काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साएर आफू नतर्सिने र दबाएर नदब्ने बताएका छन् । पार्टीको आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले संस्थापनइतर पक्षमाथि संकेत गर्दै यस्तो बताएका हुन् । कांग्रेस इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्दै समानान्तर गतिविधि गरिरहेको छ ।
सभापति थापाले विधान र संस्थागत प्रक्रियाबाट आफू पछि नहट्ने अडान दोहो¥याएका छन् । आफूलाई दबाब, डर वा प्रलोभनबाट प्रभावित पार्न नसकिने भन्दै पार्टीको आन्तरिक विषयमा न्यायालयप्रति विश्वास राखेर कानुनी र राजनीतिक दुवै लडाइ अघि बढाउने बताए ।
कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्चले सदर गर्दा विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले पार्टी सञ्चालन गरिरहेको छ ।
अघिल्लो निर्णयमाथि प्रश्न उठाउँदै पुनरावेदन गर्न पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट निवेदन पेस भएको थियो, जसलाई सर्वोच्चले निस्सा दिएर पुनः सुनुवाइ तोकेको छ । उक्त निस्सा दिने आदेशमा असन्तुष्ट पक्षलाई निर्वाचन आयोगले सुनुवाइको मौका नदिएको उल्लेख छ । उक्त आदेशपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
विशेष महाधिवेशन सकेर त्यसबाट आएको कार्यसमिति निर्वाचन आयोग पुग्दा देउवा पक्षधरले थापा र विश्वप्रकाश शर्मालाई कारबाही नै घोषणा गरेको थियो । निर्वाचन आयोगले थापा नेतृत्वलाई मान्यता दियो, त्यसैलाई सर्वोच्चले पनि सदर गर्दा नेता पूर्णबहादुर खड्का नेतृत्वको इतरपक्ष सकसमा परेको थियो । अदालतले मान्यता दिएपछि देउवा नेतृत्वको पुरानो कार्यसमितिले पार्टी कार्यालय छाडेको थियो । अब उक्त मुद्दाको पुनरावेदनलाई अदालतले स्वीकार गरेर पुनः सुनुवाइ तोकेपछि देउवा पक्षधरमा हौसला बढेको छ । तर, यसबाट पार्टी नेतृत्व विचलित नभएको सभापति थापाले आइतबारको बैठकबाट पुष्टि गरेका हुन् ।
‘हिजो विशेष महाधिवेशनको हलमा जे कुरा सत्य थियो, निर्वाचन आयोगमा जे सत्य थियो र अस्तिसम्म अदालतमा जे कुरा सत्य ठहरिएको थियो, त्यो अहिले पनि सत्य नै हुन्छ,’ सभापति थापाले भने ।
सभापति थापाले आफूले कांग्रेसलाई सम्हालेर लैजाने दाबी पनि गरे । ‘केही समय लाग्ला, तर हामी यो पार्टी सम्हाल्छौं । यो पार्टीको महाधिवेशन पनि गर्छौं, समयमै गर्छौं । पार्टीका सबै साथीहरूलाई जोड्छौं । पार्टीको न्यायिक लडाइ पनि लड्छौं, कानुनी लडाइ पनि लड्छौं र राजनीतिक लडाइ पनि लड्छौं । सबै खालका घेराबन्दीहरू चिरेर अघि बढ्छौं,’ सभापति थापाले भने,‘हामीभन्दा बाहिर बसेका शक्ति र सत्ताले नेपाली कांग्रेसलाई कसरी घेराबन्दी गरिरहेका छन् भन्ने कुराको हामीलाई राम्रो जानकारी छ । सबै सूचना हामीले राखेका छौं । ती सबैसँग लड्ने र जुध्ने तागत हामी राख्छौं भन्ने विश्वासका साथ हामी अगाडि बढ्नुपर्छ ।’
नेतृत्वले विशेष महाधिवेशनमा सहभागी नभएका कांग्रेस नेता–कार्यकर्तालाई समेत समान हैसियतका साथ पार्टीमा समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । विशेष महाधिवेशनमा सहभागी र सहभागी नभएका दुवै पक्ष कांग्रेसकै भएकाले कसैलाई पहिलो वा दोस्रो दर्जाको व्यवहार नगर्ने भन्दै थापाले आश्वस्त पार्ने प्रयास गरेका छन् ।
थापाले अबको मुख्य जिम्मेवारी १५औं महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र सबैले स्वीकार गर्ने वातावरणमा सम्पन्न गर्नु रहेको बताए । महाधिवेशनलाई निष्पक्ष बनाउन क्रियाशील सदस्यताको विषयमा पुनः समीक्षा गर्न सकिने पनि उनले बताए । त्यस्तै, सदस्यता टुंग्याउने समितिको काममा कतै कैफियत रहेको आशंका भए नयाँ समिति गठन गरेर छानबिन गर्न सकिने तथा निर्वाचन समितिमा पनि सबैको विश्वास हुने गरी सदस्य थप्न सकिने उनको भनाइ छ ।
इतरपक्षले संस्थापनले एकलौटी बनाएको समितिमा आफ्नो समूहको पनि सहभागिताको माग राखेका छन् । जसमा दबाब बढाउन छुट्टै कार्यालयसमेत खोलेर सञ्चालनमा ल्याइएको छ । डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला पनि आह्वान गरिएको छ ।
यसैबीच शेरबहादुर देउवा स्वदेश फर्किने भएपछि पार्टीमा उनी पक्षधरको दबब बढ्ने देखिएको छ । गत फागुन २१ को निर्वाचनअघि स्वाथ्योपचारको फलोअपका लागि भन्दै सिंगापुर उडेका देउवा लामो समयदेखि हङकङमा छन् । पाँच महिनापछि उनी आगामी बिहीबार नेपाल फर्किने भएका हुन् ।
उनको पुनरागमनले कांग्रेसमा अग्रज भइसक्नुपर्ने एउटा पुस्ता नै थापामाथि दबाब बढाउन हौसिएको छ । देउवा शक्तिमा रहँदा उनका विश्वासपात्र रहिआएका नेताहरू पूर्णबहादुर खड्काको अगुवाइमा संस्थापनको विपक्षमा छन् ।
एकातिर इतर पक्षको घुर्की, अर्कातिर अदालतमा पुनः सुनुवाइ हुने विशेष महाधिवेशनको वैधताको विषयले अहिले पार्टी केन्द्रीय समिति सकसमा छ । यस्तो बेला बैठक डाकेर थापाले विशेष महाधिवेशन पक्षधरलाई ढाडस दिन खोजेका हुन् । बैठकमा उनले आफूहरू विशेष महाधिवेशनको वैधतामाथि हुने अदालती सुनुवाइबाट पछि नहट्ने बताए ।
पार्टीको संगठनात्मक अवस्थालाई ‘रुख’सँग तुलना गर्दै सभापति थापाले पार्टी विस्तार र परिवर्तनका क्रममा पातहरू फेरिन सक्ने भए पनि यसको जरा बलियो रहनुपर्ने धारणा राखे । बीपी कोइराला, सुवर्ण शमशेर र गणेशमान सिंहलगायत संस्थापक नेताहरूको योगदानबाट बनेको कांग्रेसमा विभिन्न जाति, समुदाय र क्षेत्रका नेताकार्यकर्ताको योगदान रहेको उल्लेख गर्दै पार्टीलाई साझा शक्तिका रूपमा अझ बलियो बनाउनुपर्नेमा उनको जोड छ ।
‘जिम्मेवार प्रतिपक्षी चाहिन्छ’
सभापति थापाले सरकारलाई खबरदारी गरिरहन सबल प्रतिपक्षीको खाँचो केन्द्रदेखि प्रदेशसम्म आवश्यक हुनेमा जोड दिएका छन् । सरकारलाई जिम्मेवार बनाउने गरी कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका उनले बताए । कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको पनि उनले उल्लेख गरे ।
‘जब राष्ट्रिय मुद्दाहरूमा आउँछौं, जहाँ सरकारसँग सहकार्य गर्नुपर्ने हुन्छ, त्यो बेलामा सबैभन्दा अगाडि प्रमुख प्रतिपक्षी दल सर्नुपर्छ, सँगसँगै हाम्रो अर्को जिम्मेवारी पनि छ, हामी प्रतिपक्ष हौं, त्यसैले सरकारमाथि प्रश्न गर्ने हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘तीन दल मिलेर सरकार बनाऔंभन्दा हामीले प्रतिपक्षीविहीन प्रदेश सरकारको अस्वीकार गरेका हौं,’ उनले भने ।