नेभिगेशन
शिक्षा

खुला विश्वविद्यालयको आयोजनामा प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

ललितपुर । नेपाल खुला विश्वविद्यालयको आयोजनामा कम्प्युटेसनल भिजन र बायो, इन्स्पायर्ड कम्प्युटिङसम्बन्धी सातौं अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । कम्प्युटेसनल इन्टेलिजेन्स सोसाइटीको प्राविधिक सहयोगमा आयोजित यो तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शनिबारसम्म सञ्चालन हुने बताइएको छ । 
विश्वभरका अनुसन्धानकर्ता, प्राध्यापक, वैज्ञानिक तथा विद्यार्थीहरूलाई प्रविधिको क्षेत्रमा भएका नवीन खोज र विकासबारे छलफल गराउने उद्देश्यले आयोजित सम्मेलनको उदघाटन समारोहमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 
कार्यक्रमका विशेष अतिथि प्राडा सुवर्ण शाक्यले सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन, बायो, इन्स्पायर्ड कम्प्युटिङ, रोबोटिक्स, स्वास्थ्य प्रविधि तथा स्मार्ट सिस्टमजस्ता अत्याधुनिक क्षेत्रमा भइरहेका कार्यहरूलाई एउटै थलोमा ल्याएको बताए । 
सम्मेलनका लागि विश्वभरका विभिन्न देशहरूबाट कुल १ हजार २ सय ११ वटा शोधपत्र प्राप्त भएकोमा विषयविज्ञहरूद्वारा निष्पक्ष र कडा मूल्यांकन गरी उत्कृष्ट २ सय ५९ वटा शोधपत्र मात्र प्रस्तुति तथा प्रकाशनका लागि चयन गरिएको उनले जानकारी दिइ । 
नेपाल खुल्ला विश्वविद्ययलय विज्ञान स्वास्थ तथा प्रविधि संकायका डिन डा. भोजराज घिमिरेले प्रविधिको प्रयोगमार्फत समाजका जटिल समस्याहरू समाधान गर्न र ज्ञानको दायरा फराकिलो बनाउन यस्ता अन्तर्राष्ट्रिय मञ्चहरू फलदायी हुने विश्वास व्यक्त गरे । दूरदराजसम्म प्रविधि र ज्ञानको पहुँच पु¥याउन नेपाल खुला विश्वविद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सहभागीहरूलाई एक–अर्कासँग अनुभव र विचार आदानप्रदान गर्न आग्रह गरे । 
उदघाटन सत्रमा मुख्य वक्ताका रूपमा बालकृष्ण बालले आफ्नो प्राविधिक कार्यपत्र एवं बौद्धिक मन्तव्य प्रस्तुत गरेका थिए । 
सत्यराज सुवालले सञ्चालन गरेको औपचारिक उदघाटन सत्रपछि तीन दिनसम्म चल्ने प्राविधिक तथा अनुसन्धानमूलक सत्रहरू सुरु भएका छन् । यस सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय प्रविधि तथा अनुसन्धानको नक्सामा थप स्थापित गर्न मद्दत पु¥याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्