नेभिगेशन
नेपाल

कर तिर्ने समय एक महिना थप

काठमाडौँ - सरकारले कर तिर्ने समय एक महिना थपेको छ । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै साउन महिनाको कर भदौ २५ गतेभित्र बुझाइसक्नुपर्नेमा एक महिना समय थपिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

कानूनअनुसार साउन महिनाको कर भदौ २५ गतेभित्र तिर्नुपर्नेमा एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । ‘कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ । छिट्टै राजपत्रमा सूचना प्रकाशित हुन्छ’, उनले भने ।

मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको जनाइएको छ ।

जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमबाट उद्योगी व्यवसायीहरूले तोकिएको समयमा कर तिर्न नपाएको भन्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई आग्रह गरेका थिए । मंगलबार दिउँसो निजी क्षेत्रसँगको भेटका क्रममा अर्थमन्त्री खनालले कर तिर्ने समय एक महिना थप गर्ने आश्वासन दिएका थिए ।

यस्तै, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गरिने पनि अर्थमन्त्री खनालले बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्