नेभिगेशन
राजनीति

‘तत्काल राहतमा जुटौं’

काठमाडौं । कांग्रेस–एमालेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेका छन् ।
कांग्रेस सभापति गगन थापाले विपद्को घडीमा पार्टीले आफ्ना सबै कार्यक्रम स्थगित गरेको जानकारी दिँदै राहत र उद्धारमा जुट्न आह्वान गरेका छन् । रसुवाका आफ्ना सांसद मोहन आचार्यको संयोजकत्वमा कांग्रेसले समिति गठन गरेको जानकारी दिँदै थापाले आफूहरु जहाँ जेमा आवश्यकता पर्छ त्यहाँ सहयोगका लागि जोडिने बताएका छन् । तीन तहकै सरकारसँग मिलेर राहत र उद्धारका काममा कांग्रेस जोडिने उनले उद्घोष गरेका छन् । ‘संकटको यो घडीमा हामी सबै एकसाथ हुनुपर्छ,’ उनले भनेका छन्, सरकारले जतिखेर आह्वान गर्छ सरकारको कोषमा सहयोगको रकम पनि जम्मा गछौं ।’ 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले बेपत्ता नागरिकको खोजी, जोखिममा रहेकाको सुरक्षित स्थानान्तरण र घाइतेको तत्काल उपचारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न माग गरेको हो । भोटेकोशी र त्रिशूली नदी आसपासका रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा पूर्वी नवलपरासीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिमपूर्ण यात्रा नगर्न एमालेले आग्रह गरेको छ ।
बैठकले तत्कालीन तथा दीर्घकालीन राहतको प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दै पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई उद्धार तथा राहतमा सक्रिय हुन निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै