नेभिगेशन
राजनीति
रास्वपा सांसदलाई सभापति लामिछानेले पढाए आदर्शको पाठ

‘विगतको हिसाब खोज्ने होइन, अबको योजना ल्याउनुस्’

काठमाडौं । आफ्ना सांसदहरूको महत्वाकांक्षालाई पार्टीले सम्बोधन गर्न गाह्रो पर्नेमा सभापति रवि लामिछाने सतर्क देखिएका छन् । सबैजसो संसदीय समिति आफ्नै दलका सांसद नेतृत्वको, जे ल्यायो त्यही निर्वाध संसद्बाट पारित हुने अवस्थाका बाबजुद रास्वपाका केही सांसदमा असन्तुष्टिका घटना बाहिरिइरहेका बेला उनले आफूलाई पदमोह नभएको जिकिर गर्दै थुम्थुम्याउन खोजेका हुन् । काठमाडौंमा आइतबार आयोजित ‘पार्टीको नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले सरकारलाई समस्या पर्ने गतिविधि नगर्न आग्रह गरे । 
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेले विगतका राजनीतिक दल र नेतृत्वलाई दोष लगाएर समय बिताउनेभन्दा अबको ३५ वर्षमा मुलुकलाई कहाँ पु¥याउने भन्ने स्पष्ट योजना बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिए । रास्वपाले विगतको आलोचनाभन्दा भविष्य निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए ।
‘अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, ३५ वर्षको योजना ल्याउनुस्,’ उनले भने, ‘अबको ३५ वर्ष कस्तो बनाउने, यो त हाम्रै हातमा छ ।’ विगतमा देशका लागि विभिन्न राजनीतिक शक्ति र नेतृत्वले गरेका कामको हिसाब खोजिरहनुभन्दा अब रास्वपाको नेतृत्वमा मुलुकको शिक्षा, स्वास्थ्य, विकास, अर्थतन्त्र र विदेश नीतिको स्पष्ट खाका बनाउनुपर्ने उनले बताए । विगतका कमजोरी देखाएर आफूलाई अब्बल साबित गर्ने समय सकिएको उनको भनाइ थियो ।
‘अब बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौं । जति सके गरे, धन्यवाद,’ उनले भने, ‘अब आउने ३५ वर्ष यो देशलाई कहाँ लिएर जाने भन्ने कुरा हाम्रो हातमा छ ।’
उनले रास्वपाले देशको आगामी पुस्ताको भविष्यसँग जोडिएको जिम्मेवारी पाएको भन्दै पार्टीका नेता–कार्यकर्तालाई राजनीतिक प्रतिबद्धता, इमानदारी र अनुशासनमा कुनै सम्झौता नगर्न आग्रह गरे । उनका अनुसार राजनीतिक दलको शक्ति सदस्य वा सांसदको संख्यामा मात्र नभई नीति र विचारप्रतिको प्रतिबद्धतामा निर्भर हुन्छ ।
‘अन्तर्राष्ट्रिय जगतले एउटा राजनीतिक दललाई मूल्यांकन गर्दा संख्याको कुरा हुँदैन, प्रतिबद्धताको कुरा हुन्छ,’ उनले भने, ‘जो जति बढी प्रतिबद्ध भयो, उसले त्यति बढी परिणाम दिन सक्छ ।’
सभापति लामिछानेले पछिल्लो समय राजनीतिक दलमा नीति, विचार र सिद्धान्तप्रतिको प्रतिबद्धताको अभाव देखिएको बताए । नेतृत्व चुनाव र पदकेन्द्रित बन्दै जाँदा त्यसको असर समाजमा परेको उनको भनाइ थियो ।
उनले आफ्नो भनाइलाई रास्वपामात्र सीमित नगरी समग्र राजनीतिक संस्कृतिसँग जोड्दै भने, ‘अलिकति गहिरो ढंगले लागौं, अलिकति नीति–विचारमा काम गरौं, अलिकति सिद्धान्तनिष्ठ भएर काम गरौं भन्ने कुराको सिंगो समाजले अभाव महसुस गरेको कुरा सत्य हो ।’
राजनीतिक प्रतिबद्धताको उदाहरणका रूपमा उनले माओवादी सशस्त्र द्वन्द्वका क्रममा कार्यकर्तामा देखिएको प्रशिक्षण र समर्पणको प्रसंग सुनाए । उनले त्यस राजनीतिक विचार वा हिंसात्मक गतिविधिको समर्थन नगरेको स्पष्ट पार्दै त्यतिबेलाका कार्यकर्तामा देखिएको प्रतिबद्धताको तहबाट आफूले सिक्न खोजेको बताए ।
‘मैले त्यो नीति, त्यो विचारको कुनै समर्थन गर्न खोजेको होइन, तर त्यो तहको प्रशिक्षणको कुरा गर्न खोजेको हो,’ उनले भने, ‘त्यो प्रशिक्षण मुलुकको हित, जनताको हित, समानता, लोकतन्त्र र नागरिकको जनजीवन उकास्नका लागि भयो भने त्योभन्दा ठूलो प्रतिबद्धता के हुन्छ ?’
लामिछानेले आफू सभापति हुँदैमा पार्टीका अन्य नेता–कार्यकर्ताभन्दा बढी जान्ने वा योग्य भएको दाबी नगर्ने बताए । समय र परिस्थितिले आफूलाई पार्टी नेतृत्वको जिम्मेवारी दिएको भन्दै उनले सबैको क्षमता, विज्ञता र अनुभवको सम्मान गर्नुपर्नेमा जोड दिए ।
उनले आफूलाई विगतमा छोटो समयका लागि प्रधानमन्त्री बन्ने अवसरसमेत आएको, आफूले त्यसलाई अस्वीकार गरेको दाबी गर्दै त्यसको कारण व्यक्तिगत पदभन्दा आन्दोलन र नागरिकको अपेक्षालाई प्राथमिकता दिएको बताए ।
‘यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा कहाँ जान्छ भन्ने एउटै कुरा दिमागमा आयो,’ उनले भने, ‘म प्रधानमन्त्री भइहालें भने पनि दुई, चार वा ६ महिनाको प्रधानमन्त्री हुन्थें होला । धेरै नै भए सिंहदरबारमा एउटा तस्बिरसम्म टाँसिन्थ्यो होला ।’
तर देशले ठूलो परिवर्तनको अपेक्षा गरिरहेका बेला आफूले त्यस्तो अवसर लिनु उचित नठानेको उनको भनाइ थियो । ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी–हाँसी नमस्कार गरेको हो,’ उनले भने, ‘मैले यसलाई असाध्यै धेरै गर्वको विषय बनाउन खोजेको होइन, इतिहासको पानामा दर्ज मात्र गराउन खोजेको हो ।’
उनले पद र टिकटलाई व्यक्तिगत स्वार्थको माध्यम बनाउन नहुनेमा नेता–कार्यकर्तालाई सचेत गराए । आगामी निर्वाचनमा टिकट नपाउँदा नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोख्ने प्रवृत्ति देखिन सक्ने भन्दै उनले पार्टीमा लाग्नुको उद्देश्य व्यक्तिगत लाभ नभएको स्मरण गराए ।
‘जसोतसो राजनीति त हाम्रो पोल्टामा आइपुग्यो,’ उनले भने, ‘त्यसको अर्थ हाम्रो व्यक्तिगत लाभका लागि देशको राजनीति प्रयोग नहोस्, मेरो चिन्ता यति मात्रै हो ।’
रास्वपामा ठूलो संख्यामा युवा नेता, सांसद र मन्त्री रहेको उल्लेख गर्दै उनले उनीहरूको व्यवहार र कामले नेपालप्रतिको अन्तर्राष्ट्रिय धारणा प्रभावित हुने बताए ।
‘आज हामीले बाटो बिरायौं भने संसारभरि के सन्देश जान्छ भने युवाको नेतृत्वले काम गर्न सक्दैन,’ उनले भने, ‘नेपाल भनेर संसारका अन्य देशले भन्नेछन्, हाम्रो शिर झुक्छ । शिर झुकाउने काम गर्नुहुँदैन ।’
उनले नेता–कार्यकर्तालाई ‘केही गर्न नसके पनि गलत नगर्न’ आग्रह गरे । ‘राम्रो केही गर्न सकिन्न भने नराम्रो केही पनि नगर्न त सकिन्छ नि,’ उनले भने, ‘कम्तीमा पनि आफूले आफूसँग त्यति प्रतिबद्धता गर्नुपर्छ ।’
लामिछानेले लोकतन्त्रको संरक्षण र संस्थागत विकासलाई रास्वपाको पहिलो जिम्मेवारीका रूपमा प्रस्तुत गरे । पार्टीका अभिव्यक्ति, गतिविधि र व्यवहारले लोकतन्त्र कमजोर पार्ने अवस्था आउन नहुने उनको भनाइ थियो ।
‘जानेर वा नजानेर, झुक्किएर पनि हामीबाट भएका क्रियाकलापले यो देशको लोकतन्त्र कमजोर नहोस्, यो हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने ।
उनले लोकतन्त्र कमजोर नभएको तर राज्यका संस्था कमजोर भए लोकतन्त्रमा असर पर्न सक्ने बताए । राजनीतिक दल र संस्थाहरू विधि र नियमअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले रास्वपा पनि विधिभन्दा बाहिर जान नसक्ने स्पष्ट पारे ।
‘विधिभन्दा बाहिर गएर कुनै पनि संगठन, कुनै पनि संस्था चल्न सक्दैन । राजनीतिक पार्टी त चल्नै सक्दैन,’ उनले भने, ‘पार्टीले बनाएको विधि, निर्देशिका र नियमावलीको अक्षरशः पालना हुन्छ ।’
आगामी निर्वाचनमा उम्मेदवार छनोटसमेत पार्टीले तोकेको प्रक्रियाबाट मात्र हुने उनको भनाइ थियो । कसैले आफूलाई आगामी निर्वाचनको उम्मेदवार बनाइदिने भन्दै पैसा वा अन्य लेनदेन गरेको भए त्यसको प्रमाण पार्टीलाई उपलब्ध गराउन उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।
पार्टीको नाम बेचेर जागिर, आयोजना, ठेक्का वा अन्य काम दिलाइदिने भन्दै कसैले प्रभाव देखाए त्यस्ता व्यक्तिको पछि नलाग्न पनि उनले आग्रह गरे । आफूले कसैलाई त्यस्तो अधिकार नदिएको स्पष्ट पार्दै उनले पार्टी स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने बताए ।
लामिछानेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्य, सांसद तथा पार्टीका नेताहरू गाउँ–गाउँ, टोल–टोल र बस्ती–बस्तीमा पुग्नुपर्ने बताए । केन्द्रमा बसेर अन्तर्वार्ता र छलफलमा मात्र सीमित नभई नागरिकका समस्या सुन्न र पार्टीले गरेका कामबारे जानकारी दिनुपर्ने उनको भनाइ थियो ।
‘स्थानीय निर्वाचनभन्दा अगाडि हामी केन्द्रमै अल्मलिएर बस्ने होइन,’ उनले भने, ‘गाउँ–गाउँ, दूरदराज, टोल–टोल र बस्ती–बस्तीमा पुगेर हामीले के काम गरिरहेका छौं र के गर्दै छौं भनेर बताउनु हाम्रो जिम्मेवारी हो ।’
स्थानीय सरकारमा बलियो उपस्थिति बनाउन नसके पार्टी पछाडि पर्न सक्ने भन्दै उनले संगठन विस्तारलाई प्राथमिकता दिन निर्देशन दिए । आफू पनि चाँडै मधेश यात्रामा जाने र त्यहाँ पार्टीका अधिवेशन तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने उनले जानकारी दिए ।
लामिछानेले अहिले सरकारसँगै प्रतिपक्ष पनि बलियो रहेको दाबी गरे । सरकारका कामको निगरानी, जनताको गुनासो र राजनीतिक खबरदारीलाई प्रभावकारी बनाउन नसके मुलुक फेरि निराशातर्फ जाने खतरा रहेको उनले बताए ।
‘अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष झन् बलियो छ,’ उनले भने, ‘बलियो प्रतिपक्षलाई राजनीतिक ढंगले हामीले तय गर्न सकेनौं, राजनीतिक तवरले काम गर्न सकेनौं भने यसले अर्कै ठाउँमा लिएर जान्छ ।’
सरकारका निर्णयमध्ये कतिपय विवादित र कतिपय लोकप्रिय हुन सक्ने भन्दै उनले मुख्य कुरा सरकारको नियत र नीति भएको बताए । रास्वपाले नेतृत्व गरेको सरकारमाथि अहिलेसम्म भ्रष्टाचार वा अनियमितताको प्रश्न नउठेको दाबी गर्दै उनले त्यसलाई पार्टीका लागि महŒवपूर्ण उपलब्धि भएको बताए ।
यद्यपि त्यसले मात्र सरकारको सफलता सुनिश्चित नहुने उनको भनाइ थियो । सरकारको पहिलो वर्षमा धेरै कामको परिणाम तत्काल देखिन नसक्ने भन्दै उनले जग निर्माणको चरणमा रहेको बताए ।
लामिछानेले जनताको गुनासो सुन्न पार्टीले सांसद तथा केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमा राखेर प्रत्यक्ष संवाद गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए । सरकारका मन्त्रीहरूलाई समेत पार्टीमा बोलाएर नागरिक र पार्टी पंक्तिका गुनासा सुन्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
उनले भाषण, कार्यशाला र प्रशिक्षणको अन्तिम उद्देश्य परिणाम परिवर्तन हुनुपर्ने बताए । ‘हामीले जति कुरा गरे पनि, जति भाषण गरे पनि, जति कार्यशाला चलाए पनि त्यसले परिणाम बदल्न सकेन भने त्यसको कुनै अर्थ छैन,’ उनले भने, ‘व्याख्याले पुग्दैन, परिणाम ल्याउनुपर्छ ।’
कार्यकर्तालाई पार्टीका बैठक र छलफलमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै लामिछानेले संगठनले उनीहरूको उपस्थिति र सहभागिताको समेत अभिलेख राखिरहेको बताए । पार्टीको काममा सक्रिय नहुने र पछि अवसर खोज्ने प्रवृत्तिप्रति उनले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाए ।
कार्यशालामा उनले पार्टीभित्रको एकता कायम राख्न हल्ला, गसिप र आन्तरिक विवादको पछि नलाग्न पनि आग्रह गरे । चितवन महाधिवेशनका विषयमा भएका विवाद त्यहीँ सकिएको बताउँदै अब त्यसलाई बोकेर हिँड्नुको अर्थ नभएको उनको भनाइ थियो ।
उनले रास्वपामाथि नागरिकले गरेको भरोसा जोगाउनु नै सबैभन्दा ठूलो चुनौती भएको बताए । देश परिवर्तनको आशा बोकेको पुस्ता भएकाले पार्टीका नेता–कार्यकर्ताले आफ्नो जिम्मेवारीबाट विचलित हुन नहुने उनको भनाइ थियो ।
‘अब पढ्ने होइन, बदल्ने हो । त्यो नेता पनि हामी हौं, त्यो देश पनि यही हो – नेपाल हो,’ लामिछानेले भने । रास्वपाले नागरिकको विश्वास, नयाँ पुस्ताको अपेक्षा र देशको भविष्यलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए । ‘जनताको विश्वास, आफ्ना पुस्ताको विश्वास, आफ्ना छोराछोरीको विश्वासलाई कहिले पनि मर्न नदिनु होला,’ उनले कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्