नेभिगेशन
राजनीति

‘नभए सबै खरानी हुन्छ’

काठमाडौँ । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र बढ्दो आन्तरिक विवाद र सामाजिक सञ्जालमा भइरहेको आरोप–प्रत्यारोपप्रति चिन्ता व्यक्त गर्दै एकताका लागि अपिल गरेका छन् ।
पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएको तीन दिनयता सामाजिक सञ्जालमा पार्टीकै नेताकार्यकर्ताबाट भइरहेका टीका–टिप्पणीले आफूलाई चिन्तित बनाएको खड्काले बताएका छन् ।
आइतबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा हुने दोहोरी र गालीगलौजले समस्या समाधान नहुने भन्दै यस्तो प्रवृत्ति तत्काल बन्द गर्न आग्रह गरेका छन् । पार्टी सभापति गगन थापालाई एकताका लागि तत्काल अग्रसर हुन उनले विशेष आग्रह गरेका छन् । 
‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै सहयोगी हौं र बन्छौं,’ उनले भनेका छन् । पार्टी एकताका लागि निर्णायक भूमिका सभापति थापाकै हुने उनको भनाइ छ ।
कांग्रेस इतिहासकै कमजोर र प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै खड्काले व्यक्तिगत महŒवाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले सर्वोच्चले पुनरवलोकनका लागि दिएको निस्सालाई पार्टी एकताको ‘अन्तिम अवसर’का रूपमा लिनुपर्ने बताएका छन् । पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेतासँग एकताका लागि वातावरण बनाउन उनले अपिल गरेका छन् । राष्ट्रियता संकटमा परेको र लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै खड्काले भनेका छन्, ‘राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ । अनि, त्यसमा हामी रहने ठाउँ रहन्छ । नभए सबै खरानी हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्