नेभिगेशन
राजनीति

‘अदालतको अन्तिम फैसला कुरौँ’

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले पार्टीको १५औं महाधिवेशन आगामी महाधिवेशनसहित पार्टीका निर्णयहरू यथास्थितिमा राख्न माग गरेको छ । साउन २९ देखि ३१ गतेसम्म गर्न लागेको इतरपक्षका राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले मंगलबार सभापति गगन थापा, केन्द्रीय कार्यसमिति, निर्वाचन आयोगलगायतलाई पत्र पठाएर महाधिवेशनसहित निर्णय यथास्थितिमा राख्न माग गरेका हुन् । विशेष महाधिवेशनको वैधता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको थियो । 
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी थिएनन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले आयोगको निर्णय नै सही ठहर गरेपछि देउवा पक्षले पार्टी कार्यालय विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई छाडिदिएको थियो । 
सर्वोच्चको उक्त निर्णयविरूद्ध देउवा र नेता पूर्णबहादुर खड्काले पुनरावेदन हालेका थिए । सर्वोच्चले पुनरवलोकन गर्ने तोकेपछि अहिले फेरि पार्टी नेताहरु दुई कित्तामा विभाजित छन् ।
विशेष महाधिवेशनको वैधताबारेको निर्णय सर्वोच्चले पुनरवलोकन गर्ने भएपछि आगामी महाधिवेशनलगायत सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न माग गर्दै शशांकले केन्द्रीय समिति, सभापति थापा र निर्वाचन आयोगलगायतमा पत्र पठाएका हुन् । कांग्रेसले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १५ औं महाधिवेशन गर्ने गरी  सार्वजनिक गरिसकेको छ । 
शशांकले पठाएको पत्रमा महाधिवेशनको प्रक्रिया रोक्न र मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णय यथास्थितिमा राख्न भनिएको छ । इतरपक्षले पत्रको बोधार्थमा सभापति थापालाई ‘तत्कालीन महामन्त्री गगन थापा’ भनेको छ । 
समानान्तर गतिविधि गर्दै आएको इतरपक्षले अलग पार्टी बनाउने तयारी गरिररहेको थियो । अदालतबाट  साउन २२ गते पुनरवलोकनको निस्सा पाएपछि पुनः उनीहरु पार्टीमा १४औं महाधिवेशनको वैधता कायम गराउन लागिपरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्