नेभिगेशन
राजनीति
प्रोटोकलको अडानमा ब्रेक

प्रधानमन्त्री शाहले थाले राजदूतसँग ‘वन टू वन’ भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी कूटनीतिज्ञसँग एकल भेट नगर्ने आफ्नो पूर्ववत् नीति परिवर्तन गर्दै सोमबार भारत र चीनका राजदूतसँग भेट गरेका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक उनले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग ‘वन टू वन’ भेटवार्ता गरेका हुन् । 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्री शाहले यसअघि विदेशी राजदूत तथा कूटनीतिज्ञसँग सामूहिक भेटलाई प्राथमिकता दिँदै आएका थिए । उनीसँग एकल भेटका लागि आएका केही विदेशी कूटनीतिज्ञले समेत भेटको अवसर नपाएको विषय त्यसबेला चर्चामा आएको थियो । प्रधानमन्त्रीको यही नीतिका कारण भारतीय विदेश सचिव विजय मिश्रीको नेपाल भ्रमण रोकिएको थियो । गत वैशाख तेस्रो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए । उनको प्रधानमन्त्री शाहसँग  भेट भएको थिएन । अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरेर फर्किएका थिए । 
प्रधानमन्त्री भएलगत्तै गत चैत २५ मा शाहले भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत÷नियोग प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए । 
भारतबाट सुरु, चीनसँग पनि संवाद
भारतीय राजदूत श्रीवास्तवसँगको भेटपछि सोमबार प्रधानमन्त्री शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग पनि एकल भेट गरे । उक्त भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने तथा विकास साझेदारी अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 
प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएको बताइएको छ । चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री शाहसँगको भेटलाई अर्थपूर्ण र रचनात्मक भएको प्रतिmित्रया दिएका छन् । उनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शाहलाई शुभकामना दिँदै भारत–नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।
के संकेत गर्छ नीति परिवर्तनले ?
प्रधानमन्त्री शाहले एकल कूटनीतिक भेटवार्ताबाट दूरी बनाउँदै आएको पृष्ठभूमिमा सोमबारको भेटलाई उनको विदेश नीति सञ्चालन शैलीमा आएको महŒवपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । कतिपयले पूर्ववत् अडानबाट पछि हटेको भन्दै आलोचना गरेका छन् भने केहीले बल्ल प्रधानमन्त्री ठिक ट्रयाकमा आएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री बनेपछि उनले काठमाडौंस्थित विदेशी राजदूतहरूसँग सामूहिक भेट गरेका थिए । तर अब भने छिमेकी मुलुक भारत र चीनका राजदूतसँग अलग–अलग भेटवार्ता गरेर उनले द्विपक्षीय सम्बन्धका संवेदनशील तथा साझा हितका विषयमा प्रत्यक्ष संवादलाई समेत प्राथमिकता दिन खोजेको संकेत गरेका छन् ।
विशेषगरी भारत र चीन दुवैका राजदूतसँग एउटै दिन ‘वन टू वन’ भेट हुनुलाई नेपालको परम्परागत सन्तुलित कूटनीतिलाई निरन्तरता दिने प्रयासका रूपमा पनि हेरिएको छ । गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष समेत रहेका समाजशास्त्री दीनेश प्रसाईंले प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग एक्ला एक्लै भेट नगर्ने अडान बदलेर अहिले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट गर्नु सकारात्मक रहेको बताए । ‘यो कदम विचलन नभई बदलिँदो परिस्थिति अनुसार अपनाउनुपर्ने आवश्यक कूटनीतिक परिपक्वता हो । अन्तर्राष्ट्रिय सम्बन्धमा मित्रता, शत्रुता वा व्यक्तिगत अहम् भन्दा स्थायी राष्ट्रिय स्वार्थ महŒवपूर्ण हुन्छ,’ उनले भने, ‘त्यसैले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक संवादका सबै कूटनीतिक माध्यम प्रयोग गर्नु सकारात्मक कुरा हो । साथै सिद्धान्तमा अडिग रहँदै व्यवहारमा लचकता अपनाउनु नै सफल विदेश नीतिको आधार पनि हो ।’ 
सुगौली सन्धिका दस्तावेजमा परराष्ट्रमन्त्री छैनन् प्रष्ट 
परराष्ट्रमन्त्री शिशिर खनालले बेलायत र भारतसँग भएका ऐतिहासिक सन्धिको औपचारिक सक्कल प्रति नेपालसँग छ कि छैन भन्नेबारे सरकारलाई प्रष्ट जानकारी नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस सांसद निश्कल राईले सोधेको प्रश्नको जबाफ दिँदै उनले उक्त कुरा बताएका हुन् । 
सांसदसँग प्रश्न–उत्तर कार्यक्रमअन्तर्गत सांसद राईले सन् १८१६ मा बेलायतसँग भएको सुगौली सन्धि र १९५० भारतसँग भएको शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति नेपालसँग छ कि छैन भनेर सोधेका थिए । जवाफमा  परराष्ट्रमन्त्री खनालले सुगौली र शान्ति तथा मैत्री सन्धिका केही कागजात राष्ट्रिय अभिलेखालयमा भए पनि त्यो औपचारिक सन्धिको दस्तावेज हो कि होइन भन्ने सरकारलाई जानकारी नभएको बताए ।
उनले भने,‘मेरो जानकारीमा आए अनुसार हामी १८१६ र १९५० को सन्धिका केही दस्तावेज हामीसँग छन् । तर ती सन्धिका औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन ।’ मन्त्री खनालले राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजात रहेका तर औपचारिक सन्धि नै हो कि होइन भन्ने स्पष्ट जानकारी नभएको जवाफ दिए । 
त्यस्तै, उनले मन्त्रालयले ऐतिहासिक तथा कूटनीतिक रूपले महŒवपूर्ण दस्तावेजको खोज, प्रमाणीकरण, डिजिटाइजेसन र सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि बताए । त्यसका लागि मन्त्रालयमा छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरी काम अघि बढाइएको उनले संसद्मा जानकारी गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्