नेभिगेशन
प्रदेश

ग्यास वितरण सहज बनाउँदै प्रशासन

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै वितरण गर्ने भएको छ । ग्यास आपूर्ती सहज बनाउन जिल्ला प्रशासनले कडाई गरेको छ ।  बागलुङमा आइतबार एक हजार ९२२ सिलिन्डर एलपी ग्यास वितरण गरिने ग्यास बिक्रेता संघले जानकारी दिएको छ । 
    जिल्लामा देखिएको एलपी ग्यास अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङको पहलमा आइतबार सरोकारवाला निकायहरूको बैठकले ग्यास सडकबाट नभई बिक्रेताहरुबाटै ग्यास बितरण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बागलुङमा  एक हजार १७० सिलिन्डर गृहलक्ष्मी र ७५२ सिलिन्डर शक्ति ग्यास गरी कुल एक हजार ९२२ सिलिन्डर ग्यास वितरणको तयारी गरिएको हो ।
    बैठकले ग्यास आपूर्ति तथा वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले सदरमुकाम क्षेत्रमा रहेका १८ वटा एलपी ग्यास वितरकमार्फत नियमानुसार ग्यास वितरण गर्ने, वितरणका लागि छुट्टै फाराम तयार गरी प्रत्येक विक्रेताले उपभोक्ताको अभिलेख राख्ने निर्णय गरेको छ । बागलुङमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा वितरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एलपी ग्यास बिक्रेता सङ्घले विभिन्न व्यवस्था लागू गरेका छन् ।
    ग्यासको सहज वितरणका लागि अब उपभोक्ताले आफ्नो नजिकको आधिकारिक ग्यास विक्रेताबाट मात्र ग्यास लिन र ग्यास आए–नआएको विषयमा पनि आधिकारिक विक्रेतासँग सम्पर्क गरी जानकारी लिन प्रशासनले अनुरोध गरेको छ । बागलुङ बजारमा रहेका १८ वटा आधिकारिक बिक्री केन्द्रबाट उपभोक्ताको अभिलेख राखी ग्यास वितरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । 
    ग्यास लिन जाँदा नागरिकता वा आफ्नो परिचय खुल्ने अन्य कागजात साथमा लैजानसमेत उपभोक्तालाई आग्रह गरिएको छ । प्रशासनले ग्यासको अनावश्यक सञ्चय नगर्न पनि अनुरोध गरेको छ । ग्यासको अवस्थाबारे अनुगमन गर्न टोली परिचालन गरिएको जनाउँदै अनावश्यक रुपमा ग्यास सञ्चय गरेको पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ ।
    यसअघि ग्यास लिएको अभिलेखसमेत विक्रेताले राखेकाले कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले अनावश्यक हल्लाको भरमा जथाभावी लाइन नबस्न प्रशासनले आग्रह गरेको छ । ग्यास विक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिएको पाइएमा नजिकको स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एलपी ग्यास विक्रेता सङ्घ बागलुङले आपूर्तिको असहज अवस्थामा एक–अर्कालाई सहयोग गर्दै संयमित हुन सर्वसाधारणलाई आग्रह गरेका छन् । 

ग्यासको कालोबजारी गर्ने पक्राउ

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट एक जना पक्राउ परेका छन् । दुवाकोटको बारूदखाना चोकस्थित त्वयना किराना पसल सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 
    तुलसीरामले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिण्डर रु सात हजारका दरले बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरी एक व्यवसायीलाई पक्राउ गरेको छ । 
सरकारले तोकेको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । खाना पकाउने ग्यास कालोबजारी गरेको आरोपमा खाँदबारी–१ स्थित बुद्धचोकबाट भोजपुरे भाडा पसलका लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए ।

व्यवसायी श्रेष्ठले यही साउन २३ गते उक्त पसलबाट खाना पकाउने एलपी ग्यास उपभोक्तालाई कायम बजार मूल्यभन्दा बढी प्रतिसिलिन्डर रु दुई हजार ३०० दरले बिक्री वितरण गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक अर्यालले बताए । 
विशेष सूचनाका आधारमा प्रहरीले टोली खटाइ जाँच तथा अनुसन्धान गर्दा तोकिएको बजार मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसुरमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट तीन दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्