नेभिगेशन
राजनीति

मधेस घटनामा छानबिन गर्न न्यायिक समिति गठनको माग

काठमाडौं । कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । संसदीय दलको बैठकले ती घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीन युवाको मृत्यु र थुप्रै व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै भनेको छ, ‘घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग जोडदार माग गर्दछौं । भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई हार्दिक अपिल गर्दछौं ।’
दलले सदियौंदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम रहँदै आएको अवस्थामा सामाजिक विद्वेष फैलाउने घटना हुनु दुःखद भएको जनाएको छ । साथै, सरकारले घटनाको संवेदनशीलतालाई बेवास्ता गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा अवस्था गम्भीर बनेको आरोप पनि लगाएको छ ।
कांग्रेसले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गर्दै भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संयमता कायम राख्न सबै पक्षलाई अपिल गरेको छ ।
बैठकले सरकारले गरेका कतिपय निर्णय संविधानको मर्म, भावना र विधिसम्मत प्रक्रियाविपरीत भएको उल्लेख गर्दै सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिसलगायतका निर्णय कानुन र स्थापित विधिअनुसार गर्न सरकारलाई सचेत गराउने निर्णय पनि गरेको छ ।
यस्तै, नागरिक, सांसद र संसदबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘नेपाली कांग्रेस संसदीय दल सांसद समन्वय सम्बन्धी कार्यादेश’ पारित गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ पनि बैठकले पारित गरेको छ ।
बैठकले कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र खरेल तथा अन्य दिवंगत व्यक्तित्वहरूप्रति शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्