नेभिगेशन
विश्व

ताइवानमा चिनियाँ प्रभावको आरोप, महिलालाई ७ वर्ष कैद

बैंकक (एपी) – चीनसँगको सम्बन्ध र ताइवानको राजनीतिमा चिनियाँ प्रभाव बढाउन भूमिका खेलेको आरोपमा ताइवानमा एक महिलालाई सात वर्षको जेल सजाय सुनाइएको छ । चिनियाँ मूलकी ताइवानी नागरिक स्यु चुन–यिङलाई चिनियाँ सरकारी अधिकारी र उनीहरूका प्रतिनिधिसँग मिलेर ताइवानको राजनीतिमा प्रभाव पार्न खोजेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।
न्यु ताइपेई सहरस्थित अदालतले मंगलबार स्युले घुसपैठविरोधी कानुन उल्लंघन गरेको तथा उचित बैंकिङ प्रणालीबाहिरबाट चीनबाट २ करोड ४५ लाख नयाँ ताइवानी डलर अर्थात् करिब ७ लाख ६० हजार अमेरिकी डलर रकम स्थानान्तरण गरेको भन्दै बैंकिङ कानुनसमेत उल्लंघन गरेको ठहर गरेको हो ।
स्यु स्वयं चीनमा जन्मिएकी हुन् । विवाहपछि उनी ताइवान आएकी थिइन् र पछि ताइवानी नागरिकता प्राप्त गरेकी थिइन् । चीनमा जन्मिएर विवाहका माध्यमबाट ताइवान आइपुगेका महिलालाई ‘मुख्यभूमि पत्नी’ भनेर चिनिन्छ । चीन र ताइवानबीच तनाव बढिरहेका बेला यो समुदायलाई लामो समयदेखि शंकाको दृष्टिले हेर्ने गरिएको छ ।
सन् १९४९ मा चिनियाँ गृहयुद्धपछि चीन र ताइवान अलग भएका थिए । चीनले स्वशासित ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ । पछिल्ला वर्षमा चीनले ताइवान वरिपरि नियमित रूपमा लडाकु विमान र नौसैनिक जहाज परिचालन गर्दै सैन्य दबाब बढाउँदै आएको छ । त्यसको जवाफमा ताइवानले आफ्नो रक्षा क्षमता विस्तार गर्नुका साथै हतियार खरिदलाई तीव्र बनाएको छ ।
ताइवान सरकारले स्युको मुद्दामा चीनका लागि सूचना संकलन गर्ने तथा ताइवानको राजनीतिमा प्रभाव पार्ने प्रयास भएको दाबी गरेको छ । अभियोजन पक्षले स्यु र चीनको नागरिक मामिला मन्त्रालयका एक निर्देशकबीच भएका संवादसमेत सार्वजनिक गरेको थियो । ती संवादमा ताइवानको राजधानी ताइपेईको मेयर निर्वाचनदेखि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनसम्म मुख्यभूमिबाट आएका जीवनसाथीलाई सांसद बनाउने उद्देश्यले कुन राजनीतिक दललाई समर्थन गर्ने भन्ने विषयमा छलफल भएको देखाइएको थियो ।
अभियोजन पक्षका अनुसार स्युले चीनको नागरिक मामिला मन्त्रालयअन्तर्गत क्रस–स्ट्रेट विवाह तथा परिवार सेवा केन्द्रका निर्देशक याङ वेन्ताओ र चीनको सांघाईस्थित चिनियाँ कुओमिन्ताङको क्रान्तिकारी समितिका उपप्रमुख सुन सियानसँग पटक–पटक भेट गरेकी थिइन् ।
अभियोजन पक्षले स्यु र याङले ताइपेईको मेयर पदकी स्वतन्त्र उम्मेदवार ह्वाङ सान–सानलाई समर्थन गर्न समन्वय गरेको दाबी गरेको छ । ह्वाङ पछि ताइवान पिपुल्स पार्टीमा आबद्ध भएकी थिइन् । त्यसपछि उनीहरूले दिएको निर्देशनअनुसार स्युले ताइवान पिपुल्स पार्टीका संस्थापक तथा राष्ट्रपतीय उम्मेदवार को वेन–चेलाई समेत समर्थन गर्दै प्रचार गरेको अभियोजन पक्षको भनाइ छ ।
स्यु केही समय ताइवान पिपुल्स पार्टीबाट सांसदको उम्मेदवार बन्ने चर्चामा समेत थिइन् । तर चीनसँग सम्बन्ध र निष्ठामाथि प्रश्न उठेपछि उनी उम्मेदवारीबाट पछि हटेकी थिइन् । सन् २०२४ मा उनले आफूले केवल ‘नयाँ बासिन्दा’ अर्थात् विदेशबाट ताइवानमा आएर बसोबास गर्ने समुदायको सेवा गर्न चाहेको बताएकी थिइन् ।
स्यु पछिल्लो समय क्रस–स्ट्रेट विवाह तथा परिवार सेवा गठबन्धनको प्रमुख थिइन् । उक्त संस्थाले आफ्ना निर्देशकहरूको निर्वाचन तोकिएको समयमा नगरेको भन्दै ताइवानको गृह मन्त्रालयले गत मे महिनामा विघटन गरिदिएको थियो ।

यद्यपि, स्युको मुद्दामा अदालतको फैसलालाई लिएर आलोचना पनि भएको छ । उनका समर्थक तथा मुख्यभूमि (मेनल्याण्ड)बाट आएका जीवनसाथीको अधिकारका पक्षमा वकालत गर्दै आएका लेखक तथा अभियन्ता साङगुआनलुआनले अभियोगको भाषा अस्पष्ट रहेको बताएका छन् । उनका अनुसार सरकारले आरोपको स्पष्ट सीमा निर्धारण नगरेर आफूअनुकूल कानुन प्रयोग गर्ने बाटो खुला राखेको छ ।
ताइवानमा चीनसँग सम्बन्धित जासुसी, राजनीतिक प्रभाव र प्रविधि तस्करीका घटनाप्रति पछिल्लो समय चिन्ता बढ्दै गएको छ । सन् २०२५ मा चीनसँग ताइवानको एकीकरणका लागि सैन्य बल प्रयोग गर्नुपर्ने पक्षमा वकालत गरेको आरोपमा ताइवानले तीन चिनियाँ मूलका जीवनसाथीलाई देश निकाला गरेको थियो । ताइवानी अध्यागमन अधिकारीहरूले ताइवानको नागरिकता प्राप्त गरिसकेका करिब १२ हजार मुख्यभूमि जीवनसाथीलाई चीनमा रहेको आफ्नो घरपरिवार दर्ता रद्द गरेको प्रमाण पेस गर्नसमेत आदेश दिएका थिए ।
यसअघि ताइवानी अधिकारीहरूले चीनतर्फ उन्नत प्रविधि तस्करीको आशंकामा अनुसन्धानसमेत अघि बढाएका थिए । गत मार्चमा तीन जनाले उन्नत एनभिडिया चिप जडित सुपर माइक्रोका कम्प्युटर सर्भर चीनतर्फ तस्करी गर्न खोजेको आरोपमा अनुसन्धान गरिएको थियो । त्यसैगरी गत वर्ष ताइवानका राष्ट्रपतिको सुरक्षा टोलीमा कार्यरत तीन जनासहित चार सैनिकलाई चीनलाई संवेदनशील सूचना दिएको अभियोगमा अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो।
सैन्य तथा राजनीतिक तनाव चुलिँदै जाँदा ताइवानले चीनबाट हुने सम्भावित राजनीतिक हस्तक्षेप, जासुसी र प्रभाव विस्तारका गतिविधिमाथि निगरानी तथा कानुनी कारबाहीलाई थप कडा बनाउँदै आएको छ । स्यु चुन–यिङको मुद्दाले भने चीनमा जन्मिएका तर ताइवानमा बसोबास तथा नागरिकता प्राप्त गरेका व्यक्तिहरूमाथि राष्ट्रिय सुरक्षाका नाममा गरिने निगरानी र उनीहरूको राजनीतिक अधिकारबीचको बहसलाई थप तीव्र बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्