सिन्धुपाल्चोक, १ असोज - सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्दा सरकारले गरेको बर्बर दमनपछि जेनजी आन्दोलनले ध्वंसात्मक रुप लिदै सत्तापलट गरिसकेको छ । त्यही आन्दोलनको निहुँमा सिन्धुपाल्चोकमा एउटा जलविद्युत आयोजनाको उत्पादन बन्द गराइएको छ । जेनजीका नाममा शेयर माग्दै अवरोध गरेपछि ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको हो ।
आन्दोलनको मौकामा स्थानीयबासीको एउटा समूह शेयर स्वामित्व माग्न गएर अवरोध गरेको हो । केही स्थानीयले अवरोध गरेपछि भदौ २५ गतेदेखि उत्पादन बन्द भएको विद्युत गृह अझै खुलेको छैन । जलविद्युत् केन्द्र प्रभावित क्षेत्रका स्थानीयले प्रवर्धक कम्पनीसँग १० प्रतिशत शेयर माग गर्दै उत्पादनमा अवरोध गरिरहेका छन् ।
उनीहरू विद्युत गृह परिसरमै धर्नामा छन् । प्रवर्धक कम्पनीले १० प्रतिशत शेयर सुनिश्चित नगर्दासम्म धर्ना दिन नछाड्ने अडान उनीहरूको छ । समस्या समाधानका लागि स्थानीयसँग छलफल भइरहेको आयोजना प्रवर्धक कम्पनीले जनाएको छ । कम्पनी स्थानीयलाई पूर्वसहमति अनुसार ६ प्रतिशत शेयर दिन सहमत छ ।
६ प्रतिशत शेयर दिने कार्य प्रक्रियामा भए पनि १० प्रतिशत नछाड्ने माग आएपछि व्यवस्थापनलाई गाह्रो परेको छ । स्थानीयलाई ६ प्रतिशत शेयर दिने सहमति २०७१ सालमा नै भइसकेको भए पनि कानूनी प्रक्रियाका कारण ढिलाइ हुन पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रमरत्न स्थापितले बताए ।
‘स्थानीयलाई ६ प्रतिशत शेयर दिने सम्बन्धमा पहिले नै सहमति बनिसकेको हो,’ उनले भने, ‘लामो कानूनी प्रक्रियाका कारण कार्यान्वयनमा ढिलाइ भएको छ । प्रक्रिया पूरा हुनासाथ शेयर दिन्छौं ।’
कम्पनीका सहायक महाप्रबन्धक बबिन प्रधानले शेयर दिने सम्बन्धमा बाँडफाँटको विधि र प्रभावित क्षेत्रका लाभान्वित हुने स्थानीयमा सर्वपक्षीय सहमति नजुट्दा ढिलाइ भएको बताए ।
‘स्थानीयलाई ६ प्रतिशत शेयर दिन कम्पनी पहिले नै तयार थियो,’ उनले भने, ‘तर, शेयर वितरणको विधि र को–को लाभान्वित हुने भन्नेमा सर्वपक्षीय सहमति जुट्न नसक्दा अलमल भएको छ ।’ उनका अनुसार अहिले स्थानीयले फेरि जेनजी समूहको नाममा थप ४ प्रतिशत शेयर माग गरेका छन् । आन्दोलनमा सहभागी पदमबहादुर श्रेष्ठसहितका स्थानीयले जेनजी समूह नाम दिइए पनि माग सबै प्रभावित क्षेत्रका स्थानीयको साझा भएको बताए । ‘कम्पनीले दिनैपर्ने शेयर दिएको छैन । हामी १० प्रतिशत नलिइ छाड्दैनौ,’ उनले भने ।
कम्पनीले समस्या समाधानका लागि आगामी शुक्रबार वार्ता हुने जनाएको छ । आयोजनाको जलविद्युत् केन्द्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । ‘शेयर माग गर्दै स्थानीयबासी शान्तिपूर्ण धर्नामा बसेका छन्,’ उनले भने । २०७१ साल मंसिरमा काठमाडौंको एभरेष्ट होटलमा राजनीतिक दलका नेताहरूको रोहवरमा कम्पनी र स्थानीय बीच ६ प्रतिशत शेयर दिने सहमति भएको थियो । २५ वर्षअघि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको माथिल्लो भोटेकोशी आयोजना पटक-पटक प्राकृतिक प्रकोपको चपेटमा परिसकेको छ ।
बीच–बीचमा बन्द हुँदै खुल्दै गरे पनि करिब ६ वर्ष बन्द भएकोमा पछिल्लोपटक २०७६ मंसिरदेखि सञ्चालनमा छ । विद्युत् उत्पादन अनुमतिपत्रको अवधि सकिएपछि आयोजना चालु अवस्थामा नै सरकारलाई हस्तान्तरण हुनेछ । भोटेकोशी गाउँपालिकास्थित आयोजना वैदेशिक लगानीमा निर्माण भएर सञ्चालनमा आएको हो ।