नेभिगेशन
विश्व

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

कम्तीमा ४७ जनाको मृत्यु, दर्जनौं घाइते, ठूलो भौतिक क्षति

इन्डोनेसिया (एपी) – इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको भूकम्प गएको छ । शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। भूकम्पका कारण भवनहरू भत्किनुका साथै पहिरो गएपछि कयौं गाउँ सम्पर्कविहीन भएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
भूकम्पपछि सुनामी आउनसक्ने भन्दै सतर्ककताको सूचना जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानतर्फ जान आग्रह गरिएको थियो । तर समुद्री सतहको अनुगमन गर्दा तटीय बस्तीलाई जोखिम पार्ने गरी ठूलो परिवर्तन नदेखिएपछि सूचना फिर्ता लिइएको इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायले जनाएको छ । यद्यपि केही स्थानमा साना सुनामीका छाल पुगेका थिए ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५ः५८ बजे पूर्वी इन्डोनेसियाको फ्लोरेस क्षेत्रमा १० किलोमिटर गहिराइमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु पूर्वी नुसा तेंगारा प्रान्तको एन्डे सहरबाट ६८ किलोमिटर उत्तर–उत्तरपश्चिममा थियो । त्यसपछि कम्तीमा २३५ परकम्प गएका छन्, जसमध्ये सबैभन्दा शक्तिशाली ६.२ म्याग्निच्युडको थियो ।
समुद्री सतह अनुगमन केन्द्रहरूले मांगराई र पूर्वी मांगराई क्षेत्रमा रहेका तटीय गाउँमा साना सुनामीका छाल पुगेको पुष्टि गरेका छन् । भिडियोमा न्गादा जिल्लाको रिउङ तटीय गाउँ हिलो र भग्नावशेषले ढाकिएको देखिएको छ । त्यहाँ १.६१ मिटर अग्लो सुनामी आएको मौसम निकायले जनाएको छ । सुनामीपछि माछा मार्ने डुंगा किनारमा थुप्रिएका थिए भने भौतिक संरचनामा क्षति पुगेको थियो ।

एन्डे जिल्लाको माउरोलेमा ०.९४ मिटर अग्ला छाल मापन गरिएको थियो । दक्षिण सुलावेसीको बुलुकुम्बा र बिमा जिल्लाको सापेमा पनि ०.५ मिटरभन्दा अग्ला सुनामीका छाल पुगेका थिए ।
राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रमुख सुहार्यान्तोका अनुसार उद्धारकर्ताले सिक्का, मांगराई र पूर्वी मांगराई क्षेत्रमा कम्तीमा ४७ शव फेला पारेका छन् । कम्तीमा ५० जनालाई अस्पताल लगिएको छ । भूकम्पले कम्तीमा १५७ घर पूर्णरूपमा भत्काएको र करिब २०० घरमा क्षति पु¥याएको छ । करिब २ हजार गाउँलेलाई घर छाडेर अस्थायी आश्रयस्थलमा बस्नुपरेको छ । विद्यालय, स्वास्थ्य केन्द्र र चर्चसहित १०० भन्दा बढी सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ ।
सिक्का जिल्लाका खोज तथा उद्धार कार्यालय प्रमुख फथुर रहमानका अनुसार फ्लोरेस द्वीपका ६ जिल्लाका दुर्गम गाउँमा भूकम्पपछि गएको पहिरोले बस्ती पुरिनुका साथै सडक तथा अन्य पूर्वाधार अवरुद्ध भएका छन् । ‘केही दुर्गम गाउँ पूर्णरूपमा पुरिएका छन्,’ उनले भने ।
पूर्वी नुसा तेंगारा प्रहरी प्रमुख रुडी दार्मोकोले विद्युत् अवरुद्ध हुँदा क्षतिको सूचना संकलन र उद्धार कार्यमा कठिनाइ भएको बताए । उनका अनुसार एन्डे जिल्लामा भूकम्पपछि गएको पहिरोले फ्लोरेसलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्ग अवरुद्ध भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि तीन हेलिकोप्टर र एउटा उद्धार जहाज परिचालन गरिएको छ । पूर्वी नुसा तेंगारा थुप्रै द्वीप मिलेर बनेको क्षेत्र भएकाले प्रभावित बस्तीमा पुग्न यातायात र पहुँचको चुनौती रहेको अधिकारीहरूले बताएका छन् ।
सिक्कामा बस्ने योहाना एम्बुका अनुसार भूकम्पका बेला मानिसहरू डराएर अग्लो स्थानतर्फ भागेका थिए । ‘यहाँ धेरै भवनमा क्षति पुगेको छ । माउमेरे बन्दरगाहको प्रतीक्षालय पनि भत्किएको मैले देखें,’ उनले भनिन् ।

सिक्कास्थित सेन्ट पिटर मेजर सेमिनरीमा बिहानको प्रार्थनामा सहभागी विद्यार्थीहरू सभा भवनको छाना भत्किन थालेपछि भागेका थिए । सेमिनरीका प्रमुख पादरी गुइडेलबर्टुस तांगाका अनुसार ‘विद्यार्थी र ननहरू भत्किँदै गरेको छानामुनिबाट त्रसित हुँदै बाहिरिए ।’ उनका अनुसार भूकम्पका क्रममा दोस्रो तलाबाट हाम फाल्दा एक पादरीको खुट्टा भाँचिएको थियो ।
भूकम्पको धक्का पूर्वी इन्डोनेसियाको प्रवेशद्वार मानिने लाबुआन बाजो तथा छिमेकी पश्चिम नुसा तेंगारा प्रान्तको बिमा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा पनि महसुस गरिएको थियो ।
इन्डोनेसियामा शनिबार दिउँसो पश्चिमी क्षेत्रमा पर्ने उत्तर सुमात्रा प्रान्तमा ६.९ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्पसमेत गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । उक्त भूकम्प १७२.५ किलोमिटर गहिराइमा गएको भएकाले ठूलो क्षति वा मानवीय हताहती नभएको इन्डोनेसियाली अधिकारीहरूले बताएका छन् ।
इन्डोनेसिया १७ हजारभन्दा बढी द्वीप रहेको देश हो । प्रशान्त महासागरको रिङ अफ फायर क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखी विस्फोटको जोखिम उच्च छ ।
सन् १९९२ मा फ्लोरेसमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब २ हजार ५०० जनाको मृत्यु भएको थियो । सन् २०१८ मा ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको स्थानीय सुनामीले तटीय क्षेत्र तहसनहस बनाउँदा ४ हजार ४०० भन्दा बढी मानिसको ज्यान गएको थियो ।
सन् २००४ को डिसेम्बरमा सुमात्राको तटबाहिर गएको ९.१ म्याग्निच्युडको भूकम्पले उत्पन्न गरेको सुनामीमा १२ देशका करिब २ लाख ३० हजार मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्