नेभिगेशन
दृष्टिकोण
प्रकाशकीय

सत्य, तथ्य र जिम्मेवारीप्रति हाम्रो प्रतिबद्धता

छापा पत्रकारिता जनतालाई सुसूचित गर्ने सबैभन्दा पुरानो, विश्वसनीय र आधारभूत सञ्चार माध्यम हो । समयसँगै सञ्चार प्रविधिमा व्यापक परिवर्तन आए, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालले सूचना प्रवाहलाई तीव्र बनाए । तर सूचना दिने माध्यम धेरै भए पनि समाचारको विश्वसनीयता, गहिराइ र अभिलेखीकरणका दृष्टिले छापा पत्रकारिताको महŒव अझै पनि विशिष्ट छ । त्यसैले अखबारको ओज र गरिमा कहिल्यै कम हुँदैन ।
आज न्यूज२४ दैनिक नयाँ कलेबरमा पाठकमाझ आएको एक वर्ष पूरा गरेको अवसर हो । दर्ताका हिसाबले पत्रिका आफ्नो तेह्रौं वर्षमा प्रवेश गरिरहँदा नयाँ स्वरूपमा सुरु भएको यात्राले पहिलो वार्षिकोत्सव मनाइरहेको छ । यो अवसर उत्सवको क्षण मात्र होइन, आत्मसमीक्षा गर्दै आगामी यात्रालाई अझ जिम्मेवार र प्रभावकारी बनाउने संकल्पको पनि हो । टेलिभिजन पत्रकारिताबाट हामीले कमाएको जनविश्वास, दर्शकको अपार माया र जनस्तरबाट पाएको सद्भावको ऊर्जाले हामीलाई छापा पत्रकारिताको यात्रामा अग्रसर गराएको छ । 
विश्वभर छापा पत्रकारिता चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ । डिजिटल माध्यमको तीव्र विस्तार, सूचना उपभोगको बदलिँदो शैली र विज्ञापन बजारको रूपान्तरणले पत्रपत्रिकामाथि आर्थिक तथा व्यावसायिक दबाब बढाएको छ । यस्ता चुनौतीका बीच पनि सत्य, तथ्य र सन्तुलित पत्रकारिताप्रतिको विश्वासले छापा माध्यमलाई आज पनि जीवन्त बनाइरहेको छ । किनभने, सत्यमा आधारित समाचारको आवश्यकता कुनै पनि प्रविधिले समाप्त गर्न सक्दैन ।
न्यूज२४ दैनिकले यही विश्वासलाई आफ्नो मार्गदर्शन बनाएको छ । समाचारलाई सनसनीभन्दा माथि राख्दै तथ्यमा आधारित, निष्पक्ष, सन्तुलित र जनउत्तरदायी पत्रकारितालाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता अटल छ । नागरिकको सूचना पाउने अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र सार्वजनिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै हामी आगामी दिनमा पनि निर्भीक र जिम्मेवार पत्रकारिताको अभ्यासलाई अझ सुदृढ बनाउनेछौं ।
हामी यो यात्रामा एक्लै छैनौं । परिपक्व सम्पादकीय टिम, जुझारु पत्रकार, कर्मचारी, लेखक, स्तम्भकार, सशक्त बजार व्यवस्थापन समूह, वितरणकर्मी तथा पर्दापछाडि निरन्तर खटिने सम्पूर्ण सहकर्मीको समर्पणले यो यात्रा सम्भव भएको हो । त्यत्तिकै महŒवपूर्ण भूमिका हाम्रा पाठक, शुभेच्छुक र विज्ञापनदाताको विश्वास, माया, सहयोग र सद्भावले निर्वाह गरेको छ । सबैको साथले यात्रा सम्भव भएको हो । 
पहिलो वार्षिकोत्सवका यस अवसरमा हामी सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता तथा सहकार्य गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि सत्य, तथ्य र जनपक्षीय पत्रकारिताको मूल्यमान्यतालाई अक्षुण्ण राख्दै अझ परिष्कृत, विश्वसनीय र प्रभावकारी सामग्रीका साथ पाठकमाझ उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछौं । विश्वासको यो यात्रामा यहाँहरूको निरन्तर साथ, सुझाव र सद्भाव भविष्यमा पनि यथावत् रहने विश्वासका साथ न्यूज२४ दैनिक आफ्नो यात्रालाई अझ दृढतापूर्वक अगाडि बढाउनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण