नेभिगेशन
राजनीति

कांग्रेसको १५औं महाधिवेशन असोज १६ बाट, देउवा पक्षको अलग्गै तयारी

काठमाडौं । नेपाली कांग्रेसमा फुटको औपचारिकता सुरु भएको छ । संस्थापन पक्षले देउवा पक्षको असहमतिका बीच पार्टीको १५औं महाधिवेशनको कार्यतालिका प्रकाशित गरेको छ । यसअघि केन्द्रीय समितिले तय गरेको केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत् राख्दै तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गरी केन्द्रीय निर्वाचन समितिले मंगलबार कार्यतालिका प्रकाशन गरेको हो । 
प्रकाशित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन भदौ २४ गते हुने भएको छ । गाउँ÷नगर अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते, जिल्ला अधिवेशन असोज ७ गते, प्रदेश अधिवेशन असोज १० गते र पन्ध्रौं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुनेछ । यसअघिको कार्यतालिकालाई निर्वाचन समितिले केही हेरफेर गरी प्रकाशित गरेको हो । असन्तुष्ट संस्थापन इतरसमूहसँग सहमति खोज्नका लागि भन्दै तल्लो तहको अधिवेशनको मिति केही पर सारिएको संस्थापन पक्षले बताएको छ । ‘वडा अधिवेशन पछाडि सरेको छ । २४ गते तोकेका छौं,’ महामन्त्री प्रदीप पौडेलले भने । उनले यसबीचमा पार्टीको असन्तुष्ट समूहसँग संवाद गरिने पनि उनले बताए । ‘महाधिवेशनका लागि समय एकदमै छोटो छ । त्यो समयभित्र अधिकतम समय निकालेर हामी संवाद, सहमति र सहभागिता बढाउन चाहन्छौं,’ उनले थपे, ‘संवादका निम्ति समय निकालेका हौं । सदस्यतासम्बन्धी काम बाँकी रहेर होइन ।’
त्यस्तै, कांग्रेसले १५औं महाधिवेशनका लागि विभिन्न समितिहरू पनि गठन गरेको छ । केन्द्रीय समिति बैठकले सभापति गनग थापाको संयोजकत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठकले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरु निर्माण गर्ने पनि निर्णय गरेको छ । ती उपसमितिहरूमा रहने संयोजक र सदस्यहरूको नामावली पछि प्रकाशित गरिने बताइएको छ ।
देउवा पक्षको अलग्गै महाधिवेशन
कांग्रेसमा देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको भन्दै महाधिवेशनको प्रक्रिया अघि नबढाउन संस्थापन पक्षलाई पत्र पठाएरै ध्यानाकर्षण गराइसकेको छ । तर, मंगलबार महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । 
उसो त, संस्थापन इतरको राष्ट्रिय सम्मेलनले पनि अलग्गै महाधिवेशनको तयारी गर्ने निर्णय गरिसकेको छ । ‘१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औं महाधिवेशन सम्पन्न हुनेछ,’ इतरपक्षको सम्मेलनको निर्णय छ । १५औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ ।’
विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वको समितिको वैधतामा इतरपक्षले प्रश्न उठाइरहेको छ । सर्वोच्च अदालतले असन्तुष्ट पक्षलाई निर्वाचन आयोगले सुनुवाइको मौका नदिएको भन्दै पुनरावलोकनको निस्सा दिएपछि इतरपक्षले अदालतबाट न्याय पाउने भन्दै अन्तिम फैसला नआउँदासम्म महाधिवेशनको प्रक्रिया अघि नबढाउन भनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्