नेभिगेशन
प्रदेश

कोशी सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीहरूको सामूहिक राजीनामा

उदयपुर । केन्द्रमा बदलिएको राजनीतिक राजनीतिक कोर्स र शीर्ष दलहरूबीचको नयाँ सहमतिसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिएको छ। विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा बुधबार कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। यससँगै झण्डै दुई वर्षदेखि सत्ताको बागडोर सम्हालेको कांग्रेस अब कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षको भूमिकामा देखिने भएको छ।
केन्द्रमा प्रमुख प्रतिपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी र सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेबीच प्रदेश सरकारहरूको नयाँ समीकरण बनाउने विषयमा समझदारी बनेपछि कोशीमा यो हलचल आएको हो । राजीनामा दिनुअघि कांग्रेसका मन्त्रीहरू मुख्यमन्त्री कार्कीले डाकेको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए। उक्त बैठकमा मुख्यमन्त्री कार्कीले अहिलेसम्मको सत्ता सहकार्य र राजनीतिक एकताका लागि धन्यवाद दिँदै मन्त्रीहरूलाई बिदाई गरे । 
एमाले र नेकपाबीच साउनको दोस्रो हप्तामा भएको तीन बुँदे सहमति अनुसार नै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफ्ना मन्त्रीहरूलाई तत्काल सरकार छाड्न निर्देशन दिएका थिए । मुख्यमन्त्री कार्कीलाई बुझाइएको यो सामूहिक राजीनामा स्वीकृतिका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरिनेछ।
सरकारबाट बाहिरिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् । एमाले र कांग्रेसबीचको पूर्वसहमति अनुसार २०८१ भदौ २८ गते पहिलो पटक सरकारमा भित्रिएको कांग्रेसका यी मन्त्रीहरू मन्त्रिपरिषद् पुनर्गठन हुँदा २०८२ पुस २२ गते पुनः नियुक्त भएका थिए। केन्द्रको नयाँ निर्णयले प्रदेशको सत्ता गणित बदलिएपछि कोशीमा अब एमाले र नेकपाको नयाँ संयुक्त सरकार गठनको गृहकार्य सुरु भएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्