नेभिगेशन
अर्थतन्त्र

सेनाले मात्रै बनायो १४ सय ११ किलोमिटर सडक सञ्जाल

काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा १४ सय किलोमिटर बढी सडक निर्माण गरेको छ । सेनाले जटिल भौगोलिक अवस्थाका दुर्गम उच्च पहाडी तथा हिमाली जिल्लामा १ हजार ४११.५४ किलोमिटर सडक पूर्वाधार निर्माण सम्पन्न गरेको हो । सेनाले अहिलेसम्म निर्माणको जिम्मेवारी लिएका ३२ सडक आयोजना सम्पन्न भई सञ्चालन आइसकेको प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले बताए । उनका अनुसार सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत सडक पूर्वाधार आयोजना सम्पन्न भइसकेका छन् । भौगोलिक अवस्था सुगम रहेका जिल्लामा सडक पूर्वाधार आयोजना निर्माणको काम निजी क्षेत्रबाट निर्माण व्यवसायीहरूले गर्दै आएको भएपनि हिमाली तथा उच्च पहाडी दुर्गम क्षेत्रमा सडक पूर्वाधार निर्माणको काम सरकारले सेनालाई दिँदै आएको छ ।
‘हिमाली तथा उच्च पहाडी क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न कठिन मानिएका सडकखण्डको काम सेनाले गर्दै आइरहेको छ,’ बस्नेतले भने, ‘सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भूबनावटको बाबजुद सेनाले सम्पन्न गरेका पूर्वाधार आयोजना कार्यान्वयनमा आउँदा राष्ट्र निर्माणमा ठूलो योगदान पुगेको छ ।’ राष्ट्रिय गौरवका तथा सरकारको प्राथमिकतामा रहेका सडक आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा यसले देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याउने उनले बताए । 
बस्नेतका अनुसार सेनाले पूर्वी नेपाललाई चीनसँग जोड्ने देशकै रणनीतिक महत्त्वको खाँदबारी–किमाथाङ्का सडक आयोजनाको १०.५१ किलोमिटर खण्ड निर्माण सम्पन्न गरिएको छ । निर्माण सम्पन्न भएको १०.५१ किलोमिटर खण्ड गत वैशाखमा नै सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । रणनीतिक महत्त्वको यो सडक आयोजनाको सबै खण्ड निर्माण सम्पन्न हुँदा संखुवासभाको किमाथाङ्का क्षेत्रको आर्थिक विकासमा ठूलो योगदान पुग्ने बस्नेतले बताए । साथै, किमाथाङ्का र चीनको तिब्बतसँगको व्यापारिक नाकाबाट हुने गतिविधि पनि बढ्ने छ ।
निर्माण सम्पन्न भइसकेका सडक पूर्वाधार आयोजना सडक विभागलाई हस्तान्तरण गर्दै जाने तथा निर्माणाधीन सडक आयोजनाको कामलाई निरन्तरता दिँदै जाने क्रम चलिरहने गरेको बस्नेतले बताए । उनका अनुसार अहिले पनि सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी ३ ठूला राष्ट्रिय महत्त्वका सडक पूर्वाधार आयोजना निर्माण गरिरहेको छ । महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक आयोजनाको तुषारपानी–टिङ्कर सडकको ७९ किलोमिटर सडक खण्डमा काम भइरहेको छ । यो भौगोलिकरूपमा अति विकट क्षेत्रमा पर्ने सडक पूर्वाधार आयोजना हो । सेनाले गत आर्थिक वर्षमा कठिन हिमाली भूभाग, कडा चट्टानयुक्त भिर तथा प्रतिकूल मौसमका बाबजुद यो सडक आयोजनाको १९.८० किलोमिटर सडक निर्माण सम्पन्न गरेको जनाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको प्रगति विवरण अनुसार यो सडक आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत छ ।
यस्तै, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाको मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर मध्ये १८ किलोमिटर सडक खण्ड निर्माण सम्पन्न भएको छ । सेनाले निर्माण सम्पन्न भइसकेको यो सडक खण्ड पनि सडक विभागलाई हस्तान्तरण गरिसकेको प्रवक्ता बस्नेतले बताए । बाँकी खण्डमा भने धमाधम काम भइरहेको छ । यो सडक आयोजनाको असार मसान्तभित्रको प्रगति ४४.३५ प्रतिशत छ । 
यस्तै, राष्ट्रिय गौरवको कर्णाली करिडोर सडक आयोजनाको काम पनि नेपाली सेनाले नै गरिरहेको छ । भौगोलिकरूमा अत्यन्तै विकट यो सडक आयोजनामा अपेक्षाकृत ढंगको प्रगति हासिल हुन सकेको छैन । हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको कूल ६८२ किलोमिटर लामो यो सडक करिडोर निर्माण सम्पन्न हुँदा कर्णाली प्रदेशकै मुहार फेरिनेछ । प्रवक्ता बस्नेतका अनुसार अहिले यो सडक करिडोरको लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा गरी कूल २२.०५ किलोमिटर सडक मात्रै निर्माण सम्पन्न गर्न सकिएको छ । ‘ कर्णाली करिडोर अन्तर्गत लालीबगर–दुल्लिकुन्ना सडक खण्डको ट्र्याक निर्माण कार्य सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने काम भइसकेको छ,’ उनले भने, ‘घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा बाँकी काम पनि धमाधम भइरहेको छ । असार मसान्तरसम्मको रिर्पोटले १९ किलोमिटर सडक निर्माण सम्पन्न भएको देखाएको छ ।’
कर्णाली करिडोरमार्फत हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न हिल्सा–सिमकोट सडकखण्डको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा बेलिब्रिज जडान गरेको छ । हिमाली तथा उच्च पहाडी जिल्लामा सडक पूर्वाधार विस्तार गरी दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै आर्थिक, सामाजिक, तथा रणनीतिक दृष्टिले मुलुकलाई नै दीघकालीन लाभ पुग्ने पनि बस्नेतले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्