चीनका कुनै समयका प्रभावशाली अर्बपति एभरग्रान्डे समूहका संस्थापक जु जियाइन अन्ततः आजीवन कारावासमा पुगेका छन् । दक्षिण चीनको शेन्जेन मध्यवर्ती जनअदालतले बिहीबार उनलाई ठूलो वित्तीय अपराधमा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो । अदालतले उनको व्यक्तिगत सम्पत्ति जफत गर्नुका साथै आजीवन राजनीतिक अधिकारबाट वञ्चित गर्ने फैसला गरेको छ ।
अदालतका अनुसार सन् २०१६ देखि २०२१ सम्म जुको नेतृत्वमा एभरग्रान्डेले वित्तीय विवरणमा हेरफेर गरी कम्पनीको सम्पत्ति कृत्रिम रूपमा बढाएको, दायित्व लुकाएको तथा सर्वसाधारणबाट गैरकानुनी रूपमा रकम उठाएको थियो । वित्तीय संस्थाबाट ऋण तथा अन्य सुविधा लिन प्रभाव पार्ने उद्देश्यले घुसखोरीसमेत गरिएको अदालतले ठहर गरेको छ । अदालतले यी गतिविधिले चिनियाँ आर्थिक व्यवस्थामा गम्भीर असर पारेको र ठूलो सामाजिक क्षति पु¥याएको भन्दै कठोर सजाय आवश्यक भएको जनाएको छ ।
फैसलासँगै एभरग्रान्डे समूहलाई ८ अर्ब ८२० करोड युआन र अचल सम्पत्ति कम्पनी एभरग्रान्डे रियल स्टेटलाई ७ अर्ब युआन जरिवाना गरिएको छ । दुवै कम्पनीमाथि अदालतले गरी कुल १५ अर्ब ८२० करोड युआन (करिब २ अर्ब ३५ करोड अमेरिकी डलर) जरिवाना गरेको छ । मुद्दामा संलग्न अन्य पाँच वरिष्ठ कार्यकारीलाई पनि ६ देखि १८ वर्षसम्मको जेल सजाय सुनाइएको छ ।
जु जियाइनको यो पतन एकै दिनमा भएको होइन । यसको सुरुवात चीनको तीव्र रियल स्टेट व्यवसाय विस्तारसँगै एभरग्रान्डेको आक्रामक व्यावसायिक विस्तारबाट भएको थियो ।
जियाइनले सन् १९९६ मा ग्वाङ्झाउमा एभरग्रान्डे स्थापना गरेका थिए । सुरुमा तुलनात्मक रूपमा सस्तो आवास निर्माणमा केन्द्रित कम्पनीले चीनका विभिन्न सहरमा तीव्र गतिमा परियोजना विस्तार ग¥यो । घरजग्गाको माग बढ्दै जाँदा एभरग्रान्डेले ठूलो परिमाणमा ऋण लिएर नयाँ परियोजना, जग्गा तथा अन्य व्यवसायमा लगानी गर्दै गयो ।
यसरी ऋणमा आधारित विस्तारले एभरग्रान्डेलाई चीनकै सबैभन्दा ठूलो घरजग्गा विकासकर्तामध्ये एक बनायो । समाचार संस्था एपीका अनुसार सन् २०१७ मा जुको सम्पत्ति करिब ४५ अर्ब ३० करोड अमेरिकी डलर पुगेको थियो । त्यसबेला उनी एसियाकै सबैभन्दा धनी व्यक्तिका रूपमा चर्चामा थिए ।
तर कम्पनीको चमकभित्र ऋणको बोझ तीव्र गतिमा बढिरहेको थियो । नयाँ परियोजना अघि बढाउन नयाँ ऋण, पुरानो दायित्व व्यवस्थापन गर्न थप रकम र बिक्रीबाट आउने नगदमा निर्भरता बढ्दै गयो ।
सरकारको ऋण नियन्त्रणले बढायो संकट
सन् २०२० मा चिनियाँ सरकारले घरजग्गा व्यवसायीको अत्यधिक ऋण निर्भरता घटाउन कडा वित्तीय नियम ल्यायो । ऋणमा आधारित विस्तार रोकिएपछि एभरग्रान्डेजस्ता कम्पनीलाई नयाँ वित्तीय स्रोत जुटाउन कठिन भयो । त्यसपछि बिक्री घट्दै जाँदा कम्पनीको नगद प्रवाहमा दबाब बढ्यो र ऋणको चक्र उल्टिन थाल्यो ।
यही अवधिलाई अदालतले पछि वित्तीय अनियमितताको मुख्य समयखण्डका रूपमा औंल्यायो । सन् २०१६ देखि २०२१ सम्म एभरग्रान्डेले वित्तीय विवरणमा वास्तविक अवस्था लुकाएर कम्पनीको वित्तीय स्वास्थ्य बलियो देखाएको अदालतको निष्कर्ष छ । अमेरिकी सञ्चारमाध्यम एबीसीका अनुसार नियामकहरूले कम्पनीले सन् २०१९ र २०२० मा आम्दानी क्रमशः ठूलो परिमाणमा बढाएर देखाएको आरोपसमेत लगाएका थिए ।
२०२१ मा ऋण संकट सार्वजनिक
ऋण तिर्न आवश्यक नगद जुटाउन नसकेपछि एभरग्रान्डे सन् २०२१ मा विदेशी ऋणको भुक्तानीमा चुक्यो । त्यतिबेला कम्पनीमाथिको कुल दायित्व ३०० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो । एभरग्रान्डेको संकटसँगै चीनको घरजग्गा क्षेत्रमा रहेका संरचनात्मक कमजोरी सार्वजनिक भए र अन्य विकासकर्ताहरू पनि क्रमशः ऋण संकटमा फस्न थाले ।
यसको असर केवल कम्पनी र ऋणदातामा सीमित रहेन । निर्माणाधीन घरका खरिदकर्ता, लगानीकर्ता, बैंक तथा अन्य वित्तीय संस्थामाथि पनि दबाब बढ्यो । एभरग्रान्डेको पतन चिनियाँ घरजग्गा संकटको सबैभन्दा ठूलो प्रतीक बन्यो ।
हिरासतदेखि अदालतसम्म
संकट गहिरिँदै गएपछि जु जियाइनलाई सन् २०२३ को सेप्टेम्बरमा चिनियाँ अधिकारीहरूले हिरासतमा लिए । त्यसअघि नै उनको परिवारसँग सम्बन्धित केही कम्पनी र विदेशस्थित बैंक खातासमेत नियन्त्रण वा रोक्का गरिएको विवरण सार्वजनिक भएको थियो ।
सन् २०२४ मा चिनियाँ धितोपत्र नियामकले जु जियाइनलाई ठूलो वित्तीय अनियमितताका लागि जरिवाना गर्दै धितोपत्र कारोबारमा आजीवन प्रतिबन्ध लगाएको थियो । त्यसै वर्ष हङकङको अदालतले ऋणदातासँग पुनर्संरचनाको सहमति जुटाउन नसकेको भन्दै एभरग्रान्डेलाई परिसमापन गर्ने आदेश दिएको थियो । कम्पनीको कारोबार राम्ररी टुंगिएको देखाउन भनेको थियो ।
यसबीच शेन्जेन अदालतमा चलेको मुद्दामा जु जियाइनमाथि सर्वसाधारणबाट गैरकानुनी रूपमा निक्षेप संकलन, कोषको दुरुपयोग, रकम उठाउने नाममा ठगी, गैरकानुनी ऋण प्रवाह, धितोपत्रसम्बन्धी ठगी, महŒवपूर्ण सूचना लुकाउने, कम्पनीको सम्पत्ति हिनामिना र घुसखोरीलगायत आठवटा आरोप लगाइएको थियो ।
गत अप्रिल १३ र १४ मा भएको सुनुवाइमा जुले आरोप स्वीकार गर्दै आफूले गल्ती गरेकोमा पश्चात्ताप व्यक्त गरेका थिए । अदालतले त्यतिबेला फैसला पछि सुनाउने जनाएको थियो । चार महिनापछि आएको फैसलाले उनको व्यावसायिक यात्राको अन्तिम अध्याय लेखिदिएको छ । एक समय चीनको घरजग्गा व्यवसायको उभारको प्रतीक बनेका जु जियाइन अहिले त्यही क्षेत्रको ऋण संकट, वित्तीय अनियमितता र नियामकीय कडाइका कारण पतन हुनेमा सबैभन्दा ठूलो उदाहरण बनेका छन् ।