नेभिगेशन
नेपाल

नापजाँचको एक दशक नाघेपछि बल्ल लालपुर्जा

काठमाडौँ। एघार वर्षअघि जग्गाको नापजाँच सकिए पनि लालपुर्जा पाउन नसकेका धनुषाका ११० परिवारले पछिल्लो समय जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । त्यस्तै भक्तपुरका ४२१ र झापाका १३ परिवारले पनि लामो समयको प्रतीक्षापछि आफ्नो नाममा जग्गा दर्ता गराएका छन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नापी कार्यालय धनुषाले साविक कजरारमौल गाउँ विकास समितिअन्तर्गतका गाउँ ब्लक अर्थात् स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७१÷७२ मै सम्पन्न गरेको थियो । तर दर्ताका लागि आवश्यक कागजात, जनसहभागिता र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा ११ वर्षसम्म पुर्जा वितरण रोकिएको थियो । बाँकी प्रक्रिया पूरा गरेपछि अहिले ११० परिवारलाई पुर्जा वितरण गरिएको हो ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ मा पनि नापजाँच सम्पन्न भएको चार वर्षपछि ४२१ परिवारले लालपुर्जा पाएका छन् । साविक निलवाराही गाविसका वडा नं. २ देखि ७ सम्म पर्ने गाउँ ब्लकको नापजाँच आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि भूमि समस्या समाधान समितिले स्थानीय परिवारलाई पुर्जा वितरण गरेको हो ।

झापाको कनकाइ नगरपालिका–३ र ६ का १३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले पनि जग्गाधनी पुर्जा पाएका छन् । प्राप्त जग्गामध्ये केही आवास र केही कृषि प्रयोजनका छन् ।
नापजाँच हुँदैमा पुर्जा प्राप्त हुँदैन
नापनक्सा सम्पन्न भएपछि पनि जग्गाको हकभोग यकिन, आवश्यक कागजात संकलन, सरोकारवालाको सहभागिता, सरकारी अभिलेखसँग मिलान तथा दर्ता प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यीमध्ये कुनै प्रक्रिया पूरा हुन नसक्दा नापजाँच सकिएको वर्षौंसम्म पनि पुर्जा वितरण रोकिँदै आएको छ ।
स्थानीय तह, नापी तथा मालपोत कार्यालय र भूमि समस्या समाधानसम्बन्धी निकायबीचको समन्वय कमजोर हुँदा पनि प्रक्रिया लम्बिने गरेको छ । कतिपय अवस्थामा लाभग्राहीले आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न नसक्दा समस्या थप जटिल बन्ने गरेको सरकारी अधिकारीहरू बताउँछन् ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नापनक्सा, छानबिन, प्रमाणीकरण र दर्ताको प्रक्रिया अघि बढाइरहेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले धनुषा, भक्तपुर र झापामा गरी ५४४ परिवारले पुर्जा पाउनु महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनका अनुसार देशभर नापजाँच भइसकेर पनि पुर्जा पाउन बाँकी परिवार, नापजाँचकै क्रममा रहेका क्षेत्र तथा भूमिसम्बन्धी विवादका कारण स्वामित्व कायम हुन नसकेका परिवारको संख्या अझै ठूलो छ ।

नापजाँचपछि पनि किन रोकियो पुर्जा ?
नेपालमा धेरै गाउँ ब्लक तथा स्ववासी जग्गाको नापनक्सा सम्पन्न भए पनि नापनक्सा हुँदैमा जग्गाधनी पुर्जा तत्काल प्राप्त हुने अवस्था छैन । नापजाँचपछि जग्गाको विवरण यकिन गर्ने, हकभोग प्रमाणित गर्ने, आवश्यक कागजात संकलन गर्ने, सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने, सरकारी अभिलेखसँग मिलान गर्ने र दर्तासम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
स्थानीय तह, नापी कार्यालय, मालपोत कार्यालय तथा भूमि समस्या समाधानसम्बन्धी निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा पनि यस्ता काम अल्झिने गरेका छन् । कतिपय अवस्थामा नागरिकले आवश्यक कागजात र प्रक्रिया पूरा गर्न नसक्दा पनि काम अघि बढ्न कठिन हुने गरेको छ ।
भूमिहीनको समस्या समाधानमा जोड
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने नीति लिँदै आएको छ । त्यसअन्तर्गत आवश्यक छानबिन, नापनक्सा, प्रमाणीकरण र दर्ता प्रक्रिया पूरा गरेर योग्य परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने काम अघि बढाइएको छ ।
झापामा १३ परिवारलाई, भक्तपुरमा ४२१ र धनुषामा ११० परिवारले पुर्जा पाउनु महत्वपूर्ण उपलब्धिको रुपमा रहेको भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन् । 
देशभर अझै नापजाँच भएर पनि पुर्जा नपाएका, नापजाँचकै प्रक्रियामा रहेका तथा भूमिसम्बन्धी विवादका कारण स्वामित्व कायम हुन नसकेका परिवारको संख्या ठूलो रहेको जानकारीमा आएको पनि उनले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्