नेभिगेशन
शिक्षा

‘इन्फ्लुएन्सर’ अब पढाइको विषय

किशोरकिशोरीलाई ‘ठूलो भएपछि के बन्ने ?’ भनेर सोध्दा डाक्टर, इन्जिनियर वा शिक्षकसँगै अहिले ‘इन्फ्लुएन्सर’ बन्ने चाहना पनि सुनिन थालेको छ । सामाजिक सञ्जाल, भिडियो र पोडकास्टमा हुर्किएको नयाँ पुस्ताका लागि डिजिटल सामग्री निर्माण मनोरञ्जन मात्र नभई सम्भावित करियरका रूपमा स्थापित हुँदै गएको छ ।
यही बदलिँदो प्रवृत्तिलाई पछ्याउँदै अमेरिकाका विश्वविद्यालयले ‘कन्टेन्ट क्रिएसन’लाई औपचारिक अध्ययनको विषय बनाउन थालेका छन् । एरिजोना स्टेट विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चारअन्तर्गत सामग्री निर्माणमा स्नातक तहको नयाँ कार्यक्रम सुरु गरेको छ । कार्यक्रममा पोडकास्ट, स्टुडियो उत्पादन, क्यामेराअगाडि प्रस्तुति तथा डिजिटल सञ्चारसम्बन्धी विषयलाई विशेष प्राथमिकता दिइएको छ ।
कार्यक्रम सुरु भएसँगै यसको औचित्यमाथि बहस पनि चर्किएको छ । कतिपयले सामाजिक सञ्जालमा सामग्री बनाउने कामलाई वैध पेसा मान्न नसकिने बताएका छन् भने केहीले त्यस्तो करियरका लागि विश्वविद्यालयको महँगो डिग्री आवश्यक छ कि छैन भन्ने प्रश्न उठाएका छन् । तर, एरिजोना स्टेट यस्तो कार्यक्रम सुरु गर्ने पहिलो विश्वविद्यालय भने होइन । अन्य अमेरिकी विश्वविद्यालयले पनि सामग्री निर्माणमा माइनर, प्रमाणपत्र तथा प्रमुख अध्ययन कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।
सञ्चार विषयकी प्राध्यापक ब्रुक एरिन डफीका अनुसार सामग्री निर्माणलाई अहिले शिक्षा क्षेत्रले सम्भावित पेसाका रूपमा स्वीकार गर्न थालेको छ । उनका अनुसार सोस मिडियामा देखिने चमकदार जीवनशैलीले सामग्री निर्माणलाई सजिलो र छिटो धनी बन्ने माध्यमजस्तो देखाए पनि वास्तविकता फरक छ ।

‘यो समय लिने, श्रम गर्नैपर्ने काम हो, जसबाट सुरुवातमा धेरै कमाइ नहुन पनि सक्छ,’ डफी भन्छिन्, ‘तर यसको पछाडिको मेहेनत देखिन्न र  सपनाजस्तो सजिलो पेसाका रूपमा बुझिन्छ ।’
सामग्री निर्माताले भिडियो वा तस्बिर बनाउने मात्र होइन, दर्शक टिकाइराख्ने रणनीति, ब्रान्डसँग सहकार्य, बजार प्रवद्र्धन, व्यापारिक सम्बन्ध र आफ्नो डिजिटल पहिचान व्यवस्थापन गर्नुपर्छ । अमेरिकी बजार विश्लेषक म्याक्स विलेनका अनुसार यस वर्ष अमेरिकामा सामाजिक सञ्जाल सामग्री निर्माताबाट हुने आम्दानी २० अर्ब डलरभन्दा माथि पुग्ने अनुमान छ । तर, त्यसको ठूलो हिस्सा निर्माताको हातमा नपुग्ने उनको भनाइ छ ।
एरिजोना स्टेटबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका सामग्री निर्माता तथा अभिनेता सामी क्रिस्टेर्नाले पनि यस्तो कार्यक्रम आफूले पढ्ने बताएका छन् । ब्रान्डसँग सम्झौता गर्ने, आम्दानीका अवसर बढाउने र दर्शक निर्माण तथा व्यवस्थापन गर्ने सीप कक्षामै सिक्न पाउनु उपयोगी हुने उनको अनुभव छ ।
यद्यपि कन्टेन्ट बनाउनुको महत्वपूर्ण पक्ष व्यक्तित्व र प्रस्तुति कक्षाकोठाबाट सिकाउन कठिन हुन सक्छ । ‘क्यामेरामा जोडिन राम्रो ऊर्जा चाहिन्छ,’ क्रिस्टेर्ना भन्छन्, ‘त्यो कुरा सिकाउन भने निकै कठिन हुन्छ ।’
कन्टेन्ट क्रिएसनको डिग्रीले भाइरल हुने ग्यारेन्टी गर्दैन । तर डिजिटल युगमा सञ्चार, बजार प्रवद्र्धन, प्रस्तुति, उत्पादन र ब्रान्ड बनाउने सीपलाई व्यवस्थित रूपमा सिकाउने बाटो भने खोल्न सक्छ । (एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्