एथेन्स (एजेन्सी)– ग्रीसको राजधानी एथेन्समा यसपालि गर्मीको एउटा नयाँ दृश्य देखिएको छ – प्राचीन एक्रोपोलिसतर्फ उक्लिने पर्यटकको भीडमा जसकासुकै टाउकामा टोपी छन् । परालका टोपीदेखि पानामा, बेसबल क्यापदेखि ‘बकेट ह्याट’सम्म, चर्को घामबाट टाउको जोगाउन पर्यटकले टोपीलाई यात्राको अनिवार्य सामग्री बनाउन थालेका छन् । समाचार संस्था एपीका अनुसार एक्रोपोलिस जाने बाटो आसपासका पसल र सडक छेउछाउका स्टलमा टोपीका ¥याक अहिले सहजै देखिन्छन् ।
यो दृश्य केवल फेसन परिवर्तनको संकेत होइन । युरोपले यस वर्ष भोगिरहेको असाधारण गर्मीले पर्यटन, स्वास्थ्य, कामकाज र दैनिक जीवनमै प्रभाव पार्न थालेपछि घामबाट जोगिन सतर्कता पनि हो । गत वर्ष २०२५ मा मात्रै एक्रोपोलिसमा करिब ४६ लाख पर्यटक पुगेका थिए, जुन ग्रीसको पर्यटनका लागि कीर्तिमानी वर्ष थियो । पर्यटकको यो चाप र मध्याह्नमा ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने तापक्रमको मेलले खुला आकाशमुनि घण्टौं बिताउने यात्रुलाई थप जोखिममा पारेको छ ।
एथेन्सको सिन्टाग्मा स्क्वायरमा पसल चलाउने कोन्स्टान्टिनोस मालियोसका अनुसार पछिल्ला वर्षमा टोपीको बिक्री बढिरहेको छ । पर्यटकका लागि सस्ता टोपी ६ युरोदेखि सुरु हुन्छन् भने आकर्षक तथा स्मरणीय वस्तुका रूपमा प्रयोग हुने टोपी २० युरोसम्म पर्छन् । परम्परागत टोपी बनाउने व्यवसायी लिसा सारिगियानिदोउले पुराना ढाँचा र प्रेस प्रयोग गरेर हातैले बनाएका टोपीको मूल्य भने ५० युरोदेखि माथि राखेकी छन् । उनका अनुसार पहिले महिला पर्यटकहरुले टोपी लगाएर ऐनामा हेर्दा हाँस्थे, रमाइलो मान्थे । अहिले टोपी किन्नु अनिवार्यजस्तै भएकाले भाव फेरिएको छ । रोज्छन्, र पसलबाट निस्कँदै लगाउने गरेका छन् ।
गर्मीबाट बच्ने यो सामान्य उपायको पछाडि भने युरोपमा गहिरिँदो जलवायु संकटको ठूलो कथा छ । युरोपेली आयोगका अनुसार युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो । सन् २००० पछि सन् १९५० यताका सबैभन्दा गम्भीर ३० वटा तापलहरमध्ये २३ वटा देखिएका छन् । अत्यधिक गर्मी अब छोटो समयको असहजता मात्र नभई स्वास्थ्य, अर्थतन्त्र, पूर्वाधार र पर्यावरणका लागि गम्भीर जोखिम बनिरहेको छ ।
सन् २०२६ को सुरुवातदेखि नै युरोपले पटकपटक असामान्य गर्मी खेपिरहेको छ । मे महिनाको अन्त्यतिर पश्चिमी युरोपमा आएको तापलहरमा फ्रान्स, बेलायत, पोर्चुगल र आयरल्यान्डलगायत मुलुकमा तापक्रमका नयाँ कीर्तिमान बने । जुनमा पश्चिमी युरोपको औसत तापक्रम अहिलेसम्मकै उच्च रह्यो । कोपर्निकस जलवायु परिवर्तन सेवाअनुसार उक्त क्षेत्रमा जुन महिनाको औसत तापक्रम २०.७४ डिग्री सेल्सियस पुगेको थियो, जुन सन् १९९१–२०२० को औसतभन्दा करिब ३ डिग्री बढी हो ।
जुनको तापलहरले फ्रान्स, स्पेन, इटाली, जर्मनीलगायत मुलुकको जनजीवन प्रभावित बनायो । कतिपय ठाउँमा विद्यालय बन्द गरिए, बाहिरी काममा प्रतिबन्ध लगाइयो र गर्मीबाट जोगाउन कुलिङ सेन्टर सञ्चालन गरिए । अत्यधिक गर्मीका कारण रेल तथा अन्य पूर्वाधारमा समेत असर देखियो । मानिसहरू गर्मीबाट राहत पाउन नदी, ताल तथा समुद्रतिर पुग्दा केही ठाउँमा डुबेर ज्यान गुमाउने घटना पनि भए । पर्यटकीय स्थलले समेत खुला रहने समय घटाउनुपरेको समाचार आएका थिए ।
गर्मीको अर्को गम्भीर असर आगलागी र खडेरी हो । अत्यधिक तापक्रमसँगै लामो समयको सुक्खा मौसमले स्पेन, पोर्चुगल र दक्षिणी फ्रान्समा डढेलोको जोखिम बढाएको छ । विश्व मौसम संगठनका अनुसार गर्मी र सुक्खापनले युरोपका विभिन्न भागमा डढेलो तथा खडेरीको जोखिम थप बढाएको छ । समुद्रसमेत अस्वाभाविक रूपमा तात्दा भूमध्यसागर र युरोपका अन्य समुद्री क्षेत्रमा समुद्री तापलहर देखिएको छ ।
यसको मूल कारणमा मानवीय गतिविधिबाट बढेको हरितगृह ग्यास उत्सर्जनलाई वैज्ञानिकहरूले प्रमुख मान्दै आएका छन् । तर, कुनै एक दिनको असाधारण गर्मीलाई जलवायु परिवर्तनले मात्र निम्त्याएको भन्न मिल्दैन । मौसमको प्राकृतिक उतारचढावसँगै उच्च वायु चापको लामो समयसम्म कायम रहने अवस्था, ‘ओमेगा ब्लक’ वा ‘हीट डोम’ जस्ता मौसमी संरचनाले तातो हावा एउटै क्षेत्रमा थुन्ने काम गर्छन् । वैज्ञानिक अध्ययनहरूले भने जलवायु परिवर्तनले यस्ता घटनाका लागि आधारभूत तापक्रम बढाएर तिनलाई अझ तीव्र र लामो बनाइरहेको देखाएका छन् ।
गर्मीको असर मानिसको शरीरमा मात्र सीमित छैन । राति पनि तापक्रम पर्याप्त नघट्दा शरीरले दिनभर जम्मा भएको ताप बाहिर निकाल्न पाउँदैन । यस्ता ‘तातो रात’ बढ्दा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी र बाहिर काम गर्ने श्रमिक बढी जोखिममा पर्छन् । युरोपेली आयोगका अनुसार सन् २०२२ मा मात्रै युरोपमा गर्मीसँग सम्बन्धित समस्याले करिब ७० हजार मृत्यु भएको अनुमान छ ।
त्यसैले एथेन्सको टोपी अहिले व्यापारको वस्तु मात्र रहेन । यो बदलिँदो मौसमसँग मानिसले आफूलाई अनुकूल बनाउन खोजिरहेको एउटा सानो प्रतीक बनेको छ । एक्रोपोलिसको उकालोमा टोपीले टाउको छोपे पनि त्यसले युरोपमाथि चर्किँदै गएको तापको ठूलो प्रश्न भने छोप्न सकेको छैन । पर्यटन बढ्दै गएको एथेन्समा घामबाट बच्न पर्यटकले टोपी किन्न थालेका छन् । तर, बढ्दो गर्मीबाट दीर्घकालीन रूपमा बच्न भने टोपीभन्दा धेरै ठूलो समाधान आवश्यक देखिएको छ ।