नेभिगेशन
राजनीति

देउवा पाँच महिनापछि फर्किए स्वदेश

शक्ति होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँः शेरबहादुर देउवा

काठमाडौं । कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्कंदा उनी पक्षधर नेता–कार्यकर्ताले भव्य स्वागत गरेका छन् । उपचारको फलोअपका लागि भन्दै गत फागुन दोस्रो साता सिंगापुर गएका उनी त्यतैबाट हङकङ गएर बसिरहेका थिए । बिहीबार नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित कांग्रेस नेता–कार्यकताले स्वागत गरेका हुन् । 
देउवा र उनकी पत्नी आरजुलाई सरकारले रेडकर्नर नोटिस जारी गर्दै पक्राउ गरेर नेपाल ल्याउन खोजेको थियो । तर, मनासिब कारण पेस गर्न नसक्दा इन्टरपोलले नेपाल सरकारको आग्रह अस्वीकार गर्दा पक्राउ प्रयास विफल भएको थियो । पछि अदालतले देउवालाई पक्राउ नगर्नू भन्ने आदेश दिएको थियो । जेनजी आन्दोलनको मौकामा बुढानीलकण्ठस्थित उनको निवासमा पसेको भीडले देउवा दम्पतीमाथि दुव्र्यवहार गरेको थियो । कुटपिटबाट दुवै घाइते भएका थिए । देउवा दम्पतीले सुरुको एक महिना काठमाडौं, पछि सिंगापुरमा उपचार गराएका थिए । दोस्रोपटक फलोअपका लागि भन्दै देउवा पुनः सिंगापुर उडेका थिए । हङकङ बसिरहेका दम्पतीमा बिहीबार देउवा एक्लै काठमाडौं उत्रिएका हुन् । 
स्वदेश फर्किएलगत्तै देउवाले अपिल जारी गर्दै आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको बताएका छन् । उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट स्वदेश फर्कंदा राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू एक हुनुपर्ने सन्देश दिएको स्मरण गर्दै अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । 
देउवाले प्रतिशोधको बाटो नभई मेलमिलाप र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् । आफू नेता बन्ने उद्देश्यले नभई आजीवन नागरिकका रूपमा देशको सेवा गर्न फर्किएको उनको भनाइ छ ।
कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टी एकताबद्ध भएर अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस कुनै व्यक्तिको इगोमा नभई जनताको सर्वोच्च हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ । आफूले अब राजनीतिक रूपमा लिनुपर्ने केही नरहेको उल्लेख गर्दै देउवाले युवाहरूलाई अघि बढ्न आग्रह गरे । तर, पाका र अनुभवी नेताहरू सबै खराब हुन् भन्ने भाष्य निर्माण गर्न नहुने उनको धारणा छ । पार्टीभित्रका नेता–कार्यकर्ताको भावनालाई पुनः जोडेर कांग्रेसलाई एकताबद्ध बनाउने समय आएको भन्दै देउवाले त्यसका लागि सबै नेता तथा कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन् । 
विज्ञप्तिमा नरम सुनिएका देउवा कांग्रेसइतरपक्षको सम्पर्क कार्यालयमा भने गरम सुनिए । उनले विगतमा आफूलाई शाही आयोग बनाएर तत्कालीन राजा ज्ञानेन्द्र शाहले फसाउन खोज्दा नसकेको भन्दै अरूले पनि नसक्ने बताए । ‘राजा ज्ञानेन्द्रले त सकेन अरूले सक्छ ?,’ देउवाले भने, ‘नेपाली जनता सबैभन्दा ठूलो मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ ।’ अदालतले आफूलाई पञ्चालयतकालदेखि नै निष्पक्ष न्याय दिएको र अब पनि दिने उनले विश्वास व्यक्त गरे । ‘भोलि फेरि पनि हामी लड्नेछौं । सत्यको जित हुन्छ,’ उनले भने ।
इतरपक्षको चुनदेवीस्थित कार्यालयमा देउवाका लागि सभापति लेखिएको नेमप्लेट राखिएको छ । विमानस्थलबाट देउवा चुनदेवी कार्यालय पुगेका थिए । 
देउवालाई संस्थापनको स्वागत 
देउवा फर्कंदा विमानस्थल नपुगेको संस्थापन पक्षले पनि केन्द्रीय समिति बैठकबाटै स्वागत गर्ने निर्णय गरेको छ । सानेपामा जारी केन्द्रीय समिति बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गदै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । ‘कांग्रेसको गर्विलो इतिहास निर्माणमा उहाँको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ । पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ,’ कांग्रेस केन्द्रीय समितिको निर्णय छ । 

राष्ट्रिय भेला आज
कांग्रेसइतर पक्षको राष्ट्रिय भेला आजबाट सुरु हुने भएको छ । काठमाडौंको एक पार्टी प्यालेसमा हुने भेलालाई देउवाले उद्घाटन गर्नेछन् । भेलाका संयोजक डा.शशांक कोइरालाले तीन दिन चल्ने राष्ट्रिय भेलाले पार्टी एकताको वातावरण बनाउने विश्वास व्यक्त गरेका छन् । 
‘नेपाली कांग्रेसको गौरवशाली इतिहास, वर्तमान चुनौती र भविष्यको दिशाबारे गम्भीर छलफल गर्दै पार्टीमा सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्ने उद्देश्यका साथ श्रावण २९, ३० र ३१ गते आयोजना हुने राष्ट्रिय भेलामा यहाँहरूको गरिमामय सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछ,’ उनले भनेका छन्, ‘विचार राखौं, संवाद गरौं र नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध तथा पार्टीलाई जनमुखी बनाउने अभियानमा सहभागी बनौं ।’ 
कांग्रेसको वैधता विशेष महाधिवेशनले पाएपछि इतरपक्षले राष्ट्रिय भेलाबाट नयाँ पार्टी बनाउने तयारी गरेको थियो । तर, विशेष महाधिवेशनको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा पाएपछि इतरपक्ष १४औं महाधिवेशनबाट बनेको देउवा नेतृत्वकै कार्यसमितिले मान्यता पाउने विश्वासमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्