पोखरा, ३१ भदौ - जेनजी समूहको आन्दोलनबाट प्रहरी संयमित बन्दा कास्कीमा मानवीय क्षति हुनबाट रोकियो । तर, सार्वजनिक र निजी सम्पत्तिसँगै कास्की जिल्ला प्रहरी कार्यालय पनि तोडफोड र आगजनीबाट ध्वस्त भयो । स्थिति सामान्य बनेपछि अहिले प्रहरीले ध्वस्त बनेका संचरनाको खरानी बढार्दै नियमित काममा फर्किएको छ ।
जनताको जिउधनको सुराक्षमा खटिने प्रहरी अहिले आफ्नै सुरक्षा र व्यवस्थापनमा खटिनुपरेको छ । जेनजीको नाममा भएको आन्दोलन भदौ २४ गते उग्र बन्दा सडक डिभिजन कार्यालयको डोजर नै लगेर प्रहरी कार्यालय ध्वस्त बनाउने योजनामा आन्दोलकारीहरू देखिन्थे ।
प्रहरीको संयमताले कार्यालय डोजर चल्नबाट त जोगियो, तर उग्र बनेका प्रदर्शनकारीले कार्यालयको प्रमुख प्रशासनिक भवन, कन्ट्रोल रूम, महिला तथा बालबालिका सेल, वरिष्ठ प्रहरी अधिकृत आवास, थुनुवा कक्ष र हातहतियार गोदार र जवान व्यारेक पुर्णरूपमा आगजनीले क्षति भएको छ । यस सँगसँगै वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टमा ठूलो क्षति पुगेको छ ।
ध्वस्त बनेका संरचना बन्दा कास्की प्रहरीलाई काममा फर्किन मुस्किल थियो । तर, स्थिति सामान्य बन्दै गएपछि कसैको मुख नताकी खण्डहर संरचनाका खरानी बढार्दै लयमा फर्कने प्रयास प्रहरीले गरेको छ । एकथरी प्रहरी आफ्नो कार्यालय र बासस्थानको व्यवस्थापनमा जुटेका छन्, भने अर्काथरी प्रहरी जनतालाई शान्तिसुरक्षा दिलाउन तल्लीन छन् ।
खण्डहर बनेको भवनबाटै प्रहरीले सेवा दिन पनि थालेको छ । त्यस सँगसँगै मुद्दा दर्ता, थुनछेक, म्याद थपलगायतका कार्यहरू सूचारु भइसकेको प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
प्रहरीले आपराधिक गतिबिधि र लुटपाटमा संलग्नहरूलाई नजिककै कार्यालयमा बुझाउन र प्रमाणहरू दिन अपिल पनि गरेको छ । यस सँगसँगै कास्की प्रहरी लुटपाटमा संलग्नहरूको सुक्षम अनुसन्धानका लागि प्रमाण जुटाउने कार्य गरिरहेको बस्नेतले जानकारी दिए ।
घटना भएको दिन प्रहरी कार्यालयमा महिला, बालबालिका एवं वयस्क पुरुष गरी ६२ थुनुवा थिए । ती सबैलाई आन्दोलनकारीले भगाएका थिए । भागेका थुनावा कोही पनि अहिलेसम्म नफर्केको प्रहरीको भनाइ छ । भागेका थुनुवादेखि सरकारी तथा नीति सम्पत्ति तोडफोड र लुटपाटमा संलग्नहरूलाई आफैं सरेण्डर गर्न प्रहरीले अपिल गरेको छ ।