नेभिगेशन
राजनीति
कांग्रेस संस्थापनइतर भेला

‘हिन्दु राष्ट्र’कार्डको दाउ

गगनले एक घण्टा जवाफ दिने

काठमाडौं । जनआन्दोलन–२ पछि सत्ताको आलोपालो कांग्रेस, एमाले र माओवादीले गरिरहे । त्यसमा सबैजसो दलले गठबन्धनमा सामेल हुने र छुट्टिने गर्दै रहे । गठबन्धन संस्कृति मन नपरेको संकेत जनमतले गत फागुन २१ को निर्वाचनबाट गरेको प्रष्ट भयो । अब आफूतिर कसरी फर्काउने ? कांग्रेसको संस्थापनइतर पक्षले जुक्ति लगाएको संकेत गरेको छ – हिन्दु राष्ट्र कार्ड । 
धर्मले मान्छेलाई छुन्छ । भारतमा भाजपाले जरा गाडेको देखेका नेताहरुले अब त्यही बाटो अघि बढ्ने संकेत आइतबार काठमाडौंमा आफ्नो भेला समापनका क्रममा गरेका हुन् । 
गगन थापासहितको संस्थापनसँग रुष्ट पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरुले नयाँ कार्ड खेल्ने घुमाउरो अभिव्यक्ति दिएका छन् । कांग्रेसको संस्थापनइतर पक्षले हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा नयाँ बाटोतर्फ लम्कने संकेत गरेको हो । गगन थापा र विश्वप्रकाश शर्मासहितका दोस्रो पुस्ताको जोडमा भएको विशेष महाधिवेशनमा सहभागी नभएको संस्थापनइतर पक्षले हाल पार्टीले लिइरहेको नीति भन्दा अलग अघि बढ्ने निर्णय राष्ट्रिय भेलाबाटै पारित गरेको हो । 
कांग्रेसइतरको आइतबार सम्पन्न राष्ट्रिय भेलाले ‘सनातन धर्मलाई नेपालको पहिचानको रुपमा अघि बढाउने’ र ‘राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि क्रियाशील रहने’ निर्णय गरेको छ । सनातन धर्म भन्नाले हिन्दु र राष्ट्रि शक्ति भन्नाले नेपालको राजनीतिमा राजसंस्थापक्षधरलाई पनि बुझ्ने गरिन्छ । कांग्रेसले राष्ट्रिय शक्तिसँग संवादको सन्दर्भलाई २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर भन्दै देश अहिले पनि अप्ठेरो स्थितिमा रहेको उल्लेख गरिएको छ । यसले संस्थापनइतर राजसंस्था प्रति ‘सफ्ट’ हुन खोजेको रुपमा हेरिएको छ । 
उसो त २०७२ सालको संविधान जारी गर्दा नेतृत्व गरेको कांग्रेसले आफूलाई धर्मनिरपेक्षताको पक्षमा उभ्याउँदै आएको छ । तर, कांग्रेसभित्र सनातन हिन्दु राष्ट्रको मत बलियो छ । कांग्रेसभित्र महाधिवेशन होस् वा महासमिति बैठक, यो विषय सधैं नै उठिरहेको छ । संस्थापनइतरको भेलामा पनि यसबारे निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रश्न सोधिएपछि उनले जवाफमा भने, ‘नेपाल के हुने के नहुने भन्ने कुरा त नेपाली जनताको हातमा छ । तर नेपाली हिन्दुलाई ‘हिन्दू हुन पाउँदैनस्’ भन्न चाहिँ पाइँदैन । म हिन्दु हुँ, हिन्दू हुँ, हिन्दू हुँ !’ 
देउवाको जवाफमा मात्र सीमित छैन संस्थापनइतरपक्ष । राष्ट्रिय भेलाको निर्णयको तेस्रो नम्बरमा धर्म सम्बन्धी विषय उल्लेख छ । ‘नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव, हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचान रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ,’ भेलाबाट पारित निर्णय छ । 
कांग्रेसभित्र करिब ५६ प्रतिशतले विशेष महाधिवेशनमा भाग लिएको संस्थापनपक्षको दाबी छ । संस्थापनको दाबी मान्ने हो भने पनि संस्थापनइतर पक्षसँग ४४ प्रतिशत हिस्सा इतरसमूहसँग देखिन्छ । अलग पार्टी नै बनाउने गरि तयारीमा लागेको यो समूहले सनातन धर्मको पक्षमा उभिने  र राष्ट्रिय शक्तिसँग संवादको ढोका खोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
सर्वोच्च अदालतमा कांग्रेस आधिकारिकताको विषय सुनुवाइको क्रममा छ । संस्थापनइतर पक्षले आधकिारिता पाए कांग्रेसको राजनीतिक लाइन सनातन धर्म र राजसंस्थातर्फ ‘सफ्ट’ हुने छ भने यो पक्षले मान्यता नपाए बन्ने नयाँ पार्टी ‘हिन्दु राष्ट्र’ र राजसंस्थाको मुद्दासहित बन्ने आधार राष्ट्रिय भेलाले तय गरेको छ । 
यसैबीच कांग्रेसइतर पक्षको राष्ट्रिय भेलाको निर्णयको हिन्दु राष्ट्र र राजसंस्था पक्षधर दलले स्वागत गरेका छन् । उनीहरुले देउवाको अभिव्यक्तिलाई राजनीतिक रुपमा अर्थपूर्ण ठानेका छन् ।  ‘कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अधिवेशनको निर्णय र उहाँको व्यक्तिगत अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको छ,’ राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले भनेकी छन्, ‘उहाँको उक्त अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको छ । नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्छ ।’
महाधिवेशन संयोजनको जिम्मा शशांकलाई 
पार्टीमा अहिले सभापति गगन थापा छन् । तर, देउवाकै नेतृत्वमा रहेको परिकल्पना गर्दै राष्ट्रिय भेलाले पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने जिम्मा उनलाई दिएको छ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप निवर्तमान सभापति (शेरबहादुर देउवा)को निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजक (शशांक कोइराला) ले नै संयोजन गर्ने भेलाको निर्णय छ । संस्थापनइतर पक्षले अहिले पनि पार्टी सभापति देउवा नै रहेको भन्दै सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता आफैंले पाउने दाबी गरेको छ । 
यता इतरपक्षले महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गर्दा उता संस्थापन पक्ष पनि महाधिवेशनको गृहकार्यमा जुटेको छ । इतरपक्षको महाधिवेशनको निर्णयबारेको प्रश्नमा कांग्रेसका प्रवक्ता देवराज चालिसे भने, ‘अदालतले मान्यता दिएको हामी रहेको पार्टी हो । हामीले असोज १६ गतेबाट १५ महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरिसकेका छौँ । कुनै भेलाले गरेको निर्णयले पार्टीलाई फरक पर्दैन ।’ 
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने आदेशलाई सर्वोच्च अदालतले पुनरवलोकन गर्ने आदेश दिएपछि नेपालको राजनीतिमा नयाँ बहस सुरु भएको छ । इतरपक्षले पत्र पठाएरै महाधिवेशनको प्रक्रिया रोक्न संस्थापनपक्षलाई पत्र पनि पठाएको थियो । 
कांग्रेसको आधिकारिकतामा निस्सा पाउनु ,सम्पत्ति शुद्धीकरणको मुद्दामा तत्काल पक्राउ नगर्नु भन्ने अदालतको आदेश र  हङकङमा रहँदा पक्राउ गर्न इन्टरपोलको अस्वीकारले देउवाको स्वदेश आगमन र चुनदेवीदेखि राष्ट्रिय सम्मेलनमा देउवाको राजनीतिक सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । करिब ५ महिना सिंगापुर हुँदै हङकङ बसेर फर्किएका र राजनीतिमा किनारा पुगेका ठानिएका देउवाको धर्मबारे नीतिगत ‘डिपार्चर’ गर्न खोजेका छन् । राजनीतिका जानकारहरु राष्ट्रिय राजनीति र पार्टीभित्रै कमजोर बनेका देउवाले शक्ति आर्जनको बाटो धर्मलाई बनाउन खोजेका छन्  । 
इतर पक्षको भेलाका निर्णय
१. १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
२. २०३३ सालमा महामानव बिपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ । यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि क्रियाशील रहने ।
३. नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपाल रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रको पहिचान रुपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ ।
४. वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरि निकास दिइने छ ।

गगनले एक घण्टा जवाफ दिने 
कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर पक्षले राष्ट्रिय भेलामा उठाएका विषयको जवाफ दिने भएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाटै जवाफ दिन लागेका हुन् । 
उनले राष्ट्रिय सम्मेलनमा नेताहरूले राखेको धारणाप्रति लक्ष्य गर्दै विगत तीन दिनमा आफ्नो निन्दा भएको पनि सञ्चारमाध्यमहरूबाट थाहा पाएको बताए । ‘सबै निन्दा हेडलाइन । कसले कति बढी निन्दा ग¥यो भन्ने टिपेर देखाइहाल्या छ,’ उनले भने, ‘कहिलेकाहीँ इतिहास र विषयकेन्द्रित कुरा पनि आउनुपर्छ । नेताले के बोल्यो भन्ने मात्र होइन ।’ कांग्रेस संस्थापनइतर पक्षले तत्कालीन सभापति देउवामाथि भदौ २४ मा जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा थापामाथि समेत प्रश्न उठाएको छ । त्यस्तै, पार्टी अवैधानिक ढंगले कब्जा गरेका, विशेष महाधिवेशनकै कारण पार्टीले पराजय बेहोर्नुपरेको, पार्टीलाई इतिहासकै कमजोर बनाएको लगायतका आरोप लगाएको छ । 
सभापति थापाले अहिले राजनीति दलमा रहेका सबै मानिस निराश रहेको पनि बताए । ‘भइरहेकालाई हटाउला भनेर निराश हटेको मान्छे फेरि बन्न नपाउला भनेर निराश । ५ पटक प्रधानमन्त्री भएको मानिस पनि दिक्दार छ, छैटौंपटक किन बन्न पाइन्न भन्ने छ । कतिपटक सभापति हुन भो ? कति पटक सांसद हुुनु भो ? त्यो छुट्टै कुरा हुन्छ । यसका आधारमा मात्र नाप्ने हो भने नेपालका राजनीतिक दल सबैभन्दा बढी असफल मानिस उत्पादन गर्ने कारखाना हो,’ थापाले भने । 
काठमाडौंमा आइतबार धर्म गौतमको पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले आफूमाथि उठाइएका प्रश्नबारे सोमबार मात्रै जवाफ दिने बताए । उनले पार्टीका संस्थापक नेताहरूलाई कसैले निजी बनाउन नपाउने पनि उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्