नेभिगेशन
राजनीति

रास्वपाको आँखा स्थानीय निर्वाचनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरणका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री विपीनकुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बैठकमा आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै उम्मेदवार छनोटको विधि तथा पार्टीको संगठन विस्तार र सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ। बैठकले स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–०८३’ अनुमोदन गर्ने तयारी गरेको छ । उम्मेदवार छनोट गर्दा अपनाइने विधि र प्रक्रियासमेत बैठकबाट तय गरिनेछ ।
त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ । यसलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा राजनीतिक खाका तयार गर्ने रास्वपाको योजना छ । बैठकले पार्टीमा रिक्त रहेका तथा थप गर्नुपर्ने विभिन्न सांगठनिक पदमा मनोनयन गर्ने विषयमा पनि निर्णय गर्ने तयारी गरेको छ। केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको मनोनयन तथा जिम्मेवारी बाँडफाँट बैठकका एजेण्डामा छन् । स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा सदस्य मनोनयन गर्ने विषयमा पनि बैठकले निर्णय गर्नेछ । उम्मेदवार छनोटको विधिबारे पार्टीका कार्यकर्तालाई स्पष्ट पार्न केन्द्रीय सदस्य तथा सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिनेछ ।
यसैगरी, पार्टीको आधिकारिक धारणा, गतिविधि तथा राजनीतिक दृष्टिकोण सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि बैठकबाट हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्