काठमाडौं । चीनको तिब्बती क्षेत्रमा आएको भूकम्पपछिको हिमपहिरोका कारण अकस्मात्को बाढीले नेपाली भूभागमा जनधनको ठूलो क्षति भएको छ । पारिको लेहन्दे खोलाहुँदै भोटेकोशीमा बुधबार बिहान आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति गरेको हो । अकल्पनीय बाढी पछि रसुवाको टिमुरे, स्याफ्रुबेंसी र नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायतका क्षेत्रमा ठूलो क्षति भएको छ ।
समाचार तयार पार्दासम्म बाढीमा परेर मृत्यु हुनेको संख्या ९५ पुगेको नेपाली प्रहरीले उपलब्ध गराएको विवरणमा छ । मृत्यु हुनेमा २७ महिला, ३७ पुरुष, ६ जना बालबालिका छन् । बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ । ४ सय जनाभन्दा बढी बेपत्ता छन् । ७९ सुरक्षाकर्मी सम्पर्कविहीन छन् । जसमा नेपाल प्रहरी २६, सशस्त्र प्रहरी ९ र नेपाली सेना ४४ जना छन् । खोजी कार्य जारी छ ।
पर्यटन बोर्डको प्रारम्भिक विवरण अनुसार ३ सय ८४ पर्यटक÷यात्रु सम्पर्कविहीन छन् । जसमा २९१ विदेशी र ९३ नेपाली छन् । लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन रहेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणका ३५ जना कर्मचारी सम्पर्कविहीन छन् । उनीहरूको रातभर पनि खोजी कार्य जारी रहने जनाइएको छ ।
उक्त क्षेत्रमा बाढीलगत्तै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरी उद्धार थालिएको हो । बाढीमा फसेका २ सय जनाभन्दा बढीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइतेहरूलाई उपचारार्थ काठमाडौंमा विभिन्न अस्पतालमा व्यवस्था गरिएको छ ।
नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको सहिद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पु¥याइने प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन् । ‘बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ,’ शाहले बुधबार बेलुका आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
परराष्ट्र मन्त्री शिशिर खनालले तिब्बती क्षेत्रमा आएको भूकम्पपछिको हिमपहिरोका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन् । सरकारका तर्फबाट घटनाबारे जानकारी दिँदै खनालले बाढीका कारण नेपालको रसुवाको टिमुरे, स्याफ्रुबेंसी र नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टार लगायतका क्षेत्रमा क्षति पुगेको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठकमा मन्त्री खनालले उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको बताए । ‘प्रारम्भिक सूचनाअनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ,’ मन्त्री खनालले भने, ‘त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ बिहान करिब ८ बजेर ४० मिनेटमा बाढी गएको उनले संसद्मा जानकारी दिए ।
पोहोर असार अन्तिममा आएको बाढीले मितेरी पुल बगाउनुका साथै ठूलो क्षति गरेको थियो । लामो समय लगाएर नाका पुनः सञ्चालनमा आएको केही महिनामै फेरि अवरुद्ध भएको छ । यसपटक चिनियाँ भूभागमै पनि ठूलो क्षति भएको छ । बाढीले चिनियाँसँगै वारि नेपाली भन्सार पूर्वाधार बगाएको छ । नेपालतर्फ ल्याइएर जाँचपासका लागि रोकिएका इलेक्ट्रिक गाडीहरू पनि ठूलो संख्यामा बगेका छन् । भृकुटीमण्डपमा जारी सवारी मेलालाई ध्यानमा राखेर अटो व्यवसायीहरूले झिकाएका गाडीहरू विभिन्न लटमा टिमुरे भन्सारमा आइपुगेका थिए । कन्टेनर, ट्रक र ट्यांकर पनि बाढीले बगाएको छ । दसैंका लागि नेपाली व्यवसायीले चीनबाट आयात गरेका सामान लिएर आएका कन्टेनरहरू बाढीले बगाएको बताइएको छ ।
भन्सार कर्मचारी, आफ्नो सामान जाँचपास गराउन आएका व्यवसायी र सवारीचालक एवं सहयोगीहरू बाढीको चपेटमा परेका छन् । को–को र कति संख्यामा बाढीमा परेर बेपत्ता भए भन्ने यकिन तथ्यांक कसैसँग छैन ।
मंगलबार राति करिब ९ः२० बजे जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको थियो । विभागले फेसबुकमा नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलाको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जानकारी दिँदै स्थानीय नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो । तर, बुधबार विहान चीनबाट एक्कासि पानीको सतह बढेर आउँदा नेपालतर्फ जनधनको ठूलो क्षति भएको छ ।
यसैबीच बुधबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आपतकालीन बैठकले रसुवाको बाढी प्रभावित क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम आगामी ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले बाढीका कारण जनधनको ठूलो क्षति भएको निष्कर्ष निकाल्दै उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
घाइतेको काठमाडौंमा उपचार
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनका अनुसार ट्रमा सेन्टरमा नुवाकोट विदुर–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।
त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रूपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ । साथै गोरखा टिमुरे गोसाइकुण्ड– ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशुसमेत साथमा रहेको जनाइएको छ ।
प्रहरीका अनुसार टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा (ठेगाना नखुलेको), बर्दिया जितपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
‘हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेका छन् । उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ । अहिलेको यो समय निकै संवेदनशील छ । घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो,’ प्रधानमन्त्री वालेन्द्र शाहले भनेका छन् । घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शड्ढया छुट्याइएको र उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी गराएका छन् ।
सहयोगका लागि भारत, चीन र विश्व बैंकको चासो
विपदग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले चासो व्यक्त गरेका छन् । बाढीको घटनापछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप २५ अर्ब रुपैयाँ सहयोग गर्न सकिने जानकारी गराएका थिए ।
भारतले बाढी पीडितका लागि तत्काल चाहिने राहत सामग्री के–के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बुधबारनै काठमाडौं ल्याइने तयारी भइरहेको बताए । यसअघि पनि बाढी,पहिरो, भूकम्पजस्ता विपद्मा भारतले नेपाललाईै सहयोग गर्दै आएको छ ।
यस्तै, अर्को छिमेकी राष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ । त्यसका लागि रकम पठाउने प्रक्रिया सुरू गर्न चिनियाँ राजदूत जांग माओमिंगले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् ।
छिमेकी मुलुक र दातृ निकायको सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर–सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेको बताएका छन् ।