नेभिगेशन
विश्व

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु, सुनामीको चेतावनी

काठमाडौँ । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ. अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो शक्तिशाली भूकम्प स्थानीय समय अनुसार बिहान ४:५८ बजे (नेपाली समय अनुसार बिहान पौने ५ बजेतिर) जमिनको सतहबाट करिब १५ किलोमिटर गहिराइमा गएको हो. भूकम्पको मुख्य केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेस टापुमा पर्ने एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर-पश्चिम समुद्री क्षेत्रमा रहेको थियो ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पका कारण हालसम्म कम्तीमा २ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ, जसमा एक पुरुष र एक महिला रहेका छन्. भूकम्पको कडा धक्काका कारण फ्लोरेस टापु र आसपासका नगेकेओ तथा बिमा क्षेत्रमा करिब एक मिनेटसम्म मानिसहरूले तीव्र कम्पन महसुस गरेका थिए. भूकम्पका कारण माउमेरे बन्दरगाह टर्मिनलको प्रतिक्षालय भत्किएको छ भने धेरै घर र भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणहरूले देखाएका छन् । 
भूकम्पलगत्तै इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी एजेन्सीले पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा क्षेत्रका लागि ३ मिटरसम्म अग्लो सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरेको थियो. चेतावनी लगत्तै तटीय क्षेत्रका हजारौँ बासिन्दाहरू मोटरसाइकल र अन्य माध्यमबाट सुरक्षित तथा उच्च पहाडी भूभागतर्फ भागेका थिए. तटीय क्षेत्रहरूमा १ मिटरभन्दा कम उचाइका सुनामीका छालहरू रेकर्ड गरिए पनि केही समयको निरन्तर अनुगमनपछि अधिकारीहरूले सुनामीको खतरा टरेको भन्दै उक्त चेतावनी फुकुवा गरेका छन् ।
मुख्य धक्कापछि उक्त क्षेत्रमा लगातार ५.९, ५.६ र ६.१ म्याग्निच्युडका शक्तिशाली पराकाम्पनहरू  गइरहेका छन् । पराकाम्पनको जोखिम कायमै रहेकाले विपद् व्यवस्थापन एजेन्सीले स्थानीय बासिन्दाहरूलाई शान्त रहन र चर्किएका वा संरचनात्मक क्षति भएका भवनहरूभित्र प्रवेश नगर्न कडा आग्रह गरेको छ. इन्डोनेसिया प्रशान्त महासागरको 'रिङ अफ फायर' क्षेत्रमा अवस्थित भएकाले यहाँ बारम्बार यस्ता विनाशकारी भूकम्प जाने गर्दछन्. यसअघि सन् १९९२ मा फ्लोरेस टापुमै आएको यस्तै शक्तिशाली भूकम्प र सुनामीका कारण २५ सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।
प्रभावित क्षेत्रमा अहिले सरकारी अधिकारी, सुरक्षाकर्मी र उद्धार टोलीहरू द्रुत रूपमा परिचालन गरिएका छन् भने क्षतिको पूर्ण र वास्तविक विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्