नेभिगेशन
राजनीति

देउवालाई भव्य स्वागतको तयारी

काठमाडौं । कांग्रेसको संस्थापनइतर समूहले पार्टीका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । हङकङमा रहेका देउवा बिहीबार स्वदेश फर्किन लागेका छन् । गत फागुन १३ मा स्वास्थ्योपचारको फलोअपका लागि सिंगापुर गएका देउवा उतैबाट हङकङ गएका थिए ।  
उनी प्रतिनिधिसभा निर्वाचनका बेला आइपुगेनन् । विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई पार्टी जिल्ला लगाएपछि उनी चुपचाप थिए । झण्डै पाँच महिनापछि उनी फर्कन लागेका हुन् । उनलाई कांग्रेसइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने बताएको छ । देउवा पक्षधरले राष्ट्रिय भेला बोलाएको छ । भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन् । देउवालाई स्वागत गर्न इतरपक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालासहितका शीर्ष नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्ने बताइएको छ । सो क्रममा कांग्रेसइतरपक्ष निकट नेता, कार्यकर्ता र नेविसंघ, तरुण दल लगायतका भ्रातृ संस्थाहरुले जुलुस निकाल्ने तयारी गरेका छन् । 
देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने छन् । उनी थाई एयरबाट स्वदेश फर्किँदैछन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ मा भएको सांघातिक आक्रमणमा परी देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा घाइते भएका थिए । 
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् । इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् । तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा ५ हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।
उक्त भेलामा यसअघि सहभागी नहुने बताइएका पूर्व उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी हुने भएका छन् । राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले बुधबार खड्कालाई भेट गरेपछि उनी भेलामा जान तयार भएका हुन् । अर्का नेता डा.शेखर कोइराला पनि भेलामा सहभागी हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्