नेभिगेशन
दृष्टिकोण
पाठक–मञ्च

तरकारी बजार व्यवस्थापनमा ध्यान जाओस्

म यस लोकप्रिय पत्रिकामार्फत बुढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाको सिमाना छुट्याउने कपन क्षेत्रमा रहेको चखुंचा खोलाकिनारको तरकारी बजारको अस्तव्यस्त अवस्थाप्रति सम्बन्धित स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कपन क्षेत्र काठमाडौं उपत्यकाकै एक घना बस्ती भएको र तीव्र गतिमा विस्तार भइरहेको क्षेत्र हो । यहाँ दैनिक हजारौं उपभोक्ताहरूले उपभोग गर्ने तरकारी, खाद्यान्न, लत्ताकपडा तथा फलफूल बजारको उचित व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाले ठूलो सास्ती खेप्नुपरेको छ । 
वर्तमान समयमा कपनका विभिन्न चोक, गल्ली र विशेष गरी चखुंचा खोलाकिनाराका सडकहरूमा जथाभावी ढंगले तरकारी, फलफूल तथा लत्ताकपडाका पसलहरू सञ्चालन भइरहेका छन् । निश्चित र व्यवस्थित बजार क्षेत्र नहुँदा व्यवसायीहरूले चखुंचा खोलाकिनाराका साँघुरा बाटाहरूमा ठेलागाडा र पसलहरू राख्ने गरेका छन् । यसरी खोलाको किनारा र फुटपाथ नै ढाकेर व्यवसाय गर्दा बाटो हिँड्ने पैदलयात्रीहरूलाई आवतजावतमा चरम कठिनाइ भोग्नुपरेको छ । यसले गर्दा कपनको मुख्य तथा सहायक सडकखण्डहरूमा दैनिक रूपमा तीव्र ट्राफिक जाम हुने गरेको छ । विशेष गरी बिहान र बेलुकीको पिक आवरमा यो समस्या झनै भयावह बनेको छ । यसका साथै सडक र खोलाकिनारा अवरुद्ध हुनुका साथै यहाँ फोहोरमैला व्यवस्थापनको अर्को ठूलो चुनौती थपिएको छ । तरकारी बजारबाट निस्कने कुहिएका तरकारी र फोहोरजन्य पदार्थहरू सिधै चखुंचा खोलामा वा सडकमै फ्याँक्ने गरिएको छ । यसले गर्दा दुर्गन्ध फैलनुका साथै वर्षायाममा खोला थुनिएर सडकमै फोहोर पानी जम्ने र बाढी आउने गरेको छ । जसले गर्दा खोलाकिनाराका घरभित्र बाढीको पानी पसेर स्थानीयको बिचल्नी भएको छ । साथै खोलामा तरकारीको फोहोर फाल्नाले महामारीजन्य रोग फैलिने उच्च जोखिम बढेको छ । जसले उपभोक्ता र स्थानीय बासिन्दा दुवैको स्वास्थ्यमाथि खेलबाड भएको छ । साँघुरो बाटोमा तरकारी राख्दा जुनसुकै बेला ठूलो दुर्घटना हुने खतरा छ । साथै बजारमा मूल्य र गुणस्तर अनुगमनको संयन्त्र पनि फितलो छ । यसतर्फ सम्बन्धित स्थानीय सरकार सचेत देखिँदैन ।  
त्यसैले, बुढानीलकण्ठ नगरपालिका, काठमाडौं महानगरपालिका र सम्बन्धित स्थानीय जनप्रतिनिधिहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनु जरुरी छ । चखुंचा खोलाकिनारा र सडक मिचेर राखिएका अव्यवस्थित पसलहरूलाई तत्काल हटाई कपन क्षेत्रका लागि एउटा निश्चित, आधुनिक र व्यवस्थित एकीकृत तरकारी बजारको पहिचान गरी व्यवसायीहरूलाई त्यहाँ स्थानान्तरण गरिनुपर्छ । बजारभित्रै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरी दैनिक विसर्जन गर्ने प्रणाली बसाल्नुपर्छ । स्थानीय सरकारले नियमित रूपमा बजारको अनुगमन चुस्त बनाउन जरुरी छ । अतः सम्बन्धित स्थानीय सरकारले यस जनसरोकारको विषयमा अविलम्ब कदम चाल्नेछ भन्ने विश्वास लिएकी छु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्