नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

हाम्रो नयाँ गन्तव्य र चुनौती

आजको युग सूचना र प्रविधिको युग हो। सूचना प्रविधिमा आएको परिवर्तन र बदलिँदो विश्व परिवेशसँगै आम सञ्चार माध्यमको शैली र प्रस्तुतिमा पनि निकै परिवर्तन भइसकेको छ। आम नागरिकको अपेक्षा र आवश्यकता पनि बदलिँदो अवस्थामा छ। आजको समाजको आवश्यकता र रुचि पनि बदलिएको छ। यस्तो अवस्थामा हामी सञ्चार माध्यम र सञ्चारकर्मीहरू पनि समयको माग र चुनौतीसँग जुध्दै अघि बढ्नुपर्ने अवस्था छ। परम्परागत सञ्चार माध्यममाथि चुनौती र दबावहरू थपिएका छन्। त्यस कारण पनि न्यूज २४ ले जनस्तरमा कमाएको जनविश्वास, भरोसा र हाम्रो खबरदारी माथिको अपेक्षालाई हामीले भोलिसम्म कायम राख्नु पक्कै हाम्रो लागि पनि चुनौती थपिएको छ।

डिजिटल मिडियाको बढ्दो प्रभाव, सोसल मिडियाको अभ्यासकर्ताहरूको बदलिँदो रुचिलाई हामीले पक्कै पनि मनन गर्नुपर्ने अवस्था छ। न्यूज २४ नागरिकको विश्वास र भरोसामा अघि बढेको सञ्चार समूह भएको हुँदा पनि यस समूहले अहिलेको कठिन अवस्थामा छापा पत्रकारिताको रुपमा विशेष प्रस्तुतिका साथ अघि बढेको छ। अबको digital पत्रकारिताको चुनौतीमा पनि पाठक समक्ष सूचना प्रविधिको प्रयोगबाट सशक्त रुपमा उभ्याउने प्रयास गर्नेछ। डिजिटल तथा अनलाइन पत्रकारिताको विकाससँगै छापा पत्रकारिताप्रति आम पाठकहरूमा रहेको विश्वास र भरोसालाई कायम राख्न पनि हाम्रो अबको पाइला झन् बढी परिष्कृत र बलियो हुनुपर्छ भन्ने न्यूज २४ कर्मीहरूले बुझेर जनस्तरका समस्या, नागरिकको पक्षमा गर्नुपर्ने खबरदारी र सुशासन कायम राख्न हामीले चाल्नुपर्ने कदमलाई झन् बढी प्रभावकारी बनाउनुपर्ने अवस्था पनि छ। मुलुक जेनेरेसन आन्दोलनपछि युवाको सोच र विचारमा पनि आमूल परिवर्तन आइसकेको छ। जेनेरेसन आन्दोलनपछि युवाप्रति नागरिकको अपेक्षा पनि चुलिएको छ। युवाको गन्तव्य र युवा नेतृत्वले चाहेको सुधार, सुशासन र शासकीय सुधारको पक्षमा हाम्रो पत्रकारिताको कदम त्यसतर्फ पक्कै पनि अग्रसर हुनेछ।

भदौ २३ र २४ गतेको जेनेरेसन आन्दोलने मुलुक पक्कै पनि फरक सोच र धारबाट अघि बढेको छ। युवाको नेतृत्वमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले शासकीय सुधार र नागरिकको आवश्यकतालाई निकै प्राथमिकता दिएको छ। युवाको प्रतिनिधित्वको रुपमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले गरेको वाचापत्र र जनताको आवश्यकता र डेलिभरीमा गरेको सुधारले कर्मचारी प्रशासन नागरिकप्रति उत्तरदायी र जिम्मेवार बन्ने क्रम बढेको छ। सरकारले जनता र मुलुकको विकासको लागि थालेको प्रयास र सरकारले जनतासँग गरेको प्रतिवद्धता र त्यसको कार्यान्वयनको पक्षमा सञ्चार क्षेत्रले खबरदारी गर्नु र नागरिकको पक्षमा आवाज बुलन्द गर्ने काममा निर्वाह गर्नुपर्ने हुन्छ। जनताको आवाज र सरकारको खबरदारी गर्नु सञ्चार क्षेत्रको जिम्मेवारी पनि हो।

मूलधारको सञ्चार माध्यमका रूपमा हामीले निर्वाह गर्नुपर्ने भूमिका र दायित्व पक्कै पनि ओजपूर्ण हुनुपर्छ। आम सञ्चार माध्यमको जिम्मेवारी र भूमिकालाई आगामी दिनमा अझ बढी सशक्त रुपमा निर्वाह गर्नुपर्ने भएको हुँदा हाम्रो आगामी गन्तव्य त्यति सहज छैन। छापा माध्यमको रुपमा हामीले निर्वाह गर्नुपर्ने भूमिका अझ बढी चुनौतीपूर्ण छ। हामीजस्ता मूलधारका मिडियाहरूले राज्यका नीतिनियम र सञ्चार कानून स्वतन्त्र प्रेस र लोकतान्त्रिक पद्धतिमा आधारित रहोस् भन्ने सञ्चार क्षेत्रको माग पनि रहेको छ। पक्कै पनि निजी लगानीमा आधारित सञ्चार माध्यमहरूले खुला बजार र प्रतिस्पर्धात्मक बजारमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती पनि छ। संविधानले प्रेस जगत्‌लाई पूर्ण स्वतन्त्रताको अवसर प्रदान गरेको अवस्थामा पक्कै पनि मिडियाको भूमिका र दायित्व अझ परिष्कृत र गम्भीर रहेको अवस्थालाई बुझेर अघि बढ्नुपर्ने दायित्व छ। वास्तवमा मुलुकमा निजी लगानीले सिर्जना गरेको उद्यमशीलता र रोजगारीको अवसरलाई विस्तार हुने अवसर राज्यले सिर्जना गर्नुपर्छ। निजी लगानीको सुरक्षा र संरक्षणको ग्यारेन्टी गर्ने जिम्मा राज्यको हो। निजी लगानीको सबै खालका सञ्चार जगत्‌लाई संरक्षण गर्न सकेमा उनीहरूले सरकारको सुशासनको अभियानलाई सहयोग पुर्‍याउन सक्छन्। राज्यले आमसञ्चार माध्यमको विकास र विस्तारलाई सहयोग र उनीहरूको भूमिका स्वतन्त्र रुपमा अघि बढ्ने अवसर सिर्जना गर्दा शासन शैली र युवा नेतृत्वले सोचेको परिवर्तन र सरकारको काम गर्ने शैली र व्यवहारमा आमूल सुधार आउन सक्ने विश्वास गर्न सकिन्छ।

आज पनि जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी अड्डाको शासन जनमैत्री हुन सकेको छैन। सरकारले भनेको सुशासन जनताले अनुभूति गर्न पाउनु पर्छ। मिडियाले नागरिकसँग जोडिएको अपेक्षा र जनताको आवश्यकतालाई उजागर गर्न हामीले जनताको आवाज र भरोसाको रुपमा अघि बढ्ने प्रण गरेका छौं। हाम्रो भोलिको गन्तव्य र यात्रा जनताको अपेक्षा र विश्वासमा निर्भर रहनेछ। आम पाठक तथा जनस्तरका मुद्दा र समस्यालाई उजागर गर्न हाम्रो गन्तव्य अझ बढी परिष्कृत हुने नै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण