नेभिगेशन
प्रदेश

हुम्लाको सर्केगाड र चंखेलीमा टेलिकमको फोरजी सेवा

काठमाडौं (संवाददाता) – नेपाल टेलिकमले कर्णाली प्रदेशको विकट जिल्ला हुम्लाका दुई गाउँपालिकामा टुजी र फोरजी मोबाइल सेवा विस्तार गरेको छ । टेलिकमले यी गाउँपालिकाका स्थानीयलाई गुणस्तरीय दूरसञ्चार सेवा दिन टुजी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

इन्टरनेट पुगेसँगै त्यहाँका स्थानीयले पनि गुणस्तरीय दूरसञ्चार सेवा उपभोग गर्न पाएको नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले बताए । उनका अनुसार टुजी र फोरजी सेवा सेवा सुरु भएपछि सर्केगाड गाउँपालिका अन्तर्गत वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउली र लुम क्षेत्रका स्थानीयहरूले मोबाइल इन्टरनेट सेवामार्फत उच्च गुणस्तरको सञ्चार सुविधा पाएका छन् । 

चंखेली गाउँपालिकामा पनि नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँलगायतका बस्तीहरूमा टेलिकमको मोबाइल नेटवर्क पुगेको हो । 

नेपाल टेलिकमले देशका दुर्गम तथा पहुँचबाट टाढिएका क्षेत्रहरूमा समेत सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गर्ने अभियान अन्तर्गत यी सेवाहरू सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार दूरसञ्चार पहुँचलाई सर्वसुलभ बनाउने कार्यलाई टेलिकमले सधैं उच्च प्राथमिकतामा राख्दै आएको छ ।

हुम्लाका सो भूगोलमा रहेका नागरिकले द्रुतगति इन्टरनेटका साथै अन्य डिजिटल सेवाहरू पनि सहजरूपमा उपभोग गर्न सक्ने अपेक्षा गरिएको छ । टेलिकमले आगामी दिनमा पनि देशका अन्य विकट तथा पिछडिएका क्षेत्रहरूमा यस्ता सेवाहरू विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्