नेभिगेशन
नेपाल

नयाँ सरकारले संविधान दिवस मनाउने

काठमाडौं (संवाददाता) - अकस्मातको आन्दोलनसँगै आएको नयाँ सरकारले संविधान दिवस मनाउने भएको छ । विगतका वर्षमा जस्तै यसपटक पनि संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ दिवस विविध कार्यक्रमका साथ देशव्यापी मनाइने भएको छ । संविधान जारी भएको दिन असोज ३ मा दिवस मनाइँदै आएको छ । 

सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानून ‘संविधान’ जारी भएको दिनलाई देशव्यापीरूपमा मनाउन आह्वान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको मूल कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन् । समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ । 

संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ मनाउन भनी यस अघिको गठबन्धन सरकारले गत भदौ ८ गते संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिसकेको थियो । नेपाली जनताको बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरूप संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको थियो ।

संविधान जारी भएपछि एक दशक पुगेको विशेष अवसर मानिएको छ । संविधान जारी भएपछि कार्यान्वयनको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा व्यापकरूपमा बहस, छलफल तथा अन्तरक्रिया गर्न यसअघिकै सरकारले कार्यक्रम तय गरेको थियो । 

तर, विषम परिस्थिति आएका कारण र धनजनको अपूरणीय क्षति भएकाले अन्य कार्यक्रम भने नहुने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्