नेभिगेशन
प्रदेश

गाडीसँगै सुनकोशीमा तीन जना बेपत्ता

काठमाडौं । सुनकोशी नदीमा खसेको कारमा रहेका तीन जना बेपत्ता छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल–२ मा सोमबार दिउँसो भएको दुर्घटनामा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल–७ का निर्माण व्यवसायी कार चालक ३९ वर्षीय दिलकुमार लामा, स्काभेटर अपरेटर सिन्धुलीको गोलन्जोर–१ का २८ वर्षीय गणेश थापा र हेल्पर सिन्धुलीको तीनपाटन–९ का सुरज मगर छन् ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार सडकबाट अन्दाजी ५० फिट तल नदीमा खसेको प्रहरीले जनाएको छ । प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको उक्त कार सडक छेउ रोकिएका बेला दुर्घटना भएको हो ।
प्रहरीले खोजी गरे पनि सुनकोशी नदीमा बाढी आएकाले पत्ता लगाउन गाह्रो परेको छ । खोजीमा सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकायसमेत घटनास्थलमा खटिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्