नेभिगेशन
राजनीति

‘मान’ बिर्सिदै माननीयहरु, गर्दैनन् नियमावली र मर्यादाको ख्याल

काठमाडौं । सांसदहरुलाई ‘माननीय’ भन्ने चलन छ । तर, माननीयहरुका गतिविधि भने कत्तिको मर्यादाभित्र छ ?  यतिबेला प्रश्न उठ्न थालेको छ । 
यो प्रश्न नागरिक तहबाट उठिरहेको त थियो नै यतिबेला स्वयं संसद् भित्रैबाट सांसदहरुले पनि उठाइरहेका छन् । यसरी माननीयको मान स्वयं भुल्ने सांसदहरुका कारण जननिर्वाचित सर्वोच्च थलो संसद्को गरिमामाथि नै प्रश्न उठ्न थालेको छ । रोचक त, यसरी मर्यादा भुलेर आफूलाई प्रस्तुत गर्नेमा विपक्षी भन्दा सत्तारुढ दलकै सांसदको बोलवाला छ । 
आफ्ना केही सांसदहरुको गतिविधि मर्यादित नभएको विषय स्वयं रास्वपाका सभापति रवि लामिछानेसमेतले महसुस गरेको बुधबार छर्लंग भयो । सांसद र मन्त्री सहितको बैठकमा उनले अमर्यादित गतिविधि गरेर ‘रमिता’ नदेखाउन चेतावनी नै दिए । सांसदहरुले मर्यादाहीन ढंगले बोल्ने, संसद्को बैठक बंक गर्ने लगायतका गतिविधि हुन थालेपछि सभापति लामिछानेले त्यतातर्फ लक्षित गर्दै उनीहरूलाई आचरणमा बस्न सचेत गराए । 
‘सदनमा नियमित हुनै पर्छ, संसद् नियमावली आफैं बनाउने, पास गर्ने अनि पालना नगर्ने भन्ने हुन्न,’ सभापति लामिछानेले भने, ‘अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ ।’
प्रतिनिधिसभा नियमावलीको व्यवस्था अटेर गर्नेमा रास्वपाका सांसद मात्रै होइन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म छन् । नियमावलीअनुसार प्रधानमन्त्री बालेन शाह सहभागी हुनुपर्ने प्रश्नोत्तर कार्यक्रममा सहभागी नहुँदा मंगलबार सभामुखले रुलिङ नै गर्नुपरेको छ । अर्कोतिर संसद्मा रास्वपाका अधिकांश सांसद अनुपस्थित हुँदा कोरम नपुगेर विधेयक पेश गर्नसमेत नसक्ने अवस्था आएको थियो । सांसद र मन्त्रीको यस्ता गतिविधिलाई रविले बुधबार रमिता भन्दै सच्चिन निर्देशन दिएका हुन् ।
विवादित खगेन्द्र र आशिका 
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पछिल्ला दिनमा एकपछि अर्को विवादमा तानिन थालेका छन् । प्रतिनिधिसभादेखि संसदीय समितिसम्म उनीहरूको प्रस्तुति, व्यवहार र अभिव्यक्तिले राजनीतिक वृत्तमा एउटा गम्भीर प्रश्न जन्माएको छ । सत्तामा पुगेपछि रास्वपाका सांसदहरूको शैलीले संसद्भित्र यसअघि देखिएका प्रवृत्तिलाई छोटो समयमै जित्न लागेको छ । 
मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद आशिका तामाङ र सभामुखबीचको असमझदारी यसको पछिल्लो उदाहरण हो । कम्बोडियामा ज्यान गुमेका धादिङका युवकको शव नेपाल ल्याउनेबारे संसद्मा प्रश्न उठाउँदै सांसद तामाङले परराष्ट्रमन्त्री शिशिर खनालसँग प्रश्न गरिन् । परराष्ट्रमन्त्री खनालले कम्बोडिया तथा अन्यत्र ज्यान गुमाएका नेपालीको शव ल्याउनेबारे कार्यविधि बन्ने चरणमा रहेको र प्रक्रिया पूरा भएपछि शव ल्याइने जवाफ दिए । यो जवाफ चित्त नबुझेपछि तामाङ प्रश्न गर्न पुनः उठिन् । सभामुख डोलप्रसाद अर्यालले मन्त्रीले दिएको जवाफ सम्बन्धमा थप स्पष्टीकरण माग्ने व्यवस्था नियमावलीमा नरहेको भन्दै तामाङलाई मर्यादामा बस्न आग्रह गरे । उनी रिसाइन् र बैठक छाडेर बाहिरिइन् । तामाङको यस्तो हर्कत पटक¬–पटक दोहोरिरहँदा उनलाई सम्हाल्न सचेतकलाई हम्मे परिरहेको देखिन्छ । 
यसअघि सार्वजनिक लेखा समिति बैठकमा रास्वपाकै सांसद खगेन्द्र सुनारको व्यवहार पनि विवादमा परेको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथिको आरोपलाई पुष्टि भएजसरी उनी प्रस्तुत भएपछि समितिमै उनले मर्यादा भुलेको भन्दै आलोचना भयो । सुनार पनि बैठक छाडेर हिँडे । उनकै पार्टीबाट बनेका गृहमन्त्री सुदन गुरुङले समेत सुनारको व्यवहारप्रति असन्तुष्टि पोखेका छन् । उक्त घटनाप्रति सभामुख अर्याल र रास्वपा सभापति लामिछानेले समेत चासो राखेका छन् ।
रास्वपाकी सांसद टीका संग्रौलाको पछिल्लो अभिव्यक्ति पनि आलोचनामुक्त रहेन । उनको अभिव्यक्तिलाई लिएर मंगलबार विपक्षी सांसदहरूले प्रतिनिधिसभामै प्रतिवाद गरे ।
अर्का रास्वपा सांसद सुलभ खरेलले आकस्मिक समय लिएर पार्टीको आन्तरिक विषयमा धारणा राखेपछि सभामुख अर्यालले बिचैमा रोक्नुप¥यो । उनले बोलेको विषय आकस्मिक समयसँग सम्बन्धित नभएको भन्दै सभामुखले सांसद खरेललाई समय दिएनन् । यी त प्रतिनिधि उदाहरण हुन् ।
यसले रास्वपाका सांसदहरू आफ्ना अभिव्यक्ति र त्यसको राजनीतिक प्रभावप्रति कति संवेदनशील छन् भन्ने प्रश्न उठाएको छ । रास्वपा नयाँ राजनीतिक संस्कारको वाचा गर्दै उदाएको दल हो । पुराना दलको कार्यशैली, सत्ता–शक्तिको दुरुपयोग र राजनीतिक अहंकारविरुद्ध आवाज उठाएर उसले जनसमर्थन पाएको थियो । त्यसैले उसका सांसदबाट जनताले परम्परागत राजनीतिक दलका सांसदभन्दा फरक व्यवहारको अपेक्षा गरे पनि पछिल्ला घटनाहरूले त्यो अपेक्षामाथि प्रश्न उठाउन थालेका छन् । 
सांसदको काम प्रश्न उठाउनु हो । सरकार र राज्य संयन्त्रलाई जवाफदेही बनाउनु हो । तर, त्यसो गर्दा मर्यादा भुल्न नहुने राजनीतिका जानकारहरु बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्