नेभिगेशन
राजनीति

आफ्नै सांसदको असन्तुष्टिपछि लामिछाने सामूहिक छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको कार्यशैलीप्रति सत्तापक्षकै सांसदहरूबाट असन्तुष्टि बढ्न थालेपछि पार्टी सभापति रवि लामिछानेले मन्त्री र सांसदलाई एकै ठाउँमा राखेर छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा करिब तीन घण्टा चलेको छलफलमा सांसदहरूले सरकारको कार्यशैली, मन्त्रीहरूको कामकारबाही, नियुक्ति प्रक्रिया तथा जनतामा बढ्दै गएको असन्तुष्टिबारे आफ्नो धारणा राखे । सो क्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
बैठकमा लामिछानेले सांसद तथा मन्त्रीहरूलाई आफ्ना गुनासा र समस्या सार्वजनिक रूपमा व्यक्त नगरी पार्टी नेतृत्व, मन्त्री र संसदीय दलको बैठकमा संयमित तथा सन्तुलित ढंगले राख्न निर्देशन दिएका छन् । एकल सरकार चलाइरहेको रास्वपाले आफ्ना मन्त्री र सांसदबीच यसरी सामूहिक रूपमा छलफल गरेको यो पहिलोपटक हो । 
बैठकमा सहभागीहरूले आ–आफ्ना समस्या र गुनासा राखेको र सम्बन्धित मन्त्रीहरूले त्यसबारे जवाफ दिएको सांसद लिमा अधिकारीले बताइन् । ‘सबैले आ–आफ्ना समस्या र गुनासा खुलेर राख्नुभयो। सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले उठेका प्रश्नको जवाफ दिनुभयो,’ अधिकारीले भनिन्, ‘सभापतिज्यूले कुनै पनि समस्या भए पार्टी नेतृत्व, मन्त्रीहरू र संसदीय दलमा संयमित तथा सन्तुलित ढंगले राख्न आग्रह गर्नुभयो ।’
लामिछानेले पार्टीले गुनासा र समस्या सुन्न सञ्चालनमा ल्याएको ‘पल्स आरएसपी एप’ २४ घण्टाभित्र डाउनलोड गर्नसमेत सांसदहरूलाई निर्देशन दिएका छन् । सरकार गठन भएको चार महिनामै जनस्तरमा असन्तुष्टि बढेको र सत्तारुढ दलका सांसदहरूबाटै सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि लामिछानेले मन्त्री र सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि बोलाएका हुन् । 
बैठकमा रास्वपा सांसद अमरेशकुमार सिंहले मधेशमा सरकारप्रति असन्तुष्टि बढ्दै गएको भन्दै तत्काल कार्यशैली सुधार्न चेतावनी दिए । उनले सरकारले यही शैली कायम राखे मधेशमा रास्वपा सांसदले आगामी छठपछि जनताको आक्रोश सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘यही पारा हो भने मधेशका सांसदले छठपछि पिटाइ खान्छन्,’ सिंहले बैठकमा भनेका थिए ।
सिंहले सरकारका विभिन्न नियुक्तिमाथि समेत प्रश्न उठाएका छन् । सरकारले नियुक्तिमा ‘मेरिटोक्रेसी’लाई आधार बनाउने बताउँदै आए पनि व्यवहारमा कांग्रेस र एमाले निकट व्यक्तिहरूले धेरै अवसर पाइरहेको उनको दाबी छ । बैठकमा अन्य सांसदहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारको माग गरेका थिए ।
बैठकमा मन्त्रीहरुको आलोचना भए पनि सभापति लामिछानेले तत्काल मन्त्रीहरू परिवर्तन गर्ने कुनै तयारी नरहेको बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रीहरूले गरेका अधिकांश काम राम्रा भए पनि केही काममा प्रश्न उठ्नु स्वाभाविक भएको बताए । ‘मन्त्री फेर्न लागेको बिल्कुल छैन । कुनै पनि मन्त्रालय र मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक–दुई वा पाँच काममा प्रश्न आउनु स्वाभाविक हो । त्यसलाई पार्टीले अस्वाभाविक लिँदैन,’ उनले भने । 
मन्त्री नफेर्ने तर कार्यशैली सुधार्ने सन्देश लामिछानेले बैठकमार्फत दिएका छन् । पछिल्लो समय रास्वपाका सांसदहरूका अभिव्यक्ति र गतिविधि विवादमा परेका बेला मन्त्री र सांसद दुवै पक्षलाई सँगै राखेर सभापति लामिछानेले निर्देशन दिनुलाई पार्टीभित्र बढ्दो असन्तुष्टि व्यवस्थापन गर्ने प्रयासका रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्