नेभिगेशन
राजनीति

हाजिर गर्दै टाप कस्दै ‘अटेरी’ सांसद

काठमाडौं । ‘संख्या पुगेन हजुर संख्या...’ अघिल्लो प्रतिनिधिसभामा २१ सिट मात्रै रहेको रास्वपाका सांसद हरि ढकालको यो भनाइ अहिले पनि चर्चामा आइरहन्छ । जतिबेला संसद्मा रास्वपा कमजोर थियो, संख्या नपुगेकाले विधेयकमा आफ्ना कुरा सम्बोधन हुँदैनथे । दबाब दिन बल पुग्दैनथ्यो । त्यतिबेला सांसद ढकालले संसद्मा उक्त अभिव्यक्ति दिएका थिए । 
अहिले रास्वपाको संसद्मा करिब दुई तिहाइ हाराहारी सुविधाजनक मत छ । १ सय ८१ सिटसहित बलियो संख्या लिएर सरकारको एकल नेतृत्व रास्वपाको छ । तर, कुनै बेला संख्या नपुगेर हैरान रास्वपा अहिले टनाटन सांसद संसद् बैठकमा हाजिर गर्दै टाप कसिदिँदा हैरान बनेको छ । उसो त रास्वपाका सचेतक क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले बारम्बार सांसदहरुलाई संसद् बैठकमा बस्न निर्देशन दिइ नै रहेका छन् । तर, रास्वपाका सांसदहरु आउने हाजिर गर्ने र टाप कस्ने गरिररहेका छन् । 
मंगलबार प्रतिनिधिसभा बैठकमा यस्तै दृश्य देखियो । सत्तारुढ दल रास्वपाका मात्रै १ सय ८१ सांसद रहेको सभामा गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित गरियो । सभामुख डीपी अर्यालका अनुसार गणपूरक संख्याका लागि ६९ जना सांसद हुनुपर्नेमा ६१ जनामात्रै बैठकमा उपस्थित थिए । खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । यो प्रस्तावमा गणपूरक संख्या पुगेको खण्डमा सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय प्रारम्भ हुन्थ्यो । तर, गणपूरक संख्या नपुग्दा उक्त विधेयक पेस गर्ने कार्यसूची नै प्रभावित हुन पुग्यो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न सभामुखसँग आग्रह गरेका थिए । बाहिर रहेकालाई भित्र आउनैपर्ने संकेतस्वरुप ३ मिनेटसम्म घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । यसरी घण्टी बज्दा संसद् भवन बाहिर रहेका सांसदहरु भित्र प्रवेश गर्ने गर्छन् । तर, रास्वपाका सांसदहरु संसद् परिसरबाट समेत बाहिरिइसकेकाले गणपूरक संख्या नै पुगेन । त्यसपछि सभामुख  अर्यालले भदौ १ गते सम्मका लागि बैठक स्थगित गरेका छन् । 
आफ्नो पार्टीको बलियो संख्या भए पनि गणपूरक नै नपुगेकोमा रास्वपाकै सांसदहरुले लज्जित महसुस गरेका छन् । सांसद गणेश कार्की भने मंगलबार बैठकमा दिनभर नै बसे । तर, उनले कोरमसम्म नपुगेकोमा माफी मागेका छन् । ‘पारित गराउनुपर्ने हामीले नै थियो । संसद्मा हामी थोरै भयौँ ।  थोरै के, कोरमसम्म पुगेन । लाज मान्नुपर्ने ठाउँ यहीँ हो । म आफू दिनभर सदनमा उपस्थित भएको भए पनि अन्यको अनुपस्थितका कारण माफी माग्छु । गनौं भनेर हाम्रो स्वभाव सार्वजनिक गरिदिएकोमा सांसद निश्कल राईलाई धन्यवाद,’ रास्वपा सांसद  कार्कीले बैठक स्थगित भएपछि भने ।
बैठकमा रास्वपाका ५३ सांसद्को उपस्थिति थियो भने विपक्षी ८ जनामात्रै थिए । रास्वपा सांसद गोविन्द पन्थीले उपस्थिति घटेकोमा असन्तुष्टि प्रकट गरे । सदनमा उपस्थितिका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुनुपर्ने उनले बताए ।  
संसद्को मुख्य काम नै कानुन निर्माण हो । तर, कानुन निर्माणका लागि आउने  विधेयकमाथि हुने छलफल, संशोधन र दफावार छलफलमा सांसदहरूको खासै रुचि देखिँदैन । विधेयकमाथिका छलफलका बेला संसद् भवनका आधाभन्दा बढी कुर्सी  रित्ता देखिन्छन् । हाजिर गरेर दैनिक भत्ता सुरक्षित गर्ने र कानुन निर्माणका लागि आउने विधेयकमाथिको छलफलमा ध्यान नदिने प्रवृत्तिले अहिले सांसदहरुमाथि नै प्रश्न उठ्ने अवस्था बनेको छ । 
अटेरी रास्वपा सांसद
सुविधाजनक मत भएकाले सरकारले जे ल्यायो, त्यो सजिलै पारित हुन्छ । संशोधन खारेज गरिन्छन् । तारन्तार पेस भएका विधेकहरु विनाबाधा खुरुखुरु पारित भइरहँदा सत्तारुढ दल रास्वपाका सांसदहरु ढुक्क देखिएका छन् । बहुमत छँदैछ, एकाध अनुपस्थित हुँदा बैठकमा पनि के पो फरक पर्ला भन्ने उनीहरुको सोचका कारण कुर्सी धेरै खाली देखिने क्रम बढेको छ । विगतमा अन्य दलका सांसदलाई ‘हाजिरी गर्ने टाप कस्ने ?’ भन्दै प्रश्न गर्ने रास्वपा अब आफैं जवाफ दिनुपर्ने अवस्था देखिएको छ । 
रास्वपाका सांसदहरु अटेरी देखिएका छन् । सरकार आफ्नो छ । विधेयक संसद्मा मन्त्रीहरुले पेस गर्छन्, जो रास्वपाकै छन् । तर, आफ्नै दलका अधिकांश सांसदहरुमा जिम्मेवारीबोध नदेखिएको विषय स्वयं पार्टीका केही नेताले महसुस गरेका छन् । त्यसैले प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति अपेक्षाअनुसार नदेखिएपछि रास्वपाले सांसदहरूको हाजिरी विवरण जाँच गर्ने भएको छ । रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद् सचिवालयबाट हाजिरी विवरण झिकाएर विश्लेषण गरी प्रतिवेदन तयार गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएका छन् ।
पछिल्लो समय संसद् बैठकमा सांसदहरूको उपस्थिति निकै कम हुन थालेको  देखिएको छ । कतिपय सांसद बैठक सुरु हुँदा उपस्थित हुने तर बीचमै बैठक छाडेर जाने प्रवृत्ति पनि बढेको भन्दै संसदीय दलले यसलाई गम्भीर रूपमा लिएको बुर्लाकोटीले बताए । रास्वपाले असार ३० र ३१ तथा साउन १४, १८ र २२ गते बसेका प्रतिनिधिसभा बैठकको हाजिरी विवरण अध्ययन गरिररहेका बेला पनि सांसदहरु जिम्मेवार देखिएनन् । साउन २६ को बैठकमै उनीहरु अनुपस्थित हुँदा गणपूरक संख्या नै पुगेन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्