नेभिगेशन
राजनीति

सुनसरी र सिरहाका चार जना सहिद घोषित

काठमाडौं । सरकारले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको  बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । 
शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै चार जनालाई सहिद घोषणा गरिएको जानकारी दिए । बैठकले नेपालमा आयात एवम् उत्पादन हुने इलेक्ट्रिक एम्बुलेन्स तथा शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र भ्याट छुट दिने निर्णय गरेको छ । 
यस्तै पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यससँगै नेपालमा पोर्चुगलको कन्सुलर सेवा सञ्चालनका लागि बाटो खुलेको छ । मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । एनसेलको सेयर स्वामित्व खरिद–बिक्रीसँग सम्बन्धित विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले तयार पारेको उक्त प्रतिवेदन अब सार्वजनिक गरिने भएको हो ।
मन्त्रिपरिषद्को बैठकले गरेका यी पाँच निर्णयमध्ये प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णयलाई सरकारले प्रमुख निर्णयका रूपमा अघि सारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्