बालबालिका सामाजिक सञ्जालको लतमा परेकोमा अमेरिकाका विभिन्न राज्यमा चिन्ता बढेको छ । उनीहरूलाई ‘एडिक्ट’ बनाउन रोक्ने उपायको खोजी भइरहँदा न्यूयोर्कको महान्यायाधिवक्ताले सामाजिक सञ्जाल फिडविरुद्धको कडाइ कार्यान्वयन गर्न प्रस्तावित नियम सार्वजनिक गरेकी छन्, जसमा प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने प्रावधान पनि छन् ।
गत वर्ष पारित गरिएको स्टप एडिक्टिभ फिड्स एक्स्प्लोइटेसन फर किड्स एक्टअनुसार अभिभावकको सहमतिबिना १८ वर्षमुनिका प्रयोगकर्तालाई सामाजिक सञ्जाल कम्पनीहरूले एल्गोरिदममार्फत व्यक्तिगतरूपमा देखाइने फिड देखाउन पाउने छैनन् । त्यसको सट्टा टिकटक र इन्स्टाग्रामजस्ता एप्समा युवाले फलो गरेका खाताबाट मात्र पोस्ट देखाइनेछ ।
यो नया“ कानूनमा सामाजिक सञ्जालका सञ्चालक कम्पनीहरूले मध्यरातदेखि बिहान ६ बजेसम्म १८ वर्षमुनिका प्रयोगकर्तालाई नोटिफिकेसन पठाउन पनि रोक लगाएको छ । प्रावधानहरू कार्यान्वयन गर्न प्रस्तावित नियममा प्रयोगकर्ताको उमेर र अभिभावकको सहमति निर्धारण गर्ने मापदण्डहरू समेटिएका छन् ।
‘कम्पनीहरूले प्रयोगकर्ताको उमेर पुष्टि गर्न विभिन्न विद्यमान तरिकाहरू प्रयोग गर्न सक्छन्, तर ती प्रभावकारी र प्रयोगकर्ताको डेटा सुरक्षित गर्ने खालका हुनुपर्छ,’ महान्यायाधिवक्ता लेटिसिया जेम्सको कार्यालयले जनाएको छ ।
प्रयोगकर्ता १८ वर्ष पुगेको पुष्टि गर्नका लागि अपलोड गरिएको तस्बिर माग्ने वा प्रयोगकर्ताको इमेल वा फोन नम्बरलाई अन्य सूचनास“ग मिलान गर्ने विकल्प पनि हुन सक्छन्, कार्यालयले भनेको छ ।
१८ वर्षमुनिका प्रयोगकर्ताले एल्गोरिदमिक फिड वा राति नोटिफिकेसन पाउन चाहेमा कम्पनीहरूले अभिभावकसँग सहमति माग्न अनुमति दिनुपर्नेछ ।
कानूनका समर्थकहरूले भनेका छन्, प्रयोगकर्ताको डेटा प्रयोग गरेर बनेका क्युरेटेड फिडहरूले युवालाई सामाजिक सञ्जालमा अत्यधिक समय बिताउन बाध्य बनाउँदै मानसिक स्वास्थ्य संकट निम्त्याइरहेका छन् ।
‘बालबालिका र किशोरकिशोरीहरू सामाजिक सञ्जाल प्लेटफर्ममा भएका लत लाग्ने सुविधाका कारण उच्च दरमा चिन्ता र डिप्रेसनस“ग जुधिरहेका छन्,’ जेम्सले नियम सार्वजनिक गर्दै भनिन् । यी नियमहरूलाई ६० दिनको सार्वजनिक सुझाव अवधिपछि मात्र लागू गरिनेछ ।
अनलाइन उमेर जाँचसम्बन्धी कानूनहरू अमेरिकामा तीव्ररूपमा बढिरहेका छन्, तर डिजिटल गोपनीयता र स्वतन्त्र अभिव्यक्तिका पक्षधर समूहहरूले यसमा विरोध जनाएका छन् । हालसम्म अमेरिकाका २० भन्दा बढी राज्यले उमेर प्रमाणीकरणका कानून पारित गरेका छन्, तर धेरै कानूनी चुनौतीको सामना गरिरहेका छन् ।
न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले इन्स्टाग्राम र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूले हालै विभिन्न किसिमका उमेर प्रमाणीकरण उपायहरू अपनाउ“दै आएको पनि उल्लेख गरेको छ ।
‘सामाजिक सञ्जाल प्लेटफर्महरूको संरचनामा उमेर प्रमाणीकरण विधिहरूको समावेश हुनु सकारात्मक विकास हो, जसले यी प्लेटफर्मका लागि प्राविधिक र वित्तीय दृष्टिले सम्भव भएको देखाउ“छ,’ कार्यालयले भनेको छ, ‘तर, उमेर प्रमाणीकरण उपायहरूको प्रावधान स्वैच्छिक अपनाउ“दाले मात्र ऐनअनुसार आवश्यक बालबालिकाको सुरक्षा स्तर हासिल गर्न सकेको छैन ।’
नियमहरू अन्तिम भएपछि, सामाजिक सञ्जाल कम्पनीहरूले ती लागू गर्न १८० दिन पाउनेछन् । (एपी)