नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

छापा पत्रकारितामा हाम्रो जिम्मेवारी र निष्ठा

नेपाली पत्रकारिताको क्षेत्रमा छापा पत्रकारिताले निर्वाह गरेको भूमिका र जिम्मेवारी निकै महŒवपूर्ण र गरिमामय रहेको छ । समाज र पत्रकारिता बीचको सम्बन्ध आफैँमा निकट मानिन्छ किनभने समाजको हरेक किसिमका घटनाहरुलाई पत्रकारिता जगत्ले नजिकबाट हेरेको हुन्छ । त्यसैले पनि पत्रकारिता समाज र नागरिकसँग अन्तरंग हुन्छ । पत्रकारितासँग आम जनताको आशा र भरोसा रहन्छ । नागरिकको आशा र भरोसा टुटेको अवस्थामा पत्रकारिताले समाजको विश्वास आर्जन गर्न सक्दैन । पत्रकारिताको शुरुवातको भएको छापा माध्यम आफैँमा पनि विश्वासिलो, सत्य¬–तथ्यमा आधारित सञ्चार माध्यमको रुपमा पहिचान बोकेको हुँदा आमजनतामा आज पनि छापा माध्यम प्रतिको विश्वास कायमै छ । पक्कै पनि पत्रकारिताले नेपालमा जनताको अधिकार, नागरिक स्वतन्त्रता, जनजीविकाको मुद्दामा निर्वाह गरेको भूमिका निकै प्रशंसनीय रहेको छ । नेपालमा भएका ठुला राजनीतिक क्रान्ति, परिवर्तन र युवा जागरणमा मिडियाले निकै महŒवपूर्ण भूमिका निर्वाह गरेको इतिहास छ । पत्रकारिता तथा आम सञ्चार माध्यम निष्पक्ष, स्वतन्त्र र जनताको सारथीको रुपमा आफ्नो जिम्मेवारी पुरा गर्ने विश्वास र अठोटका साथ नेपाली जनस्तरमा स्थापित न्यूज२४ ले आफ्नो भूमिका र जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्दै आएको छ । टेलिभिजन कर्मबाट आफूलाई सञ्चार क्षेत्रमा निष्पक्ष, निर्भीक र स्वतन्त्र पत्रकारिताको माध्यमबाट जनस्तरमा स्थापित भएको न्यूज २४ दैनिकले नेपाली छापा पत्रकारितामा शिष्ट, सभ्य र जिम्मेवार पत्रकारिताको रुपमा उभ्याएको छ ।  
आजको बढ्दो प्रतिस्पर्धाको युगमा छापा पत्रकारिता निकै चुनौतीपूर्ण अवस्थामा छ । अनलाइन तथा डिजिटल मिडियाको बढ्दो प्रभाव र आकर्षण रहेको अवस्थामा छापा पत्रकारितामा पाइला चालेको न्यूज २४ दैनिकको एक वर्षको यात्रा पुरा भएको छ । राष्ट्रिय राजनीतिमा भएको उतार चढाव,  नीतिगत तहमा हुने अनियमिता र बेथिति, भ्रष्टाचार र नागरिकका जनजीवनका मुद्दाका साथै अर्थतन्त्रका विविध पक्षहरुलाई हामीले विभिन्न कोणबाट पाठकहरु समक्ष प्रस्तुत गरेका छौँ । यो एक वर्षको अवधि छापा पत्रकारिताको रुपमा हामीलाई निकै कठिन र चुनौतीपूर्ण रह्यो । अर्थतन्त्रमा आएको शिथिलता, विज्ञापन बजारको संकट र राज्यको मिडिया मैत्री नीतिनियमहरु नहुँदा मिडिया जगत्ले विभिन्न कठिनाईहरु भोग्नु परेको अवस्था छ । गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन क्रममा भएको कठिन अवस्था, मुलुकको राजनीतिक क्षेत्रमा देखिएका विभिन्न असहज अवस्था र त्यसबाट अर्थतन्त्रमा परेको प्रभावबाट सिर्जित अवस्थाबाट मिडियाले विभिन्न असहजता सामना गर्नु परेको छ । कठिन र अप्ठ्यारो अवस्थामा पनि हामीले नागरिकका समस्यालाई सरकारसमक्ष खबरदारी पु¥याउने हाम्रो अभियान आज पनि जारी छ ।
न्यूज२४ दैनिकले आफ्नो एक वर्षको अवधिमा हामीले पत्रकारिता क्षेत्रमा फरक मूल्य र मान्यता स्थापित गर्ने प्रयास गरेका छौँ । डिजिटल मिडियाको बढ्दो विकास क्रम र सूचना प्रविधिको बढ्दो प्रतिस्पर्धामा छापा पत्रकारिता आफैँमा पनि चुनौतीपूर्ण र कठिन छ । अर्थतन्त्रमा नयाँ लगानी विस्तार हुन सकेको छैन । छापा पत्रकारिताको आजको युगमा अनलाइन पत्रकारिता र अनलाइन मिडियाको बढ्दो प्रभावले पाठक तथा दर्शक दबाबमा रहेको अवस्था छ । डिजिटल तथा सोसल मिडियाको बढ्दो विकासक्रम र आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को बढ्दो विकासक्रम र त्यसको प्रभावले आजको अवस्थामा छापा पत्रकारितालाई प्रतिस्पर्धाको दौडमा हामीलाई पाठकहरु माझ प्रस्तुत हुन निकै कठिन छ । 
विज्ञापन बजारमा सरकारले लिएको पछिल्लो नीतिबाट निजी क्षेत्रका मिडिया अप्ठ्यारोमा परेका छन् । सरकारी विज्ञापनमा निजी मिडियाको पहुँचमा लगाएको अंकुशको कारण आज छापा पत्रकारिता निकै असहज अवस्थामा आइपुगेको छ । छापा पत्रकारितालाई पनि जनताको मुद्दा र समस्यालाई उठान गर्ने र जनताको मुद्दामा सारथी बन्ने अभियानका साथ गत वर्षदेखि नेपाली पाठकहरुमाझ उदाएको न्यूज२४ दैनिक आगामी वर्षहरुमा पनि नेपाली पाठकहरुको मन र विश्वास जित्ने सामग्रीहरु पस्कदै जनताको पक्ष, राष्ट्र र राष्ट्रियताको पक्षमा बलियो रुपमा उभिने नै छ । जनताको अधिकार र लोकतान्त्रिक पद्धतिको विकासमा न्यूज २४ दैनिकले आफ्नो पाइलो अडिग बनाउने नै छ । जनताको मुद्दा, आर्थिक विकास र अर्थतन्त्रको विकासबाट आर्थिक समृद्धिका लागि हाम्रो प्रयास जारी रहने छ । न्यूज २४ दैनिकले यो एक वर्षको यात्रा निकै चुनौतीपूर्ण रह्यो । विज्ञापन नीतिमा सरकारको कठोर व्यवस्था, अर्थतन्त्रमा आएको संकुचनबाट सबैभन्दा बढी प्रभाव छापा पत्रकारिता नै प¥यो । हामो एक वर्षको पत्रकारिताको यात्रामा साथ दिनु हुने नेपाल सरकारका विभिन्न निकाय, प्रेस काउन्सिल नेपाल, सूचना विभाग, हाम्रा नियमित लेखक, स्तम्भकार, विज्ञापन सहयोगी संस्थाहरु, विज्ञापनदाता, वितरक, सहयोगी संस्थाका साथै सम्पूर्ण पाठक वर्ग जसले हामीलाई निरन्तर सुझाव प्रतिक्रिया दिएर हाम्रो पत्रकारिताको यात्रालाई सशक्त बनाउन सहयोग गर्नुहुने प्रति कृतज्ञता प्रकट गर्दछौँ । आगामी यात्रामा पनि यहाँहरुको निरन्तर सहयोग, सद्भाव र सहकार्यको अपेक्षा राखेका छौँ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण