शैक्षिक सुधारका लागि विद्यालयहरूले विविध उपाय अबलम्वन गरेका छन् । ती उपाय एकअर्का विद्यालयका लागि पनि उत्तिकै उपयोगी छ । कान्ति मावि बुटवलले गुणस्तर सुधार्ने पञ्चवर्षीय योजना बनाई लागू गरेको छ ।
सरस्वती मावि मोरङले छिमेकी विद्यालयहरूसँग सहकार्य गर्ने गरेको छ । छात्रा बचत कार्यक्रम लागू गरेको छ । आमा समूहलाई परिचालन गरेको छ । वागीश्वरी मावि भक्तपुरले नजिकका विद्यालयहरूको क्लस्टर बनाई एकअर्कालाई सघाइरहेको छ । मनकामना रत्न अम्बिका मावि संखुवासभाले टोलस्तरीय विद्यालय सहयोग समिति बनाएर काम गरेको छ । नेतृत्वलाई विकेन्द्रीकरण गरेको छ ।
सरस्वती मावि कपिलवस्तुले गोला छानेर नेतृत्व विकास गर्ने प्रबन्ध मिलाएको छ । गीतबाट सिकाउने गरेको छ । सिकाइ मूल्यांकन र पुनः सिकाइको अभ्यास लागू गरेको छ । विद्यार्थी नआए निजको घरमै शिक्षक जाने प्रबन्ध गरेको छ । जनज्योति आवि मुस्ताङले तीन महिना डुल्ने विद्यालय चलाउने गरेको छ । विद्यालयको भान्सामा गाउँकै उत्पादन प्रयोग गरेको छ । स्याउखेती गरेको छ ।
छन्ना तिंकर कन्या मावि दार्चुलाले समाजमै लगेर सामाजिक शिक्षा पढाउने गरेको छ । हर्षित बालिका अक्षयकोषको स्थापना गरेको छ । विद्यार्थी, शिक्षक तथा कर्मचारीको जन्मदिनमा विद्यालयलाई उपहार दिने प्रबन्ध मिलाएको छ ।
त्यस्तै, अमरज्योति मावि सुर्खेतले महिनैपिच्छे कसरी विद्यालय सुधार्ने भन्ने कुरामा संवाद गर्ने गरेको छ । अभिभावकलाई सम्मान तथा पुरस्कार दिने गरेको छ । बालकल्याण मावि रोल्पाले सिकाइ सप्ताह सञ्चालन गरेको छ । घुम्ती अभिभावक भेलाको आयोजना गरेको छ । स्टिम ल्याब बनाएको छ ।
चुरे मावि बर्दियामा विद्यार्थीले शिक्षकको रेकर्ड राख्ने गरेका छन् । विद्यार्थी, शिक्षक तथा कर्मचारी जन्मदिन अक्षयकोष स्थापना गरेको छ । पुस्तकविहीन शुक्रबारको थालनी गरेको छ । विद्यालयमा बालिका परामर्श तथा आराम कक्ष सञ्चालित छ ।
जनक मावि नवलपरासीले अभिभावकसँग सहकार्य गरेको छ । शैक्षिक सामग्री प्रदर्शन गर्ने गरेको छ । समुदायको सहयोगमा पञ्चेबाजा बजाउन सिकाएको छ । दुनाटपरी गाँस्न सिकाएको छ । बत्ती कात्ने तथा भजनकीर्तिन गर्ने प्रबन्ध मिलाएको छ ।
आदर्श सौल युवक मावि ललितपुरले वैयक्तिक शिक्षणमा जोड दिएको छ । अभिभावक सहकार्य गरेको छ । समावेशी शिक्षा कार्यान्वयन गरेको छ । धवलागिरि बहिरा आवासीय विद्यालय बागलुङले प्राविधिक शिक्षा दिएको छ । दोभाषे शिक्षकको उपयोग गरेको छ । शिक्षकलाई आफैंले तालिम दिएको छ ।
प्रा. विद्यानाथ कोइराला
मार्मा मावि सोलुले विद्यार्थीबाट तयार पारिएका बिउ तथा बेर्ना किसानलाई वितरण गरेको छ । जनता मावि बर्दिवासले सामाजिक एवम् सांस्कृतिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गरेको छ । जीवन जिउने कला सिकाएको छ । क्लबहरूलाई परिचालन गरेको छ । पद्मकन्या विद्याश्रम डिल्लीबजारले शिक्षकलाई पेसागत तालिम दिएको छ । समुदायसँग साझेदारी गरेको छ । विद्यालयमै सांस्कृतिक पर्व मनाउने गरेको छ ।
पार्वती मावि दैलेखले समुदायलाई सिक्ने थलो बनाएको छ । अभिभावकलाई प्रोत्साहन गरेको छ । पब्लिक मावि धरानले किस्ताबन्दीमा तिर्ने गरी शिक्षकलाई ल्यापटप दिएको छ । सबैसँग समन्वय र सहकार्य गरेको छ । राम तुलसी मावि पाल्पाले शिक्षकलाई प्रोत्साहित गर्ने अनेकन कार्य गरेको छ । खाजासँगै आमालाई विद्यालयमा भित्र्याएको छ । अभिभावक सहयोग लिएको छ ।
गोपाल सरयुम नायक जनता मावि सिराहाले समुदाय तथा बाल क्लबहरूको परिचालन गरेको छ । जननमूना मावि सुर्खेतले शिक्षक तथा अभिभावकलाई अद्यावधिक गरेको छ । विद्यार्थी नेतृत्वलाई स्थान दिएको छ ।
सुम्निमा मावि पाँचथरले कमजोर विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन गरेको छ । अभिभावकलाई क्रियाशील बनाएको छ । परीक्षाको नतिजा विश्लेषण गरी आवश्यक पृष्ठपोषण दिने गरेको छ । शिक्षक–कर्मचारीलाई सम्मान गरेको छ ।
भद्रकुमारी राष्ट्रिय आवि चितवनले हरेक हप्ता कसरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने भनी शिक्षकसँग संवाद गरेको छ । अरू विद्यालयले पनि अनेकन नमूना अभ्यासहरू गरेका छन् । तर, तिनीहरू ओझेलमा परेका छन् । तिनलाई बाहिर ल्याउन पालिकाको वेबसाइटमा पोर्टल बनाउन सकिन्छ ।
आफ्ना विद्यालयले गरेका असल अभ्यासको संकलन गर्न सकिन्छ । यसका लागि जसले चासो लिए पनि हुन्छ । ‘शिक्षक महासंघले, विद्यालय व्यवस्थापन समिति महासंघले, विद्यालय स्वयंले, विद्यालय क्लस्टरले,’ यसो गर्नासाथ पालिकाले विद्यालयका असल अभ्यासको संकलन गर्ने पोर्टल बनाउँछन् ।
विद्यालयले त्यसमा आफ्ना विद्यालयका असल अभ्यासहरू अपलोड गर्छन् । यसका लागि हामी तयार हुनासाथ एकअर्कासँग प्रविधिमार्फत सिक्ने सिकाउने काम हुन्छ । हाम्रो शिक्षाचित्र स्वतः सुध्रिन्छ ।
- शिक्षा पत्रकार समूहको प्रकाशन ‘विद्यालय चित्र’बाट ।