राजीनामा गर्न लगाएर एकैपटक कार्यकारी निर्देशक बनाएका थिए । आफूभन्दा जुनियर कर्मचारीलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको भन्दै १२औं तहका केही उपकार्यकारी निर्देशकहरूले राजीनामासमेत दिएका थिए ।
घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको छोटो समयमै देशभर लोडसेडिङ समस्याको अन्त्य गरिदिए । त्यसयता उनलाई नागरिकले उज्यालोको नायकको उपमा दिने गरेका छन् । आफ्नो कार्यकुशलता देखाएर विद्युत्को माग र आपूर्ति व्यवस्थापन सहज बनाउन सफल भएका घिसिङले दैनिक १२ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेका थिए । उनको आफ्नो पहिलो कार्यकालमा नै पहिले घरायसी ग्राहक र त्यसपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य गरेका थिए ।
२०७७ साल भदौ २८ गते पहिलो कार्यकाल पूरा गरेका घिसिङलाई सरकारले दोस्रोपटक २०७८ साउन २५ गते प्राधिकरणको जिम्मेवारी दियो । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई ल्याएकी थिइन् । दोस्रो कार्यकालमा पनि उनले विद्युत् उत्पादन वृद्धि एवं प्रसारण तथा वितरण प्रणाली विस्तार गरी गुणस्तरीय विद्युत् आपूर्तिमा योगदान गरे । प्राधिकरणलाई नाफामा पुर्याए ।
उनकै कार्यकालमा देशको विद्युतीकरण करिब ९८ प्रतिशत जनसंख्यामा पुग्यो । दोस्रो कार्यकाल २०८२ साउन २४ गते पूरा हुँदै थियो । तर, उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकाल ४ महिना १३ दिन बाँकी रहँदै २०८१ चैतमा हटाएर फेरि हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको जिम्मेवारी दियो । अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा उनै शाक्य छन् ।
विद्युत् प्राधिकरणको नेतृत्वमा आउनुअघि घिसिङले लामो समय चिलिमे जलविद्युत् कम्पनीको कार्यकारी निर्देशक भएर काम गरेका थिए । उनी चिलिमेमा रहँदा नै अहिले सञ्चालनमा आइसकेका रसुवागढी, मध्यभोटेकोशी र सान्जेनका २ वटा गरी ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका थिए । यी ४ वटै आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेका छन् ।
उनले २०५१ सालमा विद्युत् प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरका थिए । त्यसपछि उनले करिब २० वर्ष उत्पादन, प्रसारण तथा वितरण क्षेत्रमा काम गरे । चिलिमेमा रहेका बेला तत्कालीन ऊर्जा मन्त्री राधाकुमारी ज्ञवालीले हस्तक्षेप गरी उनलाई २०७१ साउनमा प्राधिकरणमा तानेकी थिइन् ।
चिलिमेबाट तानिएका घिसिङलाई लामो समयसम्म काम गर्ने कार्यालयसमेत दिइएन । २०७१ असोजमा उनी प्राधिकरणको निर्देशकमा बढुवा भए । निर्देशकमा बढुवा भएपछि नै उनलाई केही महिना राहुघाट जलविद्युत् आयोजनाको ‘आयोजना निर्देशक’को जिम्मेवारी दिइएको थियो ।
उनी विद्युत् प्राधिकरणबाट बाहिरिएपछि साढे ५ महिना पदविहिन भएर बसे । जेनजी समूहले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि केपी शर्मा नेतृत्वको सरकार ढलेर देशको राजनीतिक अवस्था परिवर्तन भई अन्तरिम सरकार गठन भएको छ । त्यसपछि उनलाई सरकारमा ल्याउने चर्चा चलेको थियो ।
विद्युत् प्राधिकरणमा हुँदा नै कुशल प्रशासकको चिनारी बनाएका उनलाई युवाहरूको रोजाइअनुसार नै तीनवटा मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाइएको छ । उनलाई विगतमा नागरिकबाट प्राप्त ‘उज्यालो नेपालका नायक’ को उपाधिकै कारण त्यही गतिको प्रतिफल दिनेगरी काम गर्ने अपेक्षाका साथ अन्तरिम सरकारको नेतृत्वमा ल्याइएको छ ।
देशको आवश्यकता र प्रतिकुल अवस्थालाई मनन गरी ३ वटा शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा पुगेका घिसिङले पदीय मर्यादामा रहेर नतिजा देखिने गरी काम गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । उनलाई वन तथा वातावरण मन्त्रालय पनि जिम्मा दिने चर्चा छ ।
२०२७ साल मंसिर १० गते रामेछापको बेथानमा जन्मिएका घिसिङले कक्षा ६ सम्म गाउँकै विद्यालयमा पढे । त्यसपछि उनी २०३९ सालमा काठमाडौं आएर कक्षा ७ मा भर्ना भए । बानेश्वरस्थित अमर आदर्श विद्यालयमा भर्ना भएका घिसिङले त्यहींबाट २०४३ सालमा एलएलसी उत्तीर्ण गरे ।
त्यसपछि, राजधानीकै लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी अध्ययन पूरा गरे । त्यसपछिको इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययन उनले भारतमा गई छात्रवृत्तिमा गरेका हुन् । उनले भारतबाट फर्किएर पछि पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इञ्जिनियरिङ’मा स्नातकोत्तर गरे । विद्युत् प्राधिकरणको सेवामा रहेकै बेला उनले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर पूरा गरेका छन् ।