नेभिगेशन
प्रदेश

कैलालीमा १३९ भवन र ६७८ सवारीसाधनमा क्षति

धनगढी, ३१ भदौ - जेनजी आन्दोलनबाट कैलाली जिल्लामा १३९ भवन र ६७८ सवारीसाधन क्षतिग्रस्त भएका छन् । विवरणअनुसार, पाँचवटा प्रहरी भजनमा क्षति पुगेको छ । तीमध्ये तीनवटा पूर्णरूपमा नष्ट भएका छन् भने दुईवटा आंशिकरूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै १२ वटा निजी घरमा क्षति पुगेको छ । जसमध्ये आठवटामा आंशिक क्षति पुगेको छ भने ४ मा सामान्य क्षति भएको प्रशासनले जनाएको छ । सबैभन्दा ठूलो क्षति सरकारी कार्यालयहरूमा भएको छ । 

कुल १०३ सरकारी कार्यालय प्रभावित भएका छन्, जसमा २ पूर्ण, ७० आंशिक र ३१ मा सामान्य क्षति पुगेको उल्लेख छ । त्यस्तै, विभिन्न पार्टीका १७ कार्यालय क्षतिग्रस्त भएका छन् । जसमा ११ मा आंशिक क्षति भएको छ भने ६ मा सामान्य क्षति भएको छ । जेनजी आन्दोलनकारीले मुख्यतया सरकारी भवन र राजनीतिक दलका कार्यालयहरूलाई निसाना बनाए । 

भष्ट्रचारविरुद्ध सडकमा उत्रिएका जेनजी पुस्ताले अर्बौंको संरचना ध्वस्त बनाएपछि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी ध्वस्त भएको छ । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामाथि क्षति हुनु दुःखद भएको बताए । २४ भदौमा प्रदर्शनकारीले सरकारी संरचनमा आगजनी र तोडफोड गरेका थिए । 

त्यसको एक सातासम्म मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरू गायब थिए । उनीहरूलाई सेनाले आफ्नो सुरक्षामा राखेको बताइएको थियो । सोमबार मात्रै मुख्यमन्त्री शाह कांग्रेसको संसदीय दलको बैठकमा देखिएका थिए । आन्दोलनका क्रममा प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरामा बढी क्षति पुगेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्