नेभिगेशन
विश्व

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, ७३ जनाको मृत्यु

बोगोटा (एपी)– कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा घाइते भएका छन् । भवनहरू भत्किँदा केही मानिस भग्नावशेषमा पुरिएका छन् । भूकम्पपछि राजधानी बोगोटासम्मका मानिस घरबाट बाहिर निस्किएका थिए ।
अमेरिकी भूगर्भ सर्वेक्षण र कोलम्बियाको सम्बन्धित निकायका अनुसार भूकम्पको केन्द्रबिन्दु चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । करिब ४ हजार ८ सय जनसंख्या रहेको उक्त क्षेत्र राजधानी बोगोटाबाट करिब ४ सय किलोमिटर पश्चिममा पर्छ । भूकम्प जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा गएको थियो ।
भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो । ती देशमा भने ठूलो क्षति भएको विवरण आएको छैन । कोलम्बियाका अधिकारीहरूका अनुसार रिसाराल्डा क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । उक्त क्षेत्रको पेरेरा सहर भूकम्पबाट निकै प्रभावित भएको छ । यस्तै, भाले डेल काउका क्षेत्रमा २७ जनाको मृत्यु भएको छ । कोलम्बियाको तेस्रो ठूलो सहर काली पनि यही क्षेत्रमा पर्छ । भाले डेल काउकामा मृत्यु हुनेमध्ये कम्तीमा तीन जना बालबालिका रहेको त्यहाँका गभर्नरले बताएका छन् । चोकोमा चार जना र काल्डास क्षेत्रको मानिजालेसमा दुई जनाको मृत्युको पुष्टि भएको छ ।
भूकम्पपछि देशको पश्चिमी क्षेत्रमा रहेका पेरेरा, क्विब्दो, काली र मानिजालेस सहरमा ठूलो क्षति पुगेको छ । भवनहरू भत्किएपछि स्थानीय बासिन्दा र उद्धारकर्मीले भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन् । थप शक्तिशाली परकम्प आउन सक्ने भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।

कोलम्बियाका गृहमन्त्रीका अनुसार देशभर २० भन्दा बढी नगरपालिका भूकम्पबाट प्रभावित भएका छन् । भूकम्पको केन्द्र आसपासको कोलम्बियाको प्रशान्त क्षेत्र प्रशान्त महासागर वरिपरि फैलिएको भूकम्पीय क्षेत्रमा पर्छ । यस क्षेत्रलाई ‘रिङ अफ फायर’ भनिन्छ, जहाँ विश्वका अधिकांश शक्तिशाली भूकम्प जाने गरेको छ ।
कोलम्बियाको भूगर्भ सेवाले सोमबारको भूकम्पलाई पछिल्लो एक दशकमा देशमा अभिलेख गरिएको सबैभन्दा शक्तिशाली भूकम्प भनेको छ । त्यसपछि २.८ र ४.८ म्याग्निच्युडका दुई परकम्पसमेत गएको जनाइएको छ ।
कालीका ६४ वर्षीय ट्याक्सी चालक जोर्ज मोन्कायोले भूकम्पका क्रममा भवनहरू भत्किँदा सहरभर धुलोको मुस्लो उठेको देखेको बताए । उनले आफूले यसअघि यति शक्तिशाली भूकम्प कहिल्यै अनुभव नगरेको बताए ।
‘मेरो पूरै घर हल्लियो । मैले अहिलेसम्म यस्तो शक्तिशाली भूकम्प कहिल्यै भोगेको थिइनँ । हामी जीवित रहन सकेकोमा भगवान्लाई धन्यवाद दिइरहेका छौँ,’ उनले भने ।
भूकम्पका कारण मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो, बुएनाभेन्तुरा र पेरेराका विमानस्थलमा उडानसमेत रोकिएको थियो । पेरेरामा स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर तथा भिडियोमा विमानस्थलको छतका केही भाग खसेको देखिएको थियो । यात्रुहरू डराएर चिच्याउँदै बाहिर निस्किएका थिए भने केही मानिस भग्नावशेषबीच भागिरहेका थिए । पेरेराका मेयर माउरिसियो सालाजारले स्थानीय रेडियोलाई कम्तीमा १८ जनाको मृत्यु भएको र धेरै मानिस भत्किएका भवनको ठूलो भग्नावशेषमुनि फसेको बताएका थिए ।
कफी उत्पादनका लागि प्रसिद्ध पहाडी सहर मानिजालेसमा रहेको नवगोथिक शैलीको गिर्जाघरको एउटा टावरसमेत भत्किएर मुख्य प्रार्थना कक्षमा खसेको छ । मेयर जोर्ज एडुआर्दो रोजासले थप परकम्प आउन सक्ने भन्दै स्थानीय बासिन्दालाई घरभित्र नबस्न आग्रह गरेका छन् ।
भूकम्पको केन्द्रबिन्दु रहेको ग्रामीण चोको क्षेत्रमा पनि मानिस घाइते भएका र भवनहरूमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । यद्यपि त्यहाँको क्षतिबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
करिब २० लाख जनसंख्या रहेको काली सहरमा कम्तीमा १९ वटा भवनमा मानिसहरू फसेको नगरप्रमुख आलेहान्द्रो एदेरले बताएका छन् । कोलम्बियामा सामान्यतया साना भूकम्प जाने गरे पनि ६ म्याग्निच्युडभन्दा माथिका शक्तिशाली भूकम्प भने दुर्लभ मानिन्छन् । सन् १९९९ मा आर्मेनिया सहरनजिक गएको ६.२ म्याग्निच्युडको भूकम्पमा १ हजार १ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
नवनिर्वाचित राष्ट्रपति अबेलार्दो दे ला एस्प्रियाले भूकम्पपछि चोकोको सान होसे डेल पालमारमा उद्धार तथा राहत कार्यको सरकारी नेतृत्व आफैँले सम्हालेका छन् । सप्ताहन्तमा मात्रै राष्ट्रपतिको शपथ लिएका उनका लागि यो पहिलो ठूलो आपत्कालीन चुनौती बनेको छ ।
राष्ट्रपति एस्प्रियाले प्रभावित नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंहरू एक्लै हुनुहुन्न । सरकार सँगै छ र आवश्यक कदम चालिरहेको छ ।’
भूकम्पपछि अमेरिकासहित मेक्सिको, ब्राजिल, इक्वेडर र एल साल्भाडोरलगायत देशले कोलम्बियाप्रति सहानुभूति जनाएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि कोलम्बियामा गएको शक्तिशाली भूकम्पबारे अमेरिकी प्रशासनले नजिकबाट निगरानी गरिरहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले पनि आवश्यक परे सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्