नेभिगेशन
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै

४ विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा चार वटा विधेयक प्रस्तुत हुने भएका छन् । बैठकमा दुई जना मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रमसमेत राखिएको छ । संसद् सचिवालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल र श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग प्रश्नोत्तर हुनेछ । 
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार दिउँसो १ बजे सुरु हुने बैठकमा सुरुमा मन्त्रालयगत प्रश्नोत्तर हुने छ । परराष्ट्र« मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ । 
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री गौतमले थप दुई वटा प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ । जसअनुसार ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।
त्यस्तै, प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले नै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्