नेभिगेशन
प्रदेश

मेयर–अधिकृत विवादले चन्द्रपुरको खातै रोकियो

रौतहट । चन्द्रपुर नगरपालिकाको आर्थिक कारोबार प्रभावित भएको छ । नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालबीचको विवादले यस्तो भएको हो । नगरसभा भएको लामो समय बितिसक्दा पनि बैंक खाता सञ्चालन हुन नसकेपछि भुक्तानी, विकास निर्माण, कार्यालय सञ्चालन लगायत नियमित आर्थिक गतिविधि प्रभावित भएका छन् ।
नगरसभा साउन पहिलो साता नै भएर बजेट तथा कार्यक्रम पारित भएको थियो । प्रमुख प्रशासकीय अधिकृत ढकालको नाममा बैंक खाता सञ्चालन गर्ने विषयमा नगर प्रमुख काफ्लेले असहमति राख्दा आर्थिक कारोबार ठप्न भएको हो । खाता चलाउन अवरोध हुँदा विभिन्न शीर्षकमा हुने भुक्तानी, विकास आयोजनाका काम, कार्यालय सञ्चालन तथा अन्य आर्थिक दायित्व प्रभावित भएका छन् । असर नगरपालिकाको दैनिक प्रशासनिक कामसँगै नगरबासीलाई दिने सेवामा पनि परेको छ ।
नगर प्रमुख काफ्लेले विवाद व्यक्तिगत नभई आर्थिक पारदर्शिता र प्रशासनिक जवाफदेहितासँग जोडिएको दाबी गरेका छन् । उनका अनुसार पालिकाको आम्दानी, खर्च, भुक्तानी र विभिन्न शाखाको कामको प्रगति विवरण उपलब्ध गराउन आग्रह गरिएको हो । ‘हामीले पालिकाले गरेका आम्दानी, खर्च तथा भुक्तानीको हिसाब विवरण देखाइदिन मात्र भनेका हौँ,’ काफ्लेले भने, ‘जनतालाई पनि नगरपालिकाले के ग¥यो भनेर देखाउनुपर्छ ।’
काफ्लेले साउन १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाउँदै ढकालको कार्यक्षमतामाथि प्रश्न उठाएर उनको सरुवाको माग गरेका छन् । उनले सिन्धुलीको कमलामाई नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीलाई चन्द्रपुर पठाउन अनुरोध गरेका छन् ।
यता ढकालले भने आफूले सुशासन, आर्थिक अनुशासन र अनावश्यक खर्च नियन्त्रणलाई प्राथमिकता दिएपछि विवाद उत्पन्न भएको दाबी गरेका छन् । ‘मैले राजस्व संकलनमा दुरुपयोग नियन्त्रण गरेर आम्दानी बढाएको छु,’ ढकालले भने, ‘पालिकाको स्रोतको दुरुपयोग गर्न कसैलाई दिन्नँ ।’
एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्यले जनप्रतिनिधि र कर्मचारीबीचको विवादको असर नागरिकले भोग्नुपर्ने अवस्था दुःखद भएको बताए । उनका अनुसार विवादको समाधान वार्ता र सहमतिबाट खोजिनुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्